हेटौंडाः जेसीआई हेटौंडाले यस वर्षको जेसीज सप्ताह अनलाइनमार्फत नै आयोजना गर्ने भएको छ । आज अनलाइनमार्फत नै पत्रकार सम्मेलन गरेर सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी गराएको छ । सीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँले सातदिनसम्म हुने कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।

कोभिड–१९ को महामारीका कारण स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका बेला सतर्कता अपनाउँदै अनलाइनमार्फत नै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बनियाँले बताउनुभयो । जेसीआई हेटौंडाले जेसीज सप्ताहअन्तर्गत पहिलो दिन भदौ १३ गते देशव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको छ । बुद्धिचाल कार्यक्रमको संयोजकमा विकेशलाल श्रेष्ठ संयोजक रहनुभएको छ । यस्तै भदौ १४ गते पंकज दास बनियाँको संयोजकत्वमा परियोजना प्रस्ताव लेखन तालिम, भदौ १५ गते विवेक आनन्द न्यौपानेको संयोजकत्वमा अन्तरजेसीज व्यावसायिक अन्तरक्रिया कार्यक्रम, भदौ १६ गते प्रविन गुप्ताको संयोजकत्वमा अन्तरजेसीज वादविवाद प्रतियोगिता आयोजना हुँदैछ ।

जेसीज सप्ताह अन्तर्गत नै भदौ १७ गते लिसेन बस्नेतको संयोजकत्वमा खुल्ला गजल प्रतियोगिता, भदौ १८ गते राज खड्गीको संयोजकत्वमा मस्तिस्क एकाग्रतासम्बन्धी तालिम र जेसीज सप्ताहको अन्तिम दिन भदौ १९ गते अमृत बर्तौलाको संयोजकत्वमा अन्तरजेसीज वक्तृत्व कला प्रतियोगिताको फाइनल चरणको प्रतियोगिता हुने कार्यतालिका रहेको छ । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष पवनकुमार कंशाकार रहनुभएको छ भने उपाध्यक्ष विकेशलाल श्रेष्ठ सह–मूल कार्यक्रम संयोजक रहनुभएको छ ।