कर्रा आइसोलेसनबाट सामान सारिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रास्थित श्रमिक माविमा सञ्चालन गरिएको आइसोलेसनलाई आज हेटौंडा—१० स्थित गोरक्षेश्वर महादेव मन्दिरको भवनमा स्थानान्तरण गरिँदै छ । अहिले सामानहरु लैजाने कार्य भइरहेको छ । बेलुकासम्म पूर्णरुपमा सारिने आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

विद्यालयमा भर्ना प्रक्रिया सुरु गर्ने, निर्माणाधीन भवनको काम सम्पन्न गर्नुपर्ने भनिएकोले आइसोलेसन बनाइएको विद्यालय भवनलाई खाली गरिएको चौलागाईले बताउनुभयो । गोरक्षेश्वरमा निर्माण गरिने आइसोलेसनमा तत्काल कोरोना सङ्क्रमित बिरामीलाई नराखिने भएको छ । गोरक्षेश्वर आइसोलेसनलाई हाल स्वाब सङ्कलन केन्द्रको रुपमा मात्र प्रयोग गरिने भएको छ । हाल कर्रा आइसोलेसनमा उपचाररत ९ जना कोरोना सङ्क्रमित विरामीलाई हेटौंडा—६ को गौरिटार आइसोलेसनमा र होम आइसोलेसनमा लगिने व्यवस्था मिलाइने जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । आजबाट आइसोलेसन बनाउन लागिएको गोरक्षेश्वर मन्दिरको भवनमा यसअघि क्वारेन्टिन सञ्चालन गरिएको थियो ।