अन्तरक्रियामा सहभागी निजी विद्यालयका सञ्चालकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मंगलबार नगर भित्रका २८ वटा संस्थागत विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुसँग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाले तुलसी मेहर मेमोरियल स्कूलमा विद्यार्थीको वर्गीकरण र शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ सम्बन्धमा प्रअहरुसँग छलफल गरेको हो ।

छलफलमा संस्थागत विद्यालयका प्रअहरुले शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ का लागि विद्यार्थीको वर्गीकरण शुरु गरेको र चाँडै बुझाउने प्रतिक्रिया दिएका छन् । उपमहानगरपालिकाको निर्देशन अनुसार असोज १५ गते भित्र सम्पूर्ण विद्यार्थीको वर्गीकरण र कार्ययोजना पेश गर्ने समेत जनाएको हेटौंडा उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख पूर्ण बहादुर अछामीले जानकारी दिनुभयो । तुलसी मेहरका प्रिन्सीपल रघुनाथ खरालको अध्यक्षतामा अन्तरक्रिया भएको हो ।