कोरोनाका कारण गम्भीर रुपमा प्रभावित क्षेत्र मध्ये ट्युसन इन्स्टिच्युट पनि एक हो । कोरोना भाइरससँगै रहेर सबैक्षेत्र क्रमशः सहज बन्दै गए पनि औपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था सुचारु हुन नसक्दा सहयोगी संस्थाको रुपमा रहेको ट्युसन इन्स्टिच्युटहरु सुचारु हुन सकेका छैनन् । संकटका बेला ट्युसन इन्स्टिच्युटहरु सञ्चालनको विकल्प के कस्ता हुन सक्छन् ? ट्युसन इन्स्टिच्युटका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर हेटौंडा–४, स्कूलरोडस्थित पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः कोरोना भाइरसको कारण सबै क्षेत्र सँगसँगै विशेषगरी ट्यूसन सेन्टरहरु पनि प्रभावित छन् । अहिलेको स्थितिमा ट्यूसन सेन्टरहरु कसरी सञ्चालन गर्ने तपाईहरुको तयारी छ ?
चौलागाईः कोभिड–१९ ले गर्दा विश्वकै सबै क्षेत्रहरु आक्रान्त भइरहेको अवस्थामा सबैभन्दा बढी क्षति शैक्षिक जगतलाई पुर्याएको छ । शैक्षिक जगत नै यसबाट आक्रान्त भएपछि शैक्षिक जगतसँग जोडिएका व्यवसायहरुमा एक किसिमले ठूलो धाक्का नै पुगेको छ । सहज रुपमा चलिरहेका स्कूल, कलेजहरु अप्ठ्यारोमा परिरहेको अवस्थामा हामी त विद्यार्थीको चित्त बुझाएर उनीहरुलाई आकर्षण गरेर अझै भन्दाखेरी उनीहरुले ट्युसन इन्स्टिच्युट गए केही थप ज्ञान पाउँछौं भन्ने अर्थमा सहभागी हुने क्षेत्र हो । हामीले कुनै न कुनै रुपमा सफल हुन्छौं भनेर हामीलाई रोज्ने भएको हुँदाखेरी यो बेला अरु सबै शैक्षिक संस्था ठप्प हुँदा हाम्रो व्यवसायलाई झनै मर्का परेको अवस्था छ ।
समाजः यो संकटले तपाईले समाधानका उपायहरुको बारेमा के सोँच्नुभएको छ ? जसले नयाँ ढङ्गले अगाडि बढ्न सकियोस् ।
चौलागाईः निश्चय पनि यस बीचमा हामीले केही प्रयासहरु गर्यौं । नयाँ हिसाबले सञ्चालन गर्ने विषयमा वैकल्पिक शिक्षाका माध्यमहरु देखापरे । हुन त यी माध्यमहरु आज देखापरेका होइनन् । केही वर्ष अगाडिदेखि नै चलन चल्तीमा थियो । तर कोभिड सुरु भएसँगै ती माध्यमले व्यापकता पाउन सुरु भयो । त्यसपछि सबैमा व्यापकता तथा विभिन्न एप्सहरु आए । अनलाइन एजुकेसनको रुपमा जुन एप्सहरुको नाम हामीले सुनेकै थिएनौं । सबैजनाले सामान्य रुपमा गुगल मिटमा अथवा जुमबाट कुरा गर्यौं भन्नेसम्म वातावरण सबै सिर्जना गरेर र वैकल्पिक शिक्षाका लागि एउटा फड्को मारेका छौं । तैपनि यसलाई हामीले हाम्रो देशमा इन्टरनेटको जुन किसिमले पहुँच सबै ठाउँमा पुग्नु पर्ने हो त्यो पुगी नसकेको अवस्थामा एउटा फर्मल एजुकेशनहरु पनि राम्रोसँग नभएको अवस्थामा अब मुख्य कुरा भनेको विश्वविद्यालयको परीक्षाहरु प्रभावित भएको अवस्था छ । ११ र १२ को परीक्षाहरु प्रभावित अवस्था छ । एसईईको वैकल्पिक हिसाबले नतिजा निकालियो । यतिबेलामा परीक्षा हुने स्थिति छैन । परीक्षा हुने भएपछि पढ्ने बानी भएको विद्यार्थीहरु भएको देशमा झन परीक्षाकै अन्योलता रहेको अवस्थामा वैकल्पिक शिक्षण प्रणालीलाई ट्यूसन सेन्टरहरुलाई आत्मसात गर्ने अवस्था छैन ।
समाजः व्यावसायिक रुपमा तपाईहरु स्थापित भईराख्नु भएको थियो । यसलाई कसरी लैजाने धारणा बनिराखेको छ ?
चौलागाईः हाम्रो व्यवसायलाई ट्यूशन अथवा तयारी केन्द्र भनिन्छ । यो दुईओटा पाटोमा जोडिएको छ । एउटा ट्यूशन भनेको विद्यालय कलेजहरुको पाठ्यक्रमको अध्ययनमा सहयोगी भूमिका निर्वाह गर्ने गर्दछौं । विद्यालयस्तरका ट्यूशनहरु केही ग्रेडिङ प्रणाली सुरु भएदेखि नै कम हुँदै गएको हो । अझै भन्नु पर्दा विद्यालयहरु आफैं नै ट्यूशन सेन्टरको रुपमा सञ्चालन भइरहेका छन् । विहानदेखि बेलुकासम्म विद्यार्थीहरु महंगो शूल्क लिएर विद्यालयहरुले आफैंले ट्यूशन चलाईरहेको छन् । अर्काे हाम्रोसँग तयारी केन्द्र हुन्छ । तयारी भनेपछि हामीले विभिन्न सरकारले खुलाउने गरेको अवथा प्राईभेट सेक्टरले लिने गरेको एउटा जागिरे जीवन सुरुवात गर्नको लागि जुन एउटा परीक्षा राखेको हुन्छ । त्यसको लागि हामीले लोकसेवा बैंकिङ लगायतको तयारी केन्द्रको रुपमा हामीले काम गरी रहेकोमा अहिले लोकसेवाले पनि यो वर्ष नयाँ कर्मचारीको भर्ना नखुलाउने भन्ने समाचार आइसकेकोले त्यसले पनि व्यवसायको सम्भावनालाई कमजोर बनाएको छ । हामीले अनलाईनबाट केही समय पढायौं । अन्य सेक्टरको पनि तयारी कक्षा हामीले अनलाईनबाट गराइरहेका छौं । हामीले अनलाईन परीक्षाहरु बेलाबेलामा लिईरहेका छौं । यसलाई निरन्तरता दिईरहेका छौं । तैपनि अब यो लोकसेवाले पनि भर्ना नयाँ नखुलाउने भन्ने समाचारसँगै केही यसमा पनि सिथिलता वा ह्रास आएको छ ।
समाजः केही अनलाईनको कुरा गर्नुभयो । अनलाईनमा तपाईहरुले कति विद्यार्थीलाई समेट्न सफल हुनुभएको छ ?
चौलागाईः हामीले एउटा परामर्श दिने संस्थाका रुपमा आफूलाई चिनाएका छौं । हामीले एसईई दिएर अन्योलमा बसेका विद्यार्थीहरु भविष्यमा के पढ्ने होला, के गर्ने होला भनेर एउटा अन्योलमा भएको विद्यार्थीलाई वर्षौंदेखि परामर्श सेवा प्रदान गरिरहेका छौं । +२ मा एजुकेशन, आर्टस, व्यवस्थापन र विज्ञान चार वटा संकाय छन् । यति मात्र होइन विद्यार्थीका लागि अरु पनि शैक्षिक अवसर छन् भनेर बुझाइरहेका छौं । यस्ता विविध पक्ष भए पनि हामीले सामान्य बेलाको तुलना १० प्रतिशत विद्यार्थीलाई मात्रै समेट्न सकेका छौं ।