हेटौंडाः बारा जिल्लाको निजगढ नगरपालिकामा आँखा अस्पताल सञ्चालनमा आएको छ । निजगढ नगरपालिका–९ मा तयार भएको आँखा अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार उद्घाटन गर्नुभयो । निजगढ नगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा करिब १९ करोड लागतमा आँखा अस्पताल निर्माण गरिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।

आँखा अस्पतालको उद्घाटन कार्यक्रममा डा. सन्दुक रुईतको पनि उपस्थिति रहेको थियो । अष्ट्रेलियाको फ्रेड होलोज फाउण्डेशनको सहयोगमा २ वर्षको अवधीमा तयार भएको निजगढ आँखा अस्पतालमा वरिष्ठ नेत्र स्वास्थ्य विशेषज्ञको नेतृत्वमा आकस्मिक र बहिरंग सेवाका साथै शल्यक्रिया सेवा समेत प्रदान गरिने प्रबन्धक श्रेष्ठले बताउनुभएको छ ।

अस्पतालमा चश्मा र औषधी विक्री गरिने उहाँले बताउनुभयो । अनौपचारिक रुपमा सेवा सुरु गरेकको आँखा अस्पतालमा करिब ४ हजार ५ सय जनाले बहिरंग सेवा लिएका र ३ सय २४ जनाले आँखाको शल्यक्रिया गराइसकेको उहाँले बताउनुभयो ।

मधेश प्रदेशमा आँखाका रोगीको संख्या उल्लेख्य रहेकाले निजगढलाई उपयुक्त स्थान मानेर हेटौंडाको सामुदायिक आँखा अस्पतालकै ढाँचामा अस्पताल निर्माण गरिएको उहाँले बताउनुभयो । अस्पतालको भवन र आवश्यक उपकरण खरिद तथा जडानसमेत गरी कुल १९ करोड रुपैयाँ खर्च भएको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभएको छ ।