हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ३३ करोड ३५ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको भन्दा ७१ लाख ४८ हजार ४ सय २६ रुपैयाँले कम हो । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ३४ करोड ७ लाख १५ हजार रुपैयाँ रकम राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा उपमहानगरपालिकाले २९ करोड ३ लाख ७५ हजार राजश्व संकलनको अनुमान गरेको थियो ।
हेटौंडा उपमहानगरपालिको आयको मुख्य स्रोतमा ढुङ्गा, गिट्टी र बलुवाको विक्री रहेको छ । चालु वर्षमा उपमहानगर पालिकाले ढुङ्गा, गिट्टी, बालुवा विक्रिबाट १३ करोड ७५ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा ६ करोड ३ लाख रकम आर्थिक वर्ष २०७५/०७६ को असुल बाँकी रकम संकलन भएको हो । आर्थिक वर्ष २०७५/७६ मा हेटौंडा उपमहानगरपालिकाको ढुङ्गा, गिट्टी, बलुवा विक्रिको आयमा १८ करोड ४५ लाख संकलन अनुमान गरिएकोमा ११ करोड १६ लाख ८५ हजार रुपैयाँ रकम संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलना आर्थिक वर्ष २०७६/७७ मा ढुङ्गा, गिट्टी, बलुवाको विक्री कम भएको छ । विक्रीका लागि ठेक्का सम्झौता नभएकाले र लकडाउनले गर्दा समयमै ढुङ्गा, गिट्टी, बलुवाको उत्खनन् गर्न नसकिएकोले सो शीर्षकमा राजश्व संकलन कम भएको हेटौंडा उपमहानगरपालिका राजश्व प्रशासन शाखाकी प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो ।
संघीय सरकारले गत आर्थिक वर्षबाट स्थानीय तहलाई ढुङ्गा, गिट्टी, बलुवाको उत्खनन् गरेर विक्रि गर्ने अधिकार दिएको थियो । हेटौंडा उपमहानगरपालिकाले राप्ती नदिको प्रारम्भिक वातावरणय परीक्षण प्रतिवेदन (आईर्ई) प्राप्त १९ स्थानबाट ढुङ्गा, गिट्टी, बलुवाको उत्खनन् गर्दै आएको छ । उपमहानगरपालिकाले पालिकाका अन्य नदिबाट भने उत्खनन् गर्न पाएको छैन । आईईई प्राप्त भए पनि वडा नम्बर १६, १७ र १८ तथा मध्यवर्ती क्षेत्रमा पर्ने वडा नम्बर १२, १३ र १४ मा स्थानीय विकासलाई र वनलाई असर गर्ने भएकोले उत्खनन् अनुमती नभएको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा एकीकृत सम्पत्ति करबाट ४ करोड ७ लाख १४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड १६ लाख ९ हजार रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षमा घरवहाल करबाट २ करोड ३६ लाख ८२ हजार, सिफारिस दस्तुरबाट १ करोड, ७७ लाख ३४ हजार, वहाल विटौरी करबाट १ करोड ७१ लाख २० हजार, सिमेन्ट निकासी शुल्कबाट १ करोड ६६ लाख ५७ हजार, प्रशासनिक दण्ड जरिरवाना र जफतबाट १ करोड ४९ लाख ५० हजार रुपैयाँ रकम राजश्व संकलन भएको छ । त्यस्तै व्यवसाय रजिष्ट्रेशन दस्तुर १ करोड ४७ लाख ३१ हजार, नक्सापास दस्तुरबाट १ करोड ४६ लाख ९० हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १ करोड ४३ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको विभिन्न ३६ वटा आय शीर्षकहरुबाट राजश्व संकलन भएको हेटौंडा उपमहानगरपालिका राजश्व प्रशासन शाखाकी प्रमुख गंगा चौलागाईले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसको कारण उपमहानगरपालिकाको आय संकलनमा पनि प्रत्यक्ष असर परेको छ ।