यतिबेला विद्यालय शिक्षाअन्तर्गत देशभर वार्षिक परीक्षाको लहर सुरु भएको छ । शैक्षिक सत्र २०८१ अन्तर्गत विद्यालय तहमा विभिन्न खण्डमा परीक्षा भइरहेको छ । कक्षा ८ को वार्षिक परीक्षा पालिकास्तरीय परीक्षाको रुपमा देशभर पालिकाहरुले आआफ्नो अनुकुलमा तालिका बनाएर सञ्चालन गर्दैछ । मकवानपुरको भीमफेदी, मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिकामा आधारभूत तहको परीक्षा सुरु भइसकेको छ । विद्यालय शिक्षा परीक्षा (एसईई) को तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । एसईई चैत ७ गतेबाट सञ्चालन हुँदैछ । कक्षा १२ को परीक्षा तालिका पनि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । कक्षा–८, १० र १२ बाहेक अन्य पूर्वप्राथमिक तहदेखि कक्षा ११ सम्मको परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्नेछ । कतिपय पालिकाले भने ८, १० र १२ कक्षा बाहेक पूर्वप्राथमिक तहदेखि ११ सम्म नै एकरुपता कायम गर्ने गरी आवधिक र वार्षिक मूल्यांकन प्रणाली नै विकास गरेको देखिन्छ ।

विद्यालय या विश्वविद्यालय दुबै तहको मूल्यांकन पद्दति प्रभावकारी नभएको भन्दै निरन्तर आलोचना र समीक्षा समेत हुँदै आएको छ । यद्यपि हाम्रो परीक्षा प्रणालीमा उल्लेखनीय सुधार आउन सकेको छैन । ३ कक्षासम्म निरन्तर मूल्यांकन र उद्दार कक्षोन्नति प्रणाली लागु गरे पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन सकेको छैन । विद्यालय तहको शिक्षाको मूल्यांकन गर्ने प्रमुख आधारको रुपमा एसईईको नतीजालाई हेर्ने गरिन्छ । एसईईको नतीजालाई महत्व दिइएकै कारण यस वर्ष सरकारले निक्कै सुधारिने गरी धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने उद्घोष गरेको छ । तर, उद्घोष मात्रैले नतीजामा सुधार आउने अवस्था रहन्न । परीक्षाको नतीजा मात्रै नभएर समग्र शैक्षिक अवस्था, शैक्षिक संस्थाको भौतिक, आर्थिक, जनशक्ति, क्रियाकलाप, स्रोत, सामग्रीमा सुधार गरेर मात्रै विद्यार्थीको नतीजा, सिकाई उपलब्धी र शिक्षाको प्रभावको सुधार अपेक्षा गर्नु आवश्यक छ ।

यतिबेला परीक्षा आएलगत्तै मूलतः विद्यार्थीलाई राम्रो नतीजा प्राप्त गर्न परिवार, समाज, नेता, मन्त्री, पालिका प्रमुख, वडाध्यक्ष र आफन्तले दवाव दिइरहेका छन् । हेटौँडा उपमहानगरपालिकाका केही वडाध्यक्षले वडाका दुई वटा विद्यालयमध्ये एउटा विद्यालयमा पुगेर राम्रो नतीजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने घोषणा गरेका छन् । दुईवटा विद्यार्थीलाई एक साथ राखेर पुरस्कारको घोषणा समेत गर्न नसक्ने वडाध्यक्षले पुरस्कारको घोषणाको औचित्य कसरी पुष्टि गर्लान् । यतिबेला विद्यार्थीलाई चौतर्फी दबाव दिइनु उचित होइन । सकिन्छ भने अहिले जे जस्तो अवस्था छ त्यही अवस्थामा सौहाद्र्धपूर्ण वातावरणमा परीक्षा सम्पन्न गर्न, विद्यार्थीको उचित मूल्यांकन गर्ने तयारी गरेर आगामी शैक्षिक सत्रका लागि योजना बनाउने बेला हो । आगामी शैक्षिक सत्र २०८२ का लागि लक्ष्य निर्धारण गर्ने, वार्षिक कार्ययोजना तयार पार्ने विषयमा वडा, पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका जिम्मेवार व्यक्तिहरु लाग्नु जरुरी छ । परीक्षाको एक साता अघि आएर यो या त्यो पुरस्कारको घोषणाले शैक्षिक सुधार होइन, शिक्षामा अराजकता मात्रै बढ्नेछ ।

वार्षिक परीक्षा विद्यार्थीको मात्रै होइन, अभिभावक, टोल, समुदाय, वडा, पालिका, जिल्ला, प्रदेश र राष्ट्रकै हो भन्ने बुझेर सबैले आआफ्नो तहमा सकारात्मक भूमिका निर्वाह गर्न जरुरी छ । विद्यार्थी प्राप्त गर्ने नतीजालाई अभिभावक, आफन्त, शिक्षक, विद्यालय व्यवस्थापक, वडा र पालिका सरकारले आफूलाई समीक्षा गर्नुपर्छ । विद्यार्थीको अंक कम आउँदा अभिभावकले आफ्नो भूमिका कमजोर भयो कि भनेर समीक्षा गर्नुपर्छ । शिक्षक, विद्यालय व्यवस्थापक, पालिकाका सम्बन्धित शाखाका कर्मचारी, वडा, पालिकाका प्रमुख, जनप्रतिनिधिले आफ्नो अवस्था कमजोर भयो समीक्षा गर्नु जरुरी छ । अन्यथा विद्यार्थीलाई मात्रै लोभ, लालच देखाएर परीक्षा सुरु हुनै लाग्दाका घोषणाले शैक्षिक सुधार हुन्न । वार्षिक परीक्षालाई सबैले आफ्नो पनि परीक्षा हो भनेर मनन् गर्ने वातावरण तयार गर्नु जरुरी छ ।