कोरना भाइरसको समाजशास्त्रीय दृष्टिकोण
अंग्रेजी वर्ष सन् २०१९ को अन्तिम महिना अर्थात डिसेम्बर महिनाको अन्त्यतिरबाट शुरु भई हाल विश्वका धरैजसो देशहरुमा फैलिरहेको एउटा महामारी हो, कोरोना भाइरसका कारण लाग्ने कोभिड–१९ । यस भाइरसलाई समाजशास्त्री आधारमा अध्ययन, अनुसन्धान, व्याख्या र विश्लेषण गर्नुपर्दा कोरना भाइरस के हो ? यस भाइरस भित्र कस्ता किसिमका रोगहरु पर्दछन् ? कोरोना भाइरसको प्रकृति कस्तो रुपमा मानव समाजमा आज फैलिरहेको छ ? यसले मानव समाजमा कुन हदसम्म प्रभाव पार्दैछ र पार्ने छ ? यस भाइरसको प्रभावले मानव समुदायका महत्वपूर्ण क्षेत्रहरु शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक मूल्य मान्यताहरुमा कस्तो प्रभाव पारेको छ ? के अब यस महामारीको संकट पछिका दिनहरुमा विश्व मानव बीचको सम्बन्धमा केही फरकपन ल्याउँछ त ? यस भाइरसका विरुद्ध आवश्यक पर्ने भ्याक्सिन निर्माणमा विश्वका स्वास्थ्य विज्ञहरुको समूह कुन रुपमा लागी परिरहेका छन् त ? भन्ने जस्ता अनेकौं प्रश्नहरुलाई केन्द्रमा राखेर व्याख्या र विश्लेषण गर्ने कार्य समाजशास्त्रीय व्याख्यामा आधारित दृष्टिकोण हो ।
आजको दिनमा यस भाइरसका कारण विश्व मानव जगतमा नै छुट्टै किसिमको तरंग पैदा गरेको छ । विश्वका अधिकांश देशहरु आफ्नो आन्तरिक सुरक्षको निम्ती सीमा सिल र आफ्नो देशभर उक्त भाइरस नफैलियोस भनेर लकडाउन गरी आन्तरिक गृहकार्य गरिरहेका छन् । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । विश्वका अधिकांश देशमा मानवीय गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।
कोरोना भाइरस के हो ?
आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस नामकरण गरेका थिए (बिबिसी) । कोरना भाइरस एक प्रकारको सरुवा रोगको कारण हो, यस भाइरसले मुख्यगरी श्वासप्रश्वास सम्बन्धी समास्याहरु निम्त्याउने गर्दछ भने समयमा उपचारको अभाव भएमा कालान्तरमा मृत्युको मुखसम्ममा पनि पुर्याउँद छ । यो मुलतः मानव जातिमा र पशुपंक्षीहरुमा लाग्ने गरेको छ । आजसम्मको मानव जगतमा सबैभन्दा नयाँ स्वरुपको भाइरस भनी वैज्ञानिकहरुले भनेका छन् ।
कोरनाको उत्पत्ति र विकासक्रमः
यो भाइरसको उत्पत्ति र विकासक्रमलाई हेर्ने हो भने यो भन्दा पनि पहिले यस किसिमको भाइरस विश्वमा २००२ तिर चीनमा नै देखिएको थियो । तर यस किसिमको महामारीको रुपमा विश्वभर फैलिन पाएको थिएन । यस कोरोना भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो ।
सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण हुन थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो । तर नेपालमा भने २०७६ सालको माघ महिना अन्त्यतिरबाट प्रवेश गरेको थियो ।
चीनको वुहाननजिकै पशुपंक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ । किन यसको नाम वैज्ञानिकहरुले सार्स–कोभ–२ राखिएको हो भने यस भन्दा पहिले नै विश्वमा यसै भाइरस समूह भित्र सार्स–कोभ–१ नामको अर्को रोगको नाम राखी सकिएको थियो ।
कोरोना भाइरस सङ्क्रमण कसरी हुन्छ ?
