हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न भएको छ । सिमात बुद्ध कराँते डोजोको आयोजनामा गाउँपालिको कालिका आधारभूत विद्यालयको प्राङ्गणमा खुला कराँते प्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालिकाको ११ नम्बर वडा कार्यालयको प्रायोजनमा सम्पन्न भएको प्रतियोगितामा छतिवन कराँते डोजो टिमले उपाधि जितेको छ । ७ वटा स्वर्ण, ५ वटा रजत र १ काँस्य पदक प्राप्त गर्दै उपाधि जितेको टिमले ट्रफी तथा खेलाडीले प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको हात्तीसुँडे कराँते डोजो टिमले ७ स्वर्ण, १ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । ३ वटा स्वर्ण, ९ वटा रजत र ९ वटै काँस्य पदक जितेको आयोजक सिमात डोजो टिम तृतीय स्थानमा परेको छ ।
प्रतियोगिताको समापन समनरोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउन प्रयास गर्ने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडीको पहिचानलाई बढाएर राज्यले राम्ररी व्यवस्थापन गर्न नसकेको भन्दै उहाँले आफ्नो कार्यकालमा खेलाडीहरुको पहिचान र विकासका लागि काम गर्ने विश्वास दिलाउनुभयो ।
मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको उहाँले बताउनुभयो । मन्त्री महर्जनका अनुसार मकवानपुरले खेलकुद क्षेत्रको इतिहास बोकेकाले खेलकुद क्षेत्रको विकासको लागि सक्दो पहल गर्ने प्रष्ट पार्नुभयो ।
गाउँपालिकामा कराँते खेलको विकास गर्न, खेलाडीहरु उत्पादन गर्न, खेलाडीलाई राष्ट्रिस्तरमा पु¥याउन र खेलको महत्व बुझाउनका लागि प्रतियोगिता आयोजना गरेको अयोजकले जानकारी दिएको छ । गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङको सभाध्यक्षमा प्रतियोगिताको पुरस्कार वितरण समारोह भएको हो ।