हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाका निजी विद्यालय सञ्चालकहरुले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहानगर समितिका पदाधिकारीले मेयर बिष्टलाई भेटेर विद्यालय सुचारु गर्ने, शिक्षण शूल्क लिने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको हो । विद्यालय ठप्प हुँदा विद्यार्थीको शैक्षिक क्षेत्रमा परेको असर बारे जानकारी गराउँदै अब पनि कुनै न कुनै विधिबाट शैक्षिक गतिविधी सञ्चालन नगरेमा पूरै एक वर्ष खेर जाने भन्दै प्याब्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानसहितको टोलीले मेयर विष्टको ध्यानाकर्षण गराउने क्रममा मेयर विष्टले पठनपाठनको तयारी गर्न भन्नुभएको हो ।

शिक्षा मन्त्रालयले अनलाइन, रेडियो, टिभी तथा प्रत्यक्ष भेटघाटको विधिबाट भएपनि शैक्षिक सत्र सुरु गर्ने तयारी गरेपछि प्याब्सन थाहानगरले शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन आवस्यक रहेको हुँदा तत्काल तालिमको व्यवस्था गर्न नगरको ध्यानाकर्षण गराएको सचिव संगम कार्कीले जानकारी दिनुभयो । मेयर विष्टको ध्यानाकर्षण गराउँदै अध्यक्ष प्रधानले अब निजी र सामुदायिक दुबैको पठनपाठन सँगसँगै लैजानुको विकल्प नरहेको बताउनुभयो । मेयर विष्टले केन्द्रबाट नयाँ शैक्षिकसत्रको परिपत्र प्राप्त हुनासाथ अब कसरी अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्ने र अनलाइन विधिबाट कक्षा सञ्चालनका लागि सर्वे गरी अनलाइन कक्षाको पहुँच पत्ता लगाउन निर्देशन दिनुभयो ।

निजी विद्यालयका प्रतिनिधिहरुसँगको भेटमा मेयर विष्टले संघीय सरकारको नीतिगत निर्णय आएको भोलिपल्ट नै विद्यालयको पठनपाठन तथा शूल्कको विषयमा नगरपालिकाले निर्णय गर्ने बताउनुभयो । मेयर विष्टले वैकल्पिक माध्यमबाट सबै विद्यार्थीसम्म कसरी पुग्न सकिन्छ भन्नेमा ध्यान दिन निजी विद्यालय सञ्चालकहरुलाई सुझाव दिनुभएको छ । थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्टले अब पनि ईन्टरनेटको पहुँच छैन भनेर बस्ने बेला नभएको बताउनुभयो । ईन्टरनेट अनिवार्य आवश्यकता भैसकेको बताउँदै तत्काललाई प्रत्यक्ष विधि बाहेक अन्य विधिबाट पठनपाठन गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा प्याब्सनका पदाधिकारी तथा सदस्यहरुले आफुहरुले भोगिरहेका समस्या सुनाएका थिए ।
यसअघि साउन मसान्तसम्म टोलटोलमा कक्षा निर्माण गरी पठनपाठन गर्दै आएका निजी विद्यालयहरुले पछिल्लो समय कोरोनाको सङ्क्रमण बढेसँगै कक्षा बन्द गरेको थियो । नगरमा हालसम्म बाहिरबाट आएका १५ जनामा मात्र सङ्क्रमण देखिएपछि थाहानगर कोरोनाको जोखिमबाट सुरक्षित रहेको आँकलन गरिएको छ । समुदायमा स्वाब सङ्कलन गरी पिसिआर टेष्ट गरिएकोमा सबै नेगेटिभ आएपछि स्थानीयमा सुरक्षितको अनुभूति गरिएको हो । नेगेटिभको अनुभूति भएसँगै निजी विद्यालयहरुले विद्यालयमै पठनपाठनका लागि आग्रह गरेका थिए ।