हेटौँडाः चितवनको रत्ननगर नगरपालिका–१३, जयमँगलामा गैंडाको आक्रमणबाट घाइते वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेर १० मिनेटको समयमा गैंडाको आक्रमणबाट ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका–१६, का डम्मर बहादुर थापा, ७० वर्षीया कृष्णा कुमारी थापा, रत्ननगर नगरपालिका–१२, का ७२ वर्षीय चेतनाथ चौलागाइ, ३९ वर्षीया सीता, पोख्रेल, २५ वर्षीया पुजन बिक र रत्ननगर नगरपालिका–१४ की ६० वर्षीया मिना गुरुङ घाइते भएका थिए । घाइते ५ जनालाई उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको छ भने एक जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार लगिएको थियो । घाइते कृष्णा कुमारी थापाको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गैंडाले सोहि स्थानमा रोकी राखेको बा ५ च ९३१९ नम्बरको कारमा समेत क्षति पुर्याएको छ ।