मनहरी गाउँपालिका–९, ज्यामिरे सिरानमा राप्तीखोलामा आउने बाढीको प्रभाव रोक्न निर्माण गरिएको बाँध ।

मनहरीः मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ६८ दशमलब २६ प्रतिशत रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले कुल ७४ करोड ३७ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ५० करोड ७७ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख दीपकराज मिश्रले जानकारी दिनुभयो । विनियोजित बजेट मध्ये २३ करोड ६० लाख ४८ हजार रुपैयाँ बहुवर्षीय योजनाहरु मार्फत चालु वर्षमा सरेको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाले गत आर्थिक वर्षमा पुँजिगत खर्च ४१ करोड ८५ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये पुँजि तर्फ २५ करोड १ लाख २ हजार रुपैयाँ (५९.९४ प्रतिशत) खर्च भएको गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख मिश्रले बताउनुभयो । यस्तै चालुतर्फ गाउँपालिकाले ३२ करोड ५१ लाख ८८ हजार रुपैयाँ विनियोजन भएकोमा २५ करोड ६८ लाख २४ हजार रुपैयाँ (७८.९८ प्रतिशत) खर्च भएको छ । भौतिक प्रगतितर्फ गाउँपालिकामा ३ सय ६७ वटा योजनाहरु सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकामा उपभोक्ता समिति मार्फत सञ्चालन भएर ३ सय ३७ वटा योजनाहरु सम्पन्न भएका छन् भने ठेक्का मार्फत ३० वटा योजनाहरु सम्पन्न भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षका लागि भौतिक पुर्वधारतर्फ २० करोड २१ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा भौतिक प्रगतितर्फको सम्पूर्ण बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७६\०७७ मा चुरे संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । जसमा गाउँपालिकाले १५ स्थानमा चुरेको खहरेहरु नियन्त्रण गर्न तटबन्ध लगाएको छ । त्यस्तै गाउँपालिकाले स्थानीय सडक, सिञ्चाई र तटबन्दमा १६ वटा योजनाहरु गाउँपालिकाको ६० प्रतिशत लागतमा र स्थानीयको ४० प्रतिशत लागतमा योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकामा गत आर्थिक वर्षमा खानेपानी, सडक, पुल निर्माण, सिञ्चाई, खेलमैदान निर्माण, वन तथा वातावरण संरक्षण, विद्यालय तथा सामुदायिक भवन निर्माण, मन्दिर तथा पर्यटकीय पूर्वाधार निर्माण लगायतका कार्यक्रमहरु सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