बागमती प्रदेशको राजधानी हेटौंडामा कोभिडका विरामीहरुको संख्या बढ्दै गएपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी छ । मानिसको चहलपहल बढ्दै गएपछि सङ्क्रमण पनि फैलिएको हो । त्यसैले मानिसलाई घरभित्रै बस्न बाध्य बनाउनु अत्यावश्यक छ । यसका लागि जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो । देशव्यापी लगाइएको लकडाउन खुलेको १५ दिनमा नै मकवानपुरमा सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै बढेपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्णपालना भएको छ । हाल दैनिक रुपमा सङ्क्रमितको सङ्ख्यामा कमि आएको छैन । मानिसको भिड कम गराउनका लागि निषेधाज्ञा उपयोगी हो । तर निषेधाज्ञा मात्र विकल्प हुन सक्दैन । स्थानीय प्रशासन र स्थानीय तहहरुले यस अवधिलाई उपयोग गरि अन्य उपायको खोजी गर्ने देखि तयारी गर्नु आवश्यक छ ।

स्थानीय प्रशासनले हेटौंडामा निषेधाज्ञा लगाएको १५ दिनसम्म पनि अन्य उपायको खोजी गरेको देखिएको छैन । सङ्क्रमितहरुलाई व्यवस्थापन गर्ने, परीक्षणको दायरा र दर बढाउने जस्ता काम भएका छैनन् । दैनिक मकवानपुरमा कति जनाको स्वाब सङ्कलन गरिन्छ र परीक्षण भएका छन् भन्ने तथ्याङ्क समेत औपचारिक रुपमा सार्वजनिक हुने गरेको पाइँदैन । निषेधाज्ञाको अवधिमा परीक्षण सङ्ख्या बढाउन के कस्ता काम भए ? सोको जानकारी नागरिकले पाउनु पर्दछ । प्रशासन र स्थानीय सरकारले नागरिकलाई घर भित्र बस भनेर मात्र आफ्नो जिम्मेवारी पूरा गरेको मान्न सकिँदैन । मानिसलाई घरमा थुन्दैमा मात्रै सङ्क्रमण कम हुन सक्दैन । सङ्क्रमित बढे भनेर निषेधाज्ञा लगाउने प्रशासनले रोकथामका लागि प्रभावकारी योजना बनाएर नागरिकलाई आश्वस्त बनाउनु पर्दछ ।

निषेधाज्ञाको समयमा नगरपालिका भित्र कति सङ्ख्यामा आइसोलेसन बेड थपिए ? कतिवटा परीक्षण मेसिनका लागि पहल भयो वा ल्याइयो ? कतिजनालाई परीक्षण गर्ने लक्ष्य थियो र कति जनाको परीक्षण सफल भएको छ जस्ता कुराहरु सार्वजनिक हुन आवश्यक छ । निषेधाज्ञाको अवधिको लक्ष्य निर्धारण गरिए अनुसार काम भएका छन् वा लक्ष्य नै निर्धारण गरिएन ? अन्तिम अवस्थामा हतार गर्नु भन्दा निषेधाज्ञाको अवधिलाई उपयोग गर्ने तर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्दछ । कोरोना विरुद्धको अभियान सरकारको मात्र ठान्ने नागरिकको प्रवृत्ति पनि घातक छ । राज्यको साधन र श्रोत अनुसार गरिने काम र निर्णयलाई हुबहु पालना गर्नु जिम्मेवार नागरिकको कर्तव्य हो । तर दोष अर्कोलाई देखाउने र आफूले चाहीँ जे गर्दा पनि हुन्छ भन्ने मानसिकता नै सङ्क्रमण बढाउने मुख्य तत्व बन्दै गएको छ ।

लकडाउन वा निषेधाज्ञा सङ्क्रमण नियन्त्रणका लागि सहयोगी पक्का हो । तर यसका साथै समुदाय र सम्बन्धित पक्षले गर्नुपर्ने कामहरु पनि पूरा हुन आवश्यक छ । सरकारी आइसोलेसनमा भन्दा हेटौंडाका धेरै सङ्क्रमितहरु घरमा नै बसेका छन् । उनीहरुले गर्ने वा उनीहरुलाई गरिने व्यवहारको बारेमा अनुगमन हुनु पर्दछ । कतिपयले सङ्क्रमण लुकाएर समाजमा घुलमिल त गरिरहेका छैनन् ? यस्तै सङ्क्रमितलाई छरछिमेकीबाट गरिने व्यवहार कस्तो छ ? अपमानित त भएका छैनन् ? यस विषयमा स्थानीय तहबाट हौसला दिन र नागरिकहरुलाई सचेत बनाउन अन्य स्थानीय तहहरुले गरेका अभ्यास हेटौंडा उपमहानगरपालिकाले पनि अपनाउँदा राम्रै हुनेछ । निषेधाज्ञाको आदेश जारी गरेर चुपचाप बस्ने भन्दा यस अवधिलाई उपयोग गर्दै अन्य तयारी गर्नु पर्दछ । नत्र महामारीबाट छुटकारा पाउन मुस्किल हुँदै जानेछ ।