हेटौंडाः आज बसेको जिल्ला कोभिड सङकट व्यवस्थापन केन्द्रको बैठकले मकवापनुरमा चल्ने निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । पर्सी भाद्र २६ गते देखि असोज ५ गतेसम्म जिल्लामा सार्वजनिक यात्रुबाहक सवारी नचल्ने तथा निजी सवारीमा जोर बिजोर प्रणाली लागु हुने भएको हो ।
त्यस्तै अनुमति नलिई बाहिरी जिल्लाबाट आउने दुई पाङग्रे सहितको अन्य सवारीको आवागमनमा रोक लगाउने भएको छ ।
यस्तै खाद्यान्न, तरकारी, दुग्धजन्य पर्दार्थको बिक्रिका लागि बिहान ५ बजेदेखि बिहान ९ बजसम्म मात्र पसल व्यवसाय खोल्न पाउने भएका छन् । भाद्र २६ गते पछाडि यी बाहेकका अन्य पसलहरु भने बिहान १० बजेबाट ३ बजेसम्म खुल्ने छन् । यसअघि आंशिक रुपमा १० बजेसम्म मात्र बजार खुलाउँदा धेरै भिडभाड बढेको र भौतिक दुरी पनि कायम नभएको भन्दै बजार खुलाउने समय बढाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
यस्तै उद्योगमा कार्यरत कर्मचारीहरु भने अब बिहान ८ बजेसम्म उद्योग भित्र गइसक्नुपर्ने तथा साँझ ६ बजेपछि मात्र निस्कन पाउने भएका छन् । यता बाहिर जिल्ला वा विदेशबाट आउने कामदारको हकमा भने पिसिआर परीक्षण गरेर नेगिटिभ आएको ७२ घण्टाभित्र ल्याइसक्नुपर्ने छ ।
यसैगरी जिल्लामा सङक्रमित, घरकै आइसोलेसन भएकाहरुको फलो अप तथा कन्ट्याक्ट ट्रेसिङ लागयतको कार्य जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गर्ने भएको छ भने स्थानीय तहका वडाअध्यक्ष लगायतको टोलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयको लागू भए नभएको अनुमगन गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । अन्य शिक्षण संस्था, खेलमैदान, मठमन्दिर, जिमक्लब, सार्वजनिक पुस्तकालय, भेला, सेमिनार, गोष्ठ गर्न भने नपाइने भएको छ ।