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ ।
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ ।
सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, श्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्याउन सक्छन् । मुख्यगरी सङ्क्रमित व्यक्तिले थुक्दा वा हाछियुँ गर्दा वा खोक्दा सुरक्षा अप्नाएन भने अरु सङ्क्रमण नभएका मानिसहरुलाई सर्न सक्दछ । त्यस कारण सङ्क्रमित व्यक्तिले आफुले पनि र सङ्क्रमण नभएका मान्छेहरुले पनि यस कुरामा गम्भीरतापूर्वक लिनु पर्दछ ।
कोरोना भाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ?
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन् । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ । केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन । तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।
कोभिड–१९ का लक्षण देखियो भने के गर्ने ?
यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ । झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ । तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् ।
कोरनाले समाजमा पारेको असरहरुः
यस भाइरसले विश्व मानव जगतमा निकै नै ठुलो सङ्कटको सिर्जना गरेको छ । समाजका जुन कुनै क्षेत्रहरु शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक तथा सांस्कृतिक र राजनीतिक आदि क्षेत्रहरुमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको सजिलै अनुमान लगाउन सकिन्छ ।
यस भाइरसका कारण प्रत्यक्ष असर परेको मुख्य क्षेत्रहरु मध्येको एक हो शिक्षा क्षेत्र । जहाँ नेपाल लगायत विश्वका अधिकांश मुलुकका विद्यार्थीहरु यसको मारमा परेका छन् । यस महामारीका कारण विश्व शिक्षाको जगतमा नै एउटा परिवर्तनको ढोका खुल्छ कि भन्ने जमात पनि बाक्लै भेटिन थालिएको छ । प्रत्यक्ष विद्यालयहरुमा र कलेजहरुमा उपस्थिति नभई वैकल्पिक (भर्चुअल) माध्यमबाट पनि सिकाईका प्रक्रियाहरुलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराको केही हदसम्म सकारात्मक दृष्टिकोणबाट हेरिन थालिएको छ । त्यस्ता माध्यमहरुबाट गरिएको शिक्षण सिकाईमा कति उपलब्धिमूलक हुन्छ वा हुँदैन भन्ने एउटा छुट्टै बहसको विषय हो । यसलाई पछि गरौंला ।
नेपालको सन्दर्भमा कुरा गर्दा विगत पाँच महिनादेखि विद्यालय र कलेजहरु बन्द रहेका छन् । विभिन्न तहका विद्यार्थीहरु अन्तिम परीक्षाको तयारीमा रहेको अवस्थामा एक्कासी यो महामारीका कारण मुखैमा आएको परीक्षा दिन नपाउँदा कुन अवस्थामा छन् भन्ने कुरामा सम्बन्धित पक्षले नबुझिदिँदा आम विद्यार्थीहरु एक प्रकारको मानसिक तनाव रहेको पाइन्छ । यस महामारीले विद्यार्थीहरु मात्र नभई शिक्षा क्षेत्रसँग सम्बन्धित शिक्षकहरुमा पनि ठूलो समस्या देखिएको छ । सरकारी शिक्षकहरुले सरकारबाट आफ्नो परिश्रम वापतको रकम प्राप्त गरे पनि आफ्ना विद्यार्थीहरुको अध्ययन अध्यापनको विषयमा धेरै नै चिन्ता गर्ने गरेको देखिन्छ । त्यसैगरी निजी विद्यालयका शिक्षकहरु र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक र सामुदायिक क्याम्पसहरुका शिक्षकहरुमा यो महामारीको समयमा आफ्नो कार्यथलोबाट प्राप्त गर्ने गरेको आफ्नो पारिश्रमिक वापतको मासिक तलब, भत्ता नपाउँदा निकै सकसपूर्ण दैनिक चलाउन बाध्य रहको पाइन्छ । यस विषयमा सम्बन्धित निकायहरुको ध्यान जान जरुरी रहेको छ ।
