नेपाली काँग्रेसका नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको मितिले एक सय दिन पुगेको सन्दर्भमा मुख्यमन्त्री लामाले झण्डै दुई साता ढिलो गरी एक सय दिनको उपलब्धी बुधबार सार्वजनिक गर्नुभयो । मुख्यमन्त्रीसँगै मन्त्रीहरुले पनि आआफ्नो मन्त्रालयमार्फत भएका कामको प्रगति विवरण प्रस्तुत गर्न भ्याएका छन् । एक सय दिनको प्रगति प्रस्तुत गर्ने पनि आआफ्ना शैली देखियो । मुख्यमन्त्रीले मन्त्रीहरु राखेर अटसमटस गरेर प्रगति विवरण प्रस्तुत गर्नुभयो भने केही मन्त्रिले कर्मचारीमार्फत समाचार लेखाएर आफ्नो प्रगति विवरण सार्वजनिक गर्न भ्याए ।

सामान्यतया नयाँ सरकार गठन हुनु भनेको नयाँ कामको थालनी गर्नु हो भन्ने बुझाईका आधारमा सुरुवाती एक सय दिनमा सरकारले गरेको कामका आधारमा त्यो सरकारको कार्यकाल कस्तो हुन्छ भनी मूल्यांकनको अवसर समेत हुनेछ । अझ भन्ने हो भने सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीले नै आफ्नो सुरुवाती एक सय दिनको उपलब्धीलाई गौरवका साथ प्रस्तुत गर्दै बाँकी अवधि पनि प्रभावशाली हुने सन्देश आम नागरिकमा प्रस्तुत गर्ने अवसरको रुपमा लिने गरिन्छ । अवधारणा र अभ्यास उस्तै हुन कठिन हुन्छ । तसर्थ एक सय दिन सरकारको कामको विषयलाई लिएर समीक्षा हुनु जरुरी छ ।

राजनीतिशास्त्री कृष्ण खनालले त एक सय दिन निर्वाचनबाट निर्वाचित सरकारको सन्दर्भमा मात्रै लागु हुने बताउनुहुन्छ । संघीय सरकारको एक सय दिनको कार्य प्रगति सार्वजनिक हुँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा राजनीतिशास्त्री खनालले ताजा जनमतबाट गठन भएको सरकारको सन्दर्भमा मात्रै एक सय दिनको अर्थ हुने दावी गर्नुहुन्छ । गणितीय लाभ हानीका आधारमा परिवर्तन भइरहने सरकारको एक सय दिनको अर्थ नहुने खनालको स्पष्टोक्ति छ । यस्तो सन्दर्भमा एक सय दिनको उपलब्धीको चर्चाको औचित्य के होला ?

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो एक सय दिन एकजना बिना विभागीय मन्त्रीसहित बिताउनुभयो । मुख्यमन्त्री लामाको एक सय दिनको यो भन्दा ठूलो अर्को के उपलब्धी हुन सक्ला ? राजनीतिमा आफ्नो दल र समूहको स्वार्थका लागि बिना विभागीय मन्त्री एक सय दिनको अवधिसम्म कायमै राख्नु, एक सय दिन पूरा भए लगत्तै तिनै बिना विभागीय मन्त्रीलाई पद दिलाउन मन्त्रालय फुटाउने निर्णय गर्नु जनमतको उच्च सम्मान गर्ने उपलब्धी नै त होला नि । मुख्यमन्त्री, प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले गरेको कामको समष्टी र प्रमुख विषय सार्वजनिक गर्नु हो । तर, यहाँ त घरमुलीले घरको प्रगति प्रस्तुत गरेपछि ढोका, झ्याल, बार्दली, करेसा, गोठमा रहने सबैले आआफ्ना प्रगति विवरण प्रस्तुत गर्नु कत्तिको औचित्यपूर्ण रहला ?

सरकारले जनताको काम गर्ने आँट नै गर्न सकेको छैन । अहिले त नेता, कार्यकर्ताको नभई लाभ दिने नेता र कार्यकर्ताकै काम गरेर नसकिने अवस्थामा आम जनताको काम गर्ने अवस्था न मन्त्रीको छ न मन्त्रीको कामको मूल्यांकन गर्ने अवस्था जनताको छ । एक सय दिन होइन हरेक दिनलाई प्रभावकारी र उपलब्धीमूलक बनाउन जिम्मेवार हुने अठोट मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिवसँगै जिम्मेवार सबै तहकाले जिम्मेवार भएर काम गर्नु जरुरी छ । प्रगति विवरण चैं आफैंले बोल्नु भन्दा आम नागरिकबाट स्वतःस्फूर्त प्राप्त हुने अवस्था सिर्जना गर्न सक्नुपर्छ ।