बाल मनोविज्ञान बुझेर रमाईलो वातावरणमा शिक्षा प्रदान गर्ने क्रममा आधुनिक प्रविधिको प्रयोग बहुउपयोगी बन्दै आएको छ । परम्परागत शिक्षण पद्दती आधुनिक बालबालिकाका लागि अनुपयुक्त हुँदै गएका छन् । शिक्षक भन्दा बालबालिकाहरु आधुनिक प्रविधिसँग बढी जानकार भइसकेका हुन्छन् । त्यसैले शिक्षकहरुले पनि आफुलाई प्रविधियुक्त बनाउनै पर्दछ । यसका लागि विद्यालयहरुले उपयुक्त वातावरण निर्माण गर्नु आवश्यक छ । प्रविधियुक्त जनशक्ती आफुसँग छैन भने विद्यालयले शिक्षकहरुलाई प्रशिक्षण गराउन अब बिलम्व गर्नु हुँदैन । आधुनिक शिक्षण विधिमा कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन गर्न सकिन्छ । यसका लागि शिक्षक स्वयम् जानकार हुनै पर्दछ । विद्यालयले प्रविधि भिœयाएर मात्र पनि हुँदैन । त्यसका लागि उपयुक्त अवस्था श्रृजना गराउनु आवश्यक छ ।

प्रविधिको प्रयोगले पठनपाठनलाई सहज, गुणस्तरीय र विश्वसनीय बनाउन सक्छ । विद्यार्थीको अभ्यासगत प्रस्तुती सहज र प्रभावकारी हुन्छन् । परम्परागत शिक्षण विधिमा किताबी ज्ञानमा मात्र सीमित हुँदै आएका विद्यार्थीले चासो र रुचिका थप विषयको खोजी गर्न सक्छन् । प्रविधिमा आधारित पढाईको दायरा धेरै फराकिलो हुन्छ । विद्यार्थीको सिर्जनात्मक क्षमता विकास र प्रस्तुतीमा सशक्तता ल्याउने गरेको पाईन्छ । कला, क्षमता र श्रृजनालाई लामो समयसम्म सुरक्षा गर्न पनि प्रविधिको उपयोग हुन्छ । तसर्थ देशका सबै विद्यालय प्रविधिमैत्रि बनाउनै पर्दछ । तर नेपाली शैक्षिक वातावरण नयाँ प्रविधिको उपयोग गर्ने अवस्थामा पुगेको देखिँदैन । समान शिक्षाको बालअधिकार संरक्षणका लागि अब राज्यले अग्रसरता लिन ढिला गर्नु हुँदैन ।

पछिल्लो समय नेपालका केही दुर्गम क्षेत्रका विद्यालयहरुले अध्यापनमा सुधार गर्दै लगेको अवस्था छ । अन्तर्राष्ट्रिय संघ, संस्थाहरुको सहयोगमा भएको प्रविधिको उपयोगले लामो समय निरन्तरता पाउन सक्दैन । संस्थाको कार्यक्रम सकिएपछि प्रविधिको उपयोग पनि सकिने गरेको छ । तसर्थ राज्यले नै प्रविधि प्रयोगमा उचित प्रवन्ध गर्नु अत्यावश्यक भएको छ । सरकारी विद्यालयहरुमा प्रविधिका लागि राज्यबाटै विशेष कार्यक्रम ल्याउनु पर्दछ । मुलुक संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहहरुले आफ्ना क्षेत्रका विद्यालयहरुलाई आर्थिक सयोग गरी शैक्षिक वातावरण सुधारको प्रयास गर्न थालेको पाइएको छ । यसैक्रममा हेटौंडा–१७ को बालवोध माध्यमिक विद्यालयलाई नेपाल दूरसञ्चार प्राधिकरण र प्रदेश सरकारले प्रविधिका लागि सहयोग गरेको छ । करिब २५ लाख रुपैयाँ लागतमा नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि प्रयोगशाला तयार पारिएको हो । प्रयोगशालामा २४ वटा कम्प्युटर जडान गरिएका छन् ।

प्रदेश सरकारको सहयोगमा विद्यालयका २० जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ भने अव उनीहरुले प्रोजेक्टरबाट मात्र पठनपाठन गर्नु पर्ने छ । केही सहरका सम्पन्न विद्यालयहरु आफैले प्रविधि उपयोग गरेका भए पनि सरकारी विद्यालयहरुलाई राज्यकै सहयोग आवश्यक छ । नीजि विद्यालयहरुले प्रविधिको प्रयोग गर्दै आएको अवस्थामा सामुदायिक विद्यालयलाई सरकारले सहयोग सुरु गरेको हो । सरकारी सहयोग भएमा सामुदायिक विद्यालयमा पनि प्रविधिको प्रयोग बढ्ने अवस्था छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आफ्नो प्रदेश भित्रका विद्यालयहरुलाई यस्तो सहयोग गर्ने नीति लिएको पाइएको छ । तर प्रविधि हस्तान्तरण मात्र पर्याप्त हुँदैन । यसलाई निरन्तरता दिन सक्नु चुनौतीपूर्ण कार्य हो । प्रविधिको सञ्चालन गर्ने जनशक्तिलाई प्रशिक्षणदेखि मर्मत र संरक्षणका लागि समेतको प्रवन्ध गर्न सक्नु पर्दछ । तब मात्र अध्यापनमा प्रविधिको सही प्रयोग हुन सक्छ ।