हालको महामारीको प्रत्यक्ष प्रभावमा परेको क्षेत्र भनेको नै स्वास्थ्य क्षेत्र हो । नेपालीमा रहेको एउटा उखान अहिले समय सान्दर्भिक भएको छ । ‘स्वास्थ्य नै ठूलो धन हो ।’ पक्कै पनि मानिस स्वस्थ हुनु नै उसको लागि पहिलो ठूलो धन हो । हाल नेपाल लगायतका विश्वका राजा हुँ भन्ने राष्ट्रहरुमा पनि स्वास्थ सङ्कट आई परेको छ । यतिखेर सबै राष्ट्रको एउटै ध्यान आफ्ना जनताको स्वास्थ्य अवस्थालाई कसरी राम्रो पार्न सकिन्छ भन्नेतर्फ खिचिएको छ । आज विश्वका हरेक मानिसहरु आफ्नो स्वास्थ्यका लागि खानपानदेखि हरेक क्रियाकलापमा सजग हुने गरेको पाइन्छ । यस महामारीले मानिसमा केही सकारात्मक बानीको विकास गरेको छ । जस्तैः घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य रुपमा लगाउने, साबुन पानीले हात धुने, आफ्नो घर वरपरको वातावरण सफा राख्ने आदि ।
यो महामारीले प्रभाव पारेको अर्को क्षेत्र हो आर्थिक क्षेत्र । प्रत्यक्ष मानिससँग जोडिएको क्षेत्र भनेको नै अर्थ हो । मानिसका सम्पूर्ण आवश्यकताहरुको परिपूर्ति गर्ने भनेको नै अर्थले हो । जसका लागि मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा रोजगारीमूलक क्षेत्रमा सहभागी भएको हुनु पर्दछ । तर यस महामारीका कारण धेरै क्षेत्रहरुमा रोजगारी गुम्ने विभिन्न आँकालनहरु बाहिर आएको छ ।
नेपालको कुरा गर्ने हो भने नेपालको अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउँदै आएको वैदेशिक आम्दानीको ठूलो हिस्सा यो महामारीका कारण बन्द हुने देखिएको छ । बाहिर गएका युवाहरु धेरैको मात्र रोजगार विमुख भई स्वदेश फर्कने लहर चलेको छ । जसका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने अवस्था छ । अब नेपाल सरकारले स्वदेश फर्किएका युवाहरु र स्वदेशमा नै वर्षेनी ५ लाखको हारहारीमा श्रम बजारमा आउने गरेका युवाको लागि रोजगारमूलक कार्यक्रमहरुको सुरुवात गर्नुपर्ने देखिन्छ ।
आज विश्वमा हरेक देशको सामाजिक सांस्कृतिक मूल्यमान्यताहरु फरक–फरक रहेको छ । यो महामारीमा पश्चिममा देशहरुमा रहेको मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता सामाजिक सांस्कृतिक मान्यताहरुलाई पूर्वीय देशहरुले अङ्गाल्नुका साथै पूर्वीय देशहरुमा रहेको नमस्ते गर्ने, एक अर्कामा सामाजिक दूरी कायम राखी गफगाफ गर्ने, विभिन्न जङ्गली जडीबुटीहरुको सेवन गर्ने र योग, ध्यान, प्रणायाम गर्ने जस्ता बानीहरुको विकास विश्वका सबै मूलकका मानिसहरुले अङ्गाल्न थालेको पाइन्छ । यो महामारीले एक अर्काको सांस्कृतिक मूल्यमान्यताहरुलाई आदानप्रदानको माध्यम बनाएको छ । यसले समाजमा एक अर्का बीच सहिष्णुता कायम गरी असल मानव समाज बनाउन मद्दत गर्ने देखिन्छ ।
