लकडाउनकै अवधिमा सरकारले नेपाल कोरोनामुक्त हुने अवस्थामा रहेको दावी गरेको थियो । जोखिमको कुनै आँकलन नगरी गरिएको टिप्पणीले आजको भयावह अवस्था कल्पना गरेको थिएन । तत्काल देखिएको सामान्य अवस्थाकै कारण हौसिएर बस्दा आज महासङ्कटको अवस्था भएको छ । पर्याप्त सतर्कता र तयारी नगर्दाको परिणाम काठमाडौं कोरोनाको हटस्पट बन्दै गएको छ । ७७ जिल्ला मध्ये सबैभन्दा बढी सङ्क्रमित भएको जिल्ला बनेको छ, काठमाडौं । त्यस माथि उपत्यका नै कोभिडको मारमा परेको छ । घनावस्ती भएको उपत्यका भित्र दैनिक बढ्दै गएको सङ्क्रमण राज्यको नियन्त्रण बाहिर नजाला भन्न सकिँदैन । सुरुमा इटालीले कमजोरी गर्दा समस्या भएको जानकारी भए पनि नेपाल सरकारले पर्याप्त पूर्व तयारी नगर्दा सङ्कट बढ्दै गएको हो ।
बागमती प्रदेशका १३ जिल्ला मध्ये मकवानपुर पनि काठमाडौंलाई पछ्याउँदै गएको छ । १३ जिल्ला मध्ये सङ्क्रमितको सङ्ख्याको दृष्टिकोणबाट मकवानपुर चौथो स्थानमा छ । यहाँ पनि सुरुमा कोभिडको प्रभाव कम हुने विश्वास लिएको थियो । सोही अनुमानका आधारमा स्थानीय तह तथा प्रदेश सरकारले आइसोलेसनहरु बनाउने काममा कुनै चासो नदिएकै हो । तर पछिल्ला दिनहरुमा विशेषगरी हेटौंडा उपमहानगरपालिका भित्र नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसनको अभाव भएको छ । लामो समयसम्म हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवनमा रहेको ४० वेडको आइसोलेसन देखाएर बस्ने काम भयो तर अहिले हतारमा अरु आइसोलेसनको खोजी र तयारी सुरु भएको छ ।
मकवानपुर जिल्लामा हालसम्म ४ सय बढी मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् । चार जनाको त मृत्यु नै भइसकेको छ । यस्तै उपचारपछि ९३ जना मात्र निको भएका र अरु उपचारका क्रममा रहेका छन् । एक सय २५ जना भन्दा बढी सङ्क्रमितहरु आफ्नै घरको आइसोलेसनमा छन् । सरकारी आइसोलेसनमा ठाउँको अभाव भएपछि घरमै बस्नुपर्ने बाध्यता छ । तर उनीहरुले कुनै सेवा सुविधा नपाएको गुनासो समेत आएको छ । घरमा बसेर राज्यलाई नै सहयोग गरेकाहरु नै उपेक्षित हुनु दूर्भाग्य हो । उनीहरुलाई पनि स्वास्थ्य सेवा आवश्यक पर्दछ । तर अस्पतालका तर्फबाट कुनै जानकारी लिनेसम्मको काम नभएको गुनासोको सम्बोधन गरिनु पर्दछ ।
यस्तै कोरोना परीक्षणको नतिजा पनि ढिलो हुने गरेको छ । एक हप्तासम्म पनि नतिजा नआउँदा सङ्क्रमणले नयाँ कोर्ष लिई सक्ने अवस्था छ । स्वाब दिँदा सङ्क्रमणमुक्त भए पनि एक हप्तासम्म सङ्क्रमित भइसकेको हुन सक्छ । यस्तै सङ्क्रमित थियो भने पनि नतिजा आउँदासम्म सञ्चो भई सक्ने अवस्था देखिएको छ । यस्तो किन भएको छ । कहाँ कमजोरी हो । जिम्मेवार निकायहरुले खासै चासो देखाएको पाइँदैन । परीक्षणका लागि मेसिनको अपुग हो भने स्थानीय तहबाट पनि खरिद गरिनु आवश्यक छ । यस्तै घरमै बसेका सङ्क्रमितहरुका लागि स्थानीय तहबाट घरदैलो कार्यक्रम गरेर स्थानीय मानिसबाट गरिने व्यवहारमा परिवर्तन गराउने तथा विरामीहरुलाई हौसला दिनु आवश्यक छ । कोरोना विरुद्धको अभियानमा देखिएका समस्या समाधान गर्न सबै पक्षबाट जिम्मेवार भएर सक्रिय रहनु आवश्यक छ ।