हेटौंडाः सोमबार मकवानपुर जिल्लाका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बागमती गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडास्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
बहराइनबाट मकवानपुर आएका बागमती गाउँपालिका–८ का ४४ वर्षीय पुरुष र वीरगन्जको मारुती औषधि कम्पनीमा काम गर्ने हेटौंडा–११ का ३४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै मनहरी–८ का ३७ वर्षीय एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु सबैको किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।