विजन श्रेष्ठ, रोजगार संयोजक हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा १२ हजार बेरोजगारहरुले रोजगारीको लागि आवेदन दिएका थिए । अघिल्ला वर्षहरुमा उनीहरुले आवेदन दिए पनि करिब १ हजार व्यक्तिले मात्र हालसम्म रोजगारी पाएका छन् । अन्यले रोजगारी पाएका छैनन् । १२ हजार मध्ये ९ सय जनाको मात्रै रोजगार सूचना व्यवस्थापन प्रणाली (इएमआइएस) मा नाम दर्ता गरिएको छ । उनीहरुले मात्रै रोजगारी पाउने र अन्यले नपाउने भएका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाले रोजगारी दिन नसकेको कुनै पनि व्यक्तिलाई बरोजगार भत्ता उपलब्ध गराउन सकेको छैन । चालु वर्षमा पनि बेरोजगार युवाहरुले रोजगारीकाका लागि हेटौंडा उपमहानगरपालिकामा आवेदन दिन सक्ने भएका छन् । यसै सन्दर्भमा रहेर हेटौंडा उपमहानगरपालिका रोजगार संयोजक विजन श्रेष्ठसँग समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः

समाजः हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कति बेरोजगारहरुलाई रोजगारी दिएको छ ।
श्रेष्ठः गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले रोजगार आवदेन फार्म भरेको र रोजगार सूचना प्रणालीमा नाम प्रविष्ट गरिएका ४ सय ८० जनालाई रोजगारी दिन सकेको छ । प्रधानमन्त्री रोजागार कार्यक्रम अन्तर्गतका योजनाहरु ढिला सुरु भएका कारण यतिलाई मात्र यो पटक रोजगारी दिन सकिएको हो ।

समाजः हेटौंडा उपमहानगरपालिकामा बेरोजगारहरुको यकिन संख्या कति रहेको छ ?
श्रेष्ठः हामीसँग गत वर्ष फारम भरेका १२ हजार बेरोजगार छन् । जसमध्ये सूचीकृत लगभग ६ सय जना रहेका छन् । । गत वर्षको चैत्रमा बन्दाबन्दी कारणले गर्दा बेरोजगार व्यक्तिहरुले फारम भर्न पाएनन् । अब यही साउन ८ गतेबाट भदौ ७ गतेसम्म बेरोजगार फारम भर्न सुरु हुदैछ । अहिलेको यकिन तथ्यांक भन्दा पनि हामीसँग पुरानै तथ्यांक छ । आउँदो भदौमा भने हेटौंडा उपमहानगरपालिकाका भित्रका बेरोजगार व्यक्तिहरुको यकिन संख्या भन्न सकिन्छ ।

समाजः साउन ८ गतेदेखि भदौ ७ गतेसम्म बेरोजगार फारम भर्न सकिन्छ भन्नुभएको छ । उपमहानगरमा पुरानै निवेदन दिएकाहरुले रोजगारी पाएका छैनन् नि ?
श्रेष्ठः सबैले रोजगारी पाएका छैनन् । हामीले चाहि अलि गरिब, काम गर्न जो कहिले पनि गएको छैन र जसको परिवारमा कसैको रोजगारी छैन उनीहरुलाई छानेर मात्र रोजगारी दिएका हौं । श्रमिकस्तरका मानिसहरुलाई छानेर यसपालि रोजगारी दिएका छौं । फारम भर्ने मान्छेहरु पनि धेरै छन् । यसमा हामीले रोजगारी दिन सकेनौं । काम गर्न सक्ने मानिसहरुलाई अलि पारिश्रमिक कम पनि छ । सामान्यता दैनिक ८ सयका दरले काम गर्नेहरु छन् तर सरकारी दररेट अनुसार ६ सयमा काम गर्नुपर्ने हुन्छ । यसकारण हामीले त्यो अवधिभित्र काम गर्ने फारम भरेका अलि गरिब परिवारहरुलाई छानेर काम गर्न लगाएका थियौं ।