विश्वभर फैलिरहेको यो कोरना भाइरसका कारण विश्व राजनीतिमा नै ठूलो तरङ्ग पैदा भएको छ । आज विश्वसामु आफ्ना आधिपत्य जमाइरहेको अमेरिका जस्ता मुलुक सबैभन्दा बढी प्रभावित भैरहँदा विश्वबजारमा ठूलो छाल मारिरहेको चीन जस्ता देशले विश्वको शक्ति आफ्नो हातमा पार्ने त होइन ? भन्ने विभिन्न खाले आँकलन हुने गरेको पाइन्छ ।
यस समयमा कुन देशका नेतृत्व तहमा रहेका नेतृत्वकर्ताहरु साँच्चै जनताप्रति ईमानदार रहेछन् भन्ने कुराको पहिचान हुने समय आएको छ । आज हरेक देशमा नेतृत्व आफ्ना जनताको स्वास्थ्य स्थितिप्रति गम्भीर रुपमा लागेको पाईन्छ । तर विडम्बना हाम्रो नेतृत्व कतै पद र सत्ताको खिचातानीमा त लागीरहेका छैनन् । जनताले विचार गर्ने बेला आएको छ । झण्डै दुई तिहाईको कम्युनिष्ट सरकारको नेपाली जनताका माझ परीक्षाको समय आएको छ । परीक्षामा पास हुने वा फेल त्यो नेतृत्वको हालमा छ भने प्रतिपक्षको उपमा बोकेको नेपाली कांग्रेसको पनि यो विपतीको समयमा परीक्षा दिने समय आएको छ ।
कोरोना भाइरसका पछिल्लो तथ्याङ्कः
विश्वको तथ्याङ्कलाई हेर्ने हो भने भदौ ६ गते शनिबार दिउँसोसम्म दुई करोड ३० लाख भन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख भन्दा बढीको मृत्यु भएको छ । त्यसै गरी एक करोड ५० लाख भन्दा धेरैले कोरोनालाई जिते घर फर्केका छन् ।
नेपालको तथ्याङ्कलाई हेर्दा हालसम्म ३१ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक सय ४६ जनाको मृत्यु भएको छ । त्यसै गरी १८ हजार भन्दा बढीले कोरोना भाइरसलाई जितेर घर फर्कन सफल भएका छन् ।
महामारीका रूपमा विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्य विज्ञहरूले विभिन्न सुझाव दिएका छन् ।
– साबुन र तातोपानीले २० सेकेण्ड हात धुनु होस् वा स्यानिटाईजर प्रयोग गर्नुहोस् ।
– खोक्दा र हाछ्युँ गर्दा टिशु पेपरको प्रयोग गर्नुहोस् वा टिशू पेपर नभए बाहुला प्रयोग गर्नुहोस् ।
– हात नधोई आँखा, नाक र मुख नछुनुहोस् ।
– अस्वस्थ मानिसको नजिक नजानु होस् ।
– घरबाट बाहिर निस्किँदा मास्क अनिवार्य रुपमा प्रयोग गर्नुहोस् ।
– अतिआवश्यक बाहेका काम घरबाट बाहिर ननिसकनु होस् ।
– धुम्रपान र मद्यपानको सेवन बन्द गर्नुहोस ।
– सकभर शाकाहारी भोजन सेवन गर्नुहोस् ।
– विश्वासिलो र भर पर्दो समाचारहरु मात्रै अध्ययन गर्नुहोस् ।
यो विश्वव्यापी रुपमा फैलिरहेको महामारीको मुख्य सिकार भनेको २ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ रोग भएका मानिसहरु र गर्भवति महिलाहरु बन्न पुगेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । अरु बेला सधै एकाआपसमा जुटेर अघि बढ्ने गरेका थियौं भने कोरोना भाइरसले निम्याएको कोभिड १९ रोगसँग भने एकअर्कामा सामाजिक दूरी कायम गरेर अघि बढौं । सबैजनाले उच्च मनोबलका साथ आफुलाई कमजोर नबनाई यो महामारीसँग लडौं र जितौं ।
‘घरै बसौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।’