नेपालमा निजामती सेवा ऐन जारी भएको दिन कर्मचारीहरुले निजामती सेवा दिवस मनाएका छन् । २०६१ सालदेखि मनाइँदै आएको निजामती दिवस यसपटक कोभिडले प्रभावित पारेको छ । स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने नारा दिएर कोठे बैठकमा यस पटकको दिवस सीमित हुन पुगेको छ । कर्मचारी दिवसका लागि छनौट भएको नारा साँच्चै देश भक्तिपूर्ण र नागरिकको पक्षमा कर्मशील हुन प्रेरित गर्ने खालको छ । प्रत्येक वर्ष दिवसका लागि यस्तै आकर्षक नारा छनोट हुँदै आएका हुन् तर नागरिकको सेवाप्रति कर्मचारीहरुको व्यवहार आकर्षक हुन सकेको छैन । बरु नागरिकले कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण फरक बन्दै गएको छ ।
कर्मचारी भन्ना साथ नागरिकले घुसिया, कामचोर, दुःख दिने प्रवृत्ति, अल्छि स्वभाव भएका मानिस ठान्ने गरेका छन् । सरकारी सेवाका लागि कार्यालयमा पुग्ने नागरिकहरुले कर्मचारीको प्रशंसा गरेको भेटिएको छैन । काम छिटो नभएको, घुस मागेको, भनसुन नगरी काम नभएको जस्ता गुनासा सुनिँदै आएको छ । नागरिकको यस्तो हेराई र भोगाईमा परिवर्तन गराउन कर्मचारी प्रशासनलाई चुनौती छ । कर्मचारीहरुको व्यवहारबाटै स्वच्छ र सक्षम निजामती प्रशासन प्रमाणित गर्नु आवश्यक छ । सेवाग्राहीले आरोप लगाउने अवस्था किन बन्यो भन्ने कुराको विश्लेषण गरी त्यसमा सुधार गर्नुपर्ने जिम्मेवारी र दायित्व पनि कर्मचारी प्रशासनकै हो । जतिसुकै राम्रा नारा छनौट गरे पनि नेपाली नागरिकले निजामती प्रशासनलाई हेर्ने दृष्टिमा परिवर्तन आउन सकेको छैन । र लामो समयसम्म पनि परिवर्तन हुने लक्षण देखिँदैन ।
सार्वजनिक सेवाप्रति नागरिकको दृष्टिकोणसँग मिल्दो गरी सरकारले पनि सर्वोत्कृष्ट कर्मचारी नै फेला पार्न नसकेको खबर सार्वजनिक भएको छ । यति ठूलो र पुरानो स्थायी सरकारमा पुरस्कारयोग्य कर्मचारी नै फेला नपर्नुले प्रशासन क्षेत्र माथिकै प्रश्न हो । योग्य नहुनु भनेको अयोग्य नै त हो नी । यस्ता कर्मचारीले गरेका निर्णय र कामहरु कस्ता छन् भन्ने प्रश्नको उत्तर कस्ले दिने ? योग्य कर्मचारी नभेटिनुले सरकारले गरका कामको औचित्य माथि पनि प्रश्न उठ्दैन ? प्रशासनमा योग्य कर्मचारी नभई नभएका पक्कै पनि होइनन् तर उनीहरु राजनीतिक नेतृत्वको दृष्टिमा नपरेका मात्र हुन् । कुनै नेताको वरिपरि भन्दा सेवालाई आफ्नो जिम्मेवारी ठान्नेहरु भ्रष्टहरुको छायाँमा परेका छन् । त्यसैले सरकारले पनि उनीहरलाई नदेखेको हो ।
मुलुकको निजामती सेवा सरकारको अभिन्न र कार्यकारी अंग हो । राज्यको केन्द्रदेखि नागरिकका घरदैलोमा पुग्ने स्थायी संयन्त्र कर्मचारी प्रशासन निष्पक्ष हुनै पर्दछ । राजनीतिक नेतृत्वको निरिह छायाँका रुपमा काम गर्न छोड्नुको विकल्प छैन । व्यवहारकै कारण कर्मचारी प्रशासनको निश्पक्षतामा प्रश्न उठ्ने गरेको हो । क्षमता र योग्यता भएकाहरु नै त्यहाँ पुगेका हुन्छन् । तर आफ्नो क्षमता किन नागरिकको हितमा लगाउन सक्दैनन् भन्ने प्रश्नको जवाफ अब कर्मचारीले व्यवहार मार्फत दिनु पर्दछ । नागरिकमा कर्मचारीप्रति रहेको नकारात्मक धारणा परिवर्तन गराउने जिम्मेवारी कर्मचारी स्वयम्को जिम्मेवारी हो । देश निर्माण गर्ने हो र समृद्धिको अभियान पूरा गर्ने हो भने कर्मचारीहरु राजनीतिक आस्था भन्दा बाहिर बस्ने वातावरण बनाउनु पर्दछ । तब मात्र ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराको औचित्य पुष्टि हुने छ ।