युवाहरु परिचालन हुने सबैभन्दा महत्वपूर्ण क्षेत्र खेलकुद हो । तर राज्यले बनाउने नीतिदेखि बजेट विनियोजनमा समेत खेलकुदले सन्तोषजनक स्थान पाउन सकेको छैन । खेलकुदका लागि राज्यको समग्र बजेटको एक प्रतिशत माग हुँदै आए पनि राज्यले पुरा गर्न सकेको छैन । स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट आवश्यक हुन्छ तर खेल पूर्वाधार बनाई सवै नागरिकलाई खेलकुदमा आवद्ध गराउन सके स्वास्थ्यको बजेट स्वतः घट्दै जाने छ । यो वास्तविकता योजना बनाउनेदेखि कार्यान्वयनको जिम्मेवारी पाएका तहले बुझ्न आवश्यक छ । खेलकुद शारीरिक स्वास्थ्यदेखि मानसिक क्षमता विकासका लागि पनि महत्वपूर्ण क्षेत्र हो । यो वास्तविकता बुझेका देशहरुले खेलकुदलाई उच्च प्राथमिकता दिएका छन् ।

मुलुकमा गणतन्त्रको स्थापनापछि गठन भएका संघीयदेखि स्थानीय तहका सरकारहरुले बजेट बनाउन थालेपछि खेलकुद क्षेत्रमा बजेटको कोणबाट केही परिवर्तन हुन थालेको छ । तीनै तहबाट विनियोजन हुने बजेटको समग्र अंक हेर्दा ठूलो राशी देखिन्छ । तर बजेटको समग्रतामा अझै पनि एक प्रतिशत पुग्न सकेको छैन । यसले संघीय सरकार मात्र हैन कि प्रदेश र स्थानीय तहहरुले पनि औपचारिकताका लागि मात्र खेलकुदलाई स्थान दिएका छन् । जुन तहको नेतृत्वले नागरिक जीवनमा खेलकुद क्षेत्रको भूमिकालाई बुझेको छ उसले केही बढी विनियोजन गरेको पाईन्छ । तर जति बजेट छुट्याईएको हुन्छ त्यसको लागि स्पष्ट योजना देखिँदैन । बिना योजना कुनै पनि क्षेत्रले गति लिन सक्ने कुरै भएन । त्यसले बजेट मात्र भन्दा पनि खेलकुदको विकास र विस्तारका लागि स्पष्ट योजना हुनै पर्दछ ।

खेलकुदका लागि विनियोजन गरिएको बजेट पनि एकमुष्ट हुने गरेको छ । खेल क्षेत्रमा पनि फरक योजना र शीर्षक हुन्छन् । केही पालिकाहरुले भने अरु विषय जस्तै खेलकुदमा पनि शीर्षकहरु निर्धारण गरेका छन् । बिना शीर्षकको रकमलाई पालिका प्रमुखको तजविजमा मात्र खर्च गर्दा त्यसले खेलको भन्दा पनि स्वार्थगत विकास मात्र हुँदै आएको छ । यसैक्रमा हेटौंडा उपमहानगरपालिकाले भने विभिन्न शीर्षकमा चालु वर्षका लागि बजेट विनियोजन गरेको पाईन्छ । हेटौंडा उपमहानगरपालिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा योजनाहरुमा सामाजिक विकासतर्फ खेलकुद तथा मनोरञ्जनका लागि बजेट पेश भएको छ । यहाँ पनि खेलकुद आफैंमा पूर्ण शीर्षकका रुपमा छुट्याउन सकेको छैन । खेलकुदलाई मनोरन्जनसँग जोड्नु पर्ने विषय हुन सक्दैन ।

उपमहानगरपालिकाले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता, स्थानीय तह शहिद स्मृति राष्ट्रिय फुटबल, मेयर कप प्रतियोगिता, विभिन्न जिल्ला प्रतियोगितामा सहकार्य, खेलाडी सहभागिता तथा खेलाडी सम्मान र पुरस्कार लगायतका शीर्षकमा बजेट छुट्याइएको पाईएको छ । यस्तै व्यायामशाला तथा योगाभ्यास पूर्वाधार तथा खेल सामग्री सहयोग र मैदान तथा रंगशालादेखि कभर्डहल निर्माणका लागि विनियोजन हुनुले पालिकाको नेतृत्वमा खेलकुद प्रतिको चासो स्पष्ट देखिन्छ । अन्य क्षेत्रलाई छाडेर खेलकुद क्षेत्रमा मात्र बजेट हुनुपर्दछ भन्ने पटक्कै हैन तर नागरिक जीवनमा ठूलो महत्व राख्ने यस क्षेत्रमा पनि पर्याप्त बजेट हुनै पर्दछ । प्रत्येक वडा वा टोलमा खेल पूर्वाधारको विकास गर्ने, बालउद्यान, जीम खानादेखि भलिबल तथा व्याडमिन्टन कोर्ट लगायत सम्भव हुने कुनै न कुनै खेलको पूर्वाधार विकास गर्ने हो भने खेलाडी उत्पादनका अतिरिक्त नागरिकको स्वास्थ्यमा पनि परिवर्तन आउने छ । जसले स्वास्थ्य क्षेत्रको बजेटलाई न्यूनीकरण गर्ने छ ।