हेटौँडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदमा आशावीर बललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनमा बललाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ ।
आइतबार रास्वपाको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले बललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रबाट रविन प्रधानलाई अध्यक्षको उम्मेदवार बनाउने निश्चित भइसकेको छ । यसअघि २०७९ सालमा भएको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित हुनुभएपछि हेटौँडा–१२ को वडाअध्यक्ष रिक्त रहेको थियो । कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी ज्ञानबहादुर श्रेष्ठले सम्हाल्दै आउनुभएको छ ।