हेटौंडाः तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता एक महिनापछि हुने भएको छ । कमाने क्रिकेट क्लबको आयोजनामा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको हो ।
सोमबार बसेको कमाने क्रिकेट क्लबको कार्यसमिति बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिता हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा हुने अध्यक्ष खत्रीले बताउनुभयो ।
कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मंगलबारबाटै टिम दर्ता प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको अध्यक्ष खत्रीले बताउनुभयो । गत वर्षजस्तै यस वर्ष पनि प्रतियोगितामा कमानेभित्रका ६ देखि ८ वटा टिमहरुको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो ।
लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिता १० ओभरमा खेलाइने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रत्येक टिमले १ जना बाहिरी खेलाडीलाई पनि सहभागी गराउन पाउने गरी खेल सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहनेछ ।
कमानेभित्रका खेलाडीहरुको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबीच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा पु¥याउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागेको उहाँले बताउनुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बैठकले विभिन्न विषयमा छलफल गरेको उहाँले बताउनुभयो ।
गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो । फाइनल खेलमा पहिलो संस्करणको प्रतियोगिताको विजेतासमेत रहेको कमाने हन्टर्सलाई ९ विकेटले हराउँदै राइडर्सले उपाधि चुम्न सफल भएको थियो । यस वर्ष भने क्लबले पुरस्कार राशिको रकम बढाएको उहाँले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान र सर्वोकृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।