हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७६/७७ मा लागूऔषध ओसारपसारमा संग्लन १ सय ८७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये १९ जना भारतीय नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
अवैध रुपमा लुकाइछिपाई ल्याएको अवस्थामा प्रहरीले २ हजार ६ सय ४२ केजी ८६ ग्राम गाँजा, ४७ किलो ९ सय १० ग्राम चरेश र ७ किलो २५ ग्राम अफिम बरामद गरेको छ । मकवानपुर जिल्लामा गाँजा खेति भइरहेको र यसलाई रोक्न प्रहरीले विभिन्न कार्यहरु गरे तापनि अझै पनि कतिपय स्थानमा गाँजा खेतिलाई प्रमुख आयस्रोतका रुपमा लिइरहेको पाइन्छ । गत वर्षमा मात्रै प्रहरीले मकवानपुरको राक्सिराङ खैराङ र भार्तामा ५ सय ६३ विगाहा १९ कठ्ठामा लगाइएको गाँजा र ८९ विगाहा ११ कठ्ठामा अफिम नष्ट गरेको छ । उक्त कार्यका लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट २ हजार ३ सय ४८ प्रहरी खटिएका थिए ।
त्यस्तै प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याब्लेट २ हजार १ सय ५३, डाईजेपाम क्याप्सुल ५ सय ८४, ब्रुप्रोनोरोफिन ५ सय ७, फेनारगन ५ सय ८३, नोर्फिन क्याप्सुल ७० र कोरेक्स ४ सय ३८ बोतल बरामद गरेको प्रहरी नायव उपरिक्षक रानाले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७६/०७७ मा लागूऔषध ओसारपसार सम्बन्धी प्रहरी कार्यालयमा एक सय २४ वटा मुद्दा दर्ता भएका छन् ।