![dragom](https://samriddhasamaj.com/wp-content/uploads/2020/09/dragom-696x464.jpg)
हेटौंडाः हेटौंडा–१८, हर्नामाडीमा रहेको हर्नामाडी ड्रागन फर्मले सोमबार ड्रागन फ्रुटको ४ हजार ८ सय बिरुवा रोपेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिरुवा रोप्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।
मन्त्री लामाले उत्साहका साथ कार्य गर्न हर्नामाडी ड्रागन फर्मका सञ्चालकलाई भन्नुभएको छ । उहाँले चालु वर्षमा प्रदेश सरकारले व्यावसायिक ड्रागन खेतीलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । ड्रागन फर्मको शुभारम्भ कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, हेटौंडा–१८ का वडाअध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
हर्नामाडी ड्रागन फर्ममा १ हजार २ सय पोलमा ४ हजार ८ सय विरुवा रोपिएको फर्मका सञ्चालक नारायण रेग्मीले बताउनुभयो । २७ कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले कलकत्ताबाट ७ हजार ड्रागन फ्रुटका बिरुवा ल्याउनुभएको छ । आफूलाई आवश्यक विरुवा ४ हजार ८ सय भएको र अन्य बिरुवाहरु विक्री गरिने उहाँले बताउनुभयो । कलकत्ताबाट प्रतिगोटा २ सय रुपैयाँमा बिरुवा खरिद गरिएको बताइएको छ ।
हेटौंडा–६ स्थित बंशगोपाल मावि तथा हेटौंडा क्याम्पसमा अध्यापनरत रेग्मीले साथीभाइको सहयोगमा आधुनिक तरिकाले ड्रागन खेती सुरु गरेको बताउनुभयो । काठमाडौंका साथीले कौशीमा ड्रागन खेती गरेको अवलोकनपछि यसतर्फ आफ्नो आकर्षण बढेको उहाँको भनाइ छ ।
लागत ठूलै लाग्ने व्यावसायिक खेतीमा उहाँले कृषि विकास बैंक मार्फत कृषि कर्जा लिएर फर्म सञ्चालन गरेको बताउनुभयो । हालसम्म ३० लाख रुपैयाँ लगानी भइसकेको तथा फल दिने समयसम्म अझै १० देखि १५ लाख थप लगानी हुने उहाँले बताउनुयभो । ड्रागन खेतीको अवलोकन गरेपनि अहिलेसम्म ड्रागन फलको स्वाद नपाएका रेग्मीले ड्रागन खेती अझ विस्तार गर्ने सोच राख्नुभएको छ । सुनेको, देखेको, अवलोकन गरेको भरमै उहाँले यस खेतीमा हात अगाडि बढाएको बताउनुभयो ।
अहिले रोपिएको ड्रागनले अबको डेढ वर्षदेखि फल दिन सुरु गर्छ । पहिलो वर्ष थोरै, दोस्रो वर्ष अलि बढी र तेस्रो वर्षसम्म विरुवा ठूलो भएपछि राम्रो उत्पादन दिने उहाँको भनाइ छ । दोस्रो वर्षदेखि १ बोटले करिब २० किलोसम्म फल दिनसक्ने उहाँले बताउनुभयो ।