म्युजिक भिडियोमा नेपालको राष्ट्रिय जलाएको दृश्य ।

हेटौंडाः नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदलाई समेत बढावा दिने गरी म्युजिक भिडियो बनाउने क्यामरा पर्सनलाई काठमाडौंबाट प्रहरी पक्राउ गरेको जनाएको छ । सेतोपाटी अनलाइनमा प्रकाशित समाचारअनुसार मकवानपुरको बागमती गाउँपालिकामा छायाङ्कन गरिएको म्युजिक भिडियो खिच्ने क्यामरा पर्सनको नाम भने प्रहरीले खुलाएको छैन । महानगरीय प्रहरीले आज दिउँसो क्यामरा पर्सनलाई पक्राउ गरेको हो । प्रहरीले म्युजिक भिडियोका गायक र अन्य कलाकारलाई पनि खोजी गरिरहेको जनाएको छ ।

हिजो सोमबार अपलोड गरिएको म्युजिक भिडियो यो समाचार तयार पार्दासम्ममा दुई लाख ४० हजार भन्दा बढीले हेरिसकेका छन् । उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएसँगै म्युजिक भिडियो हेर्नेको संख्या पनि ह्वात्तै बढेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४, को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।