हेटौडाः आजबाट जितिया पर्व शुरु भएको छ । विशेष गरी तराईका जिल्लाहरुमा मनाइने यो पर्व हाल मकवानपुर जिल्लामा पनि मनाइदै आएको छ ।
मकवानपुर जिल्लामा अहिले थारु जातिको बाहुल्यता क्रमश बढ्दै गइरहेको छ । प्रत्येक बर्ष मकवानपुरका ८० देखि १०० घरधुरीले जितिया पर्व मनाउने गरेका छन् । अघिल्लो बर्ष मकवानपुरमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाइएको थियो ।
यस बर्ष भने कोरोना महामारीका कारण सबैले आ–आफ्नो घरमा मनाइने भएको थारु कल्याण कार्यकारिणी सभा, जिल्ला कार्य समिति मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताउनुभयो ।
पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका तराई र भित्रि मधेश सम्म बसोबास गर्दै आएका थारु समुदायले यो पर्व मनाउने गर्दछन् । थारु जातिले मनाउने विभिन्न परम्परा मध्ये जितिया पर्व एक विशेष पर्व हो । प्रत्येक बर्ष आश्विन कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथि गरी तिन दिन सम्म यो पर्व मनाइन्छ ।
जितिया पर्व को ब्रतको शुरुवातका गर्नको लागि आश्विन कृष्ण पक्ष सप्तमी तिथिको दिन शनिवार लहाइ (नुहाइ, धुवाइ), अष्टमी तिथिको दिन आईतबार उपास (निराहार ब्रत पानी समेत नखाई ब्रत बस्ने) र नवमी तिथिको दिन सोमवार पारन (विधिपूर्वक भोजन शुरुवात) गर्ने तिथि मिति परेको सालमा मात्र नवविवाहित महिलाहरुले जितिया ब्रतको शुरुवात गर्न सकिन्छ । जितिया पर्व शूरुवात गरिसकेको विवाहित महिलाहरुले हरेक वर्ष जितिया व्रत बस्ने गर्दछ । विविध कारणले गर्दा कुनै वर्ष ब्रत वस्न सकेन भने पुनः त्यस्तै तिथि परेको वर्षमा फेरी विधिवत रुपमा जितिया ब्रत शुरुवात गर्नुपर्ने उहाले जानकारी दिनुभयो ।
त्यसै गरी जितिया पर्वको पहिलो दिन आज ब्रतालुहरु विहान सवेरै उठेर नदी, खोला, पोखरी, इनार मा गई नुहाई धुवाई गरि (एक प्रकारको माटो) र पिना ले कपाल पखाली घिरौला को पातमा घिरौलाको फुल, माटो र पिना पूर्वतिर फर्केर भिजेकै कपडा लगाई चढाउने गर्दछन् । यस पर्वमा खानपिनको खासै बन्देज नभएपनि मासु खाने चलन छैन भने केही खानेकुराहरु अनिवार्य नै हुन्छ । यसरी सवै सरसामानहरु जुटाई साँझ सवेरै खानपिन गरि सुत्छन् र राति नै उठेर विभिन्न किसिमका परिकारहरु पकाउनमा जुटछन् । खानपिनको तयारी पूरा भैसकेपछि सवेरै अर्थात काग कराउनुभन्दा अगावै सप्तमी तिथि भित्रै देवता घरको दलिनमा पूर्व फर्केर घिरौलाको पातमा दुई ठाउँमा चिल्ही र सियारिनलाई दही, चिउरा, सख्खर, सुपारी चढाउँछन् र खानपिन गर्छन ।
उहाँका अनुशार यस पर्वको दोस्रो दिन अष्टमी तिथिको दिन निराहार ब्रत पानी समेत नखाई ब्रत बस्ने, विहानै उठेर नुहाइ धुवाई गरि पुजा सामाग्रीको तयारी मा जुटछन् । जसमा विशेष किसिमको कर्कलो को पात, केराको पात, घिरौलाको पात र फुल, तुलसीको पात, जितियाको फुल, बेसार को फुल, अक्षता , सानो केराउ, तोरीको तेल, सिन्दुर, सिक्की, गौरा खर, धानको मोइर, दही चिउरा, फलफुल, सख्खर, रातो पहेलो र कालो रंगको ध्वजा इत्यादि रहेको हुन्छ । दिउँसो ब्रतालु दिदिबहिनीहरु सामूहिक रुपमा आगनमा चारकुने सानो पोखरी खन्छन् । सवैजना विधिपूर्वक तयारी भैसकेपछि कथावाचकले जितमहान कथा प्रारम्भ गर्छ । कथा समाप्त भएपछि कथावाचकको आदेशानुसार कहिले सूर्य त कहिले जितमहान तथा गरुड, चिल, स्यालको नाममा खनेको पोखरी नजिकै पूर्वतिर फर्केर पुजा गर्छन । पुजा समाप्ती पछि कथावाचकलाई दान दिई विदाई गरि सरसमानहरु डालोमा राख्छन् । त्यस दिन गाउँघरमा जितमहानको मूर्ति बनाएको ठाउँमा पुजाआजा गर्छन र त्यस ठाउँमा जितमहानको मेला समेत लाग्ने गर्दछ ।
यस्तै अन्तिम दिन विहान घरआँगन गोबर माटोले लिपपोत गरेर नुहाईधुवाई गर्न जाँदा डालोमा भएका सम्पूर्ण पुजा सामाग्रीहरु पोखरी, नदिमा प्रवाह गरि नुहाईधुवाई गर्छन् । नुहाएर घर आएपछि आँगनमा पूर्वतिर फर्केर चौका बनाई सिन्दुर र तेलले दुईवटा ठाडो धर्का तान्छन् बीचमा पानको पात राखी त्यसमाथि सुपारी, दही, चिउरा, बौटरा, अक्षता, तुलसीको पात चढाउँछन् । उक्त समयमै गौरा खर कान्छी औला र बुढी औलाको सहायताले सानो सानो टुक्रा भाची क्रमशः पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशातिर तीनचोटी फाल्ने गर्छन् । पुजामा जलढार गरि पाँचवटा बौटरा, पाँचवटा अक्षता दातमा नछुवाईकन निल्छन्, अलिकति दही, चिउरा खाएर भोजनको शुरुवात गर्छन् त्यसपछि आफूखुशी खान्छन् र चढाएको दही चिउरा केटाकेटीहरुलाई प्रसाद स्वरुप बाडेर यसको अन्त्य गरिने चौधरीले जानकारी गराउनुभयो ।
यस पर्वमा भाईबहिनी बीचको माया, प्रेम, स्नेहलाई प्रगाढ हुने, कुनै पनि काम निष्ठा तथा नियमपूर्वक विधि पुर्याएर गरेमा सफलता अवश्य हात पर्छ भने बिशेष मान्यता रहेको थारु कल्याण कार्यकारिणी सभा, जिल्ला कार्य समिति मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले बताउनुभयो । पुराना पुस्ताहरुलाई पौराणिक तथा सांस्कृतिक चाडपर्वहरु मनाउने विधि र त्यसको महत्वको विषयमां जति जानकार छन् ती चाडपर्वहरु हाम्रो पहिचान र अस्तित्वसँग जोडिएको हुँदा नयाँ पुस्तामा हस्तान्तरण गर्न आजको आवश्यकता देखिएको पनि चौधरीले बताउनुभयो ।