हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयको परिसर भित्र बहुउपयोगी कभर्डहल निर्माण कार्य सुरु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले बिहीबार एक कार्यक्रमका बीच कभर्डहलको शिलान्यास गर्नुभएको छ । प्रदेश प्रहरी भित्र आयोजना गरिने विभिन्न प्रशिक्षण, कार्यक्रमका साथै बिभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न समस्या भएकाले कभर्डहलको निर्माण गर्न लागिएको बताइएको छ ।
निकट भविष्यमै प्रहरी समायोजन पश्चात प्रदेश प्रहरी कार्यालयबाट प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य गर्नुपर्ने उल्लेख गर्दै विभिन्न उद्देश्यले आयोजना गरिने प्रहरीको प्रशिक्षण, सभा, गोष्ठी जस्ता आन्तरिक गतिविधीलगायत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज हुने प्रदेश प्रहरीको कार्यालयका अधिकारीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरिएको कभर्डहलको अनुमानित लागत ८४ लाख रहेको छ ।