समाजः गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको कति योजना सम्पन्न भयो ?
श्रेष्ठः अघिल्लो वर्षमा हेटौंडा उपमहानगरपालिकामा ७५ लाखको बजेट आएको थियो । जसमध्ये हामीले ७३ लाखको काम गरेका थियौं । हेटौंडाका टाढा टाढाका वडाहरुमा जम्मा ९ वटा योजना रहेको थियो । योजनाहरु हामीले विकट क्षेत्रमा गर्‍यौं । हेटौंडाको वडा नम्बर १, २, ३, ४, ६, ७, १२, १३, १४, १५, १८ र १९ नम्बर वडाहरुमा थिए ।

समाजः रोजगार सूचना व्यवस्थापन प्रणाली (इएमआईएस) मा हालसम्म कति जनाको नाम प्रविष्ट भएको छ ?
श्रेष्ठः अहिलेसम्म लगभग ९ सय जना जतिको प्रविष्ट भएको छ । अन्यको हुने क्रम जारी छ । त्यसमध्ये पूरा स्वीकृत चाहि ५ सय जनाको भएको छ । प्रविष्ट नभएकाहरुले रोजगारी पाउँदैनन् । गत वर्षमा पनि हामीले सूचना प्रणालीमा प्रविष्ट गरेकाहरुलाई मात्र रोजगारी दिएका थियौं ।

समाजः हेटौंडा उपमहानगपलिकाले १ सय दिनको रोजगारी प्रदान गर्न नसकेको कति जनालाई बेरोजगार भत्ता वितरण गरेको छ त ?
श्रेष्ठः बेरोजगार भत्ता अहिलेसम्म हेटौंडा उपमहानगरपालिकाले कसैले दिएको छैन । बेरोजगार भत्ता हाम्रो यो भन्ने कुरा हो । सबैलाई बेरोजगार भत्ता दिन सकिँदैन नै । अब एक चरणको अनुगमन चाहि हुन्छ । साच्चीकै बेरोजगार हो, गरिब परिवारमा हो, त्यसमा परिवारका कसैले काम गर्न सक्दैनन् भने त्यस्तो खालको मान्छेलाई मात्र बेरोजगार भत्ता दिने योजना बनाउदैछौं ।

समाजः बेराजगार आवेदन फारम भर्नेहरुलाई अहिले के काममा लगाएका छौं ?
श्रेष्ठः हामीले अहिले बेरोजगारलाई तीन किसिममा बाँडेका छौं । एउटा शैक्षिँक बेरोजगार बढी छन् । उनीहरुका लागि अहिलेसम्म केही कार्यक्रम गरेको छैन । त्यसका लागि केही योजनाहरु आएको छैन । अर्को भनेको सीप जानेको बेरोजगार । उनीहरुका लागि नयाँ नयाँ ठाउँहरुका लागि केही गर्न सकिएको छैन । उनीहरु डकर्मी जानेकालाई आयोजनाको काममा लगाउँछौं । अर्काे भनेको श्रमिकस्तरको जसले पढे, लेखेको नभएको काम गर्न पनि नजानेको श्रमिकका रुपमा काम गर्न जानेको उनीहरुलाई भने हामीले रोजगारी दिएका छौं । सडक निर्माण, नाला सरसफाइ, पार्क निर्माण, वृक्षरोपण लगायतका काममा हामीले उनीहरुलाई लगाएका छौं ।

समाजः हेटौंडा उपमहानगरपालिकामा विगतका अनुभवबाट सिकेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन के–के गर्नुपर्छ ?
श्रेष्ठः प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन योजनाहरुको बजेटहरु आर्थिक वर्षको अन्तिममा नभई अहिले यो आर्थिक वर्ष सुरु भैसकेको अवस्था छ । यस आर्थिका वर्षको सुरुमा पठायो भने काम गर्न सहज हुन्छ । हतारमा काम गर्नुपर्ने हुदैन । एक सय दिनको नै रोजगारी दिन सकिन्छ । श्रमिकलाई मात्र नभई अन्य बेरोजगार व्यक्तिहरुलाई पनि काम दिन सक्यौं भने यो अझ प्रभावकारी हुन्छ ।