सामान्यतः असोज महिनामा बाढी, पहिरोका घटना हुने अनुमान गरिन्न । असार, साउन, भदौ महिना वर्षा मौसम भएकोले यही समयमा बाढी, पहिरोको जोखिम रहने अनुमान गरिन्छ । तर, यो वर्ष नेपालको मुख्यतः बागमती प्रदेश र कोशी प्रदेशमा बाढी, पहिरोले ठूलो क्षति पुर्यायो । बागमती र कोशी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षासँगै मधेश प्रदेशका समथर भुभाग डुवानको समस्या देखियो । असोज १०, ११ र १२ गते तीनदिनको भारी वर्षाले ठूलो क्षति पुर्यायो । मकवानपुर जिल्लामा पनि ठूलो जनधनको क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पालिकासँग विवरण संकलन गरेर करिब एक अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको, मकवानपुर जिल्लामा बाढी, पहिरोमा परेर १० जनाको मृत्यु भएको र थप ५ जनाको शव बरामद भएको जनाएको छ ।

बाढी पहिरोमा परी मकवानपुर जिल्लामा १२० वटा घर पूर्णरुपमा क्षति भएको, १८३ वटा घरमा आंशिक क्षति पुगेको तथ्यांक संकलन गरिएको छ । जिल्लाभित्रका राजमार्गका ५१ ठाउँमा क्षति पुगेको, पक्की तथा झोलुङ्गे पुल १६ वटामा क्षति पुगेको छ । यस्तै २३ हजार ७९ रोपनी क्षेत्रफलको खाद्यान्नबालीमा क्षति पुगेको छ भने ४ हजार १ सय ३६ वटा पशुचौपाया मरेको तथ्यांक स्थानीय प्रशासनले तयार पारेको छ । सडक पूर्वाधारमा पुगेको क्षति असाध्यै धेरै र गम्भीर रहेको छ । वर्षा सकिएर वर्षकै प्रमुख चाडपर्व मनाउने तरखरमा रहेका बेला भारी वर्षासँगैका बाढी र पहिरोबाट पुगेको क्षति अकल्पनीय छ । यद्यपि मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन भित्रनु अघि नै भारी वर्षाको पूर्वानुमानसहित त्यसले ठूलो क्षति पु¥याउन सक्ने आँकलन गरेकै थियो ।

असोज १०, ११ र १२ गते भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै मौसम पूर्वानुमान महाशाखाले लामो दूरीको यात्रा नगर्न, रात्री बस सञ्चालन नगर्न, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानमा रहन आग्रह गरेकै थियो । यसका बाबजुद पनि ठूलो क्षति हुनु दुखद् अवस्था हो । असोज दोस्रो साताको भारी वर्षाका कारण बाढी, पहिरोमा परेर देशभर झण्डै ३ सय मानिसको मृत्यु भयो । यसरी बाढी र पहिरोले पु¥याएको क्षतिलाई मनसुन बाहिरिएपछि बिर्सने अवस्था रहनुहुन्न ।

बाढी, पहिरो जस्ता विपद्को विषयमा पूर्वानुमान गर्न सकिने आजको समयमा यत्ति ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहनुका कारणहरु पहिल्याउनु जरुरी हुन्छ । सामान्यतः जोखिमको मूल्यांकन गरेर मात्रै आवासीय संरचना निर्माण र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई बेवास्ता गर्नु पनि यत्ति ठूलो क्षतिको भागिदार हुनु पर्ने अवस्था हो । आवासीय सुरक्षाका मापदण्डलाई स्थानीय सरकारहरुले सक्दो पालना गराउनेतर्फ ध्यान दिने हो भने यस किसिमको क्षति व्यहोर्नुपर्ने अवस्था नआउन सक्छ । नेपालको भू–वनोटका आधारमा पनि बाढी र पहिरोबाट क्षतिको जोखिम रहने यथार्थलाई बुझेर हरेक व्यक्तिदेखि राज्यका निकाय जिम्मेवार भएर काम गर्न प्रतिवद्ध हुनुपर्छ ।

मकवानपुर जिल्लाको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिकासँगै पूर्वतर्फ बकैया र बागमती गाउँपालिकामा बढी क्षति पुगेको छ । यी क्षेत्रको पुनर्निर्माणमा सरोकारवालाले जिम्मेवार भएर काम गर्ने अवस्था सुनिश्चित हुनुपर्छ । यसअघि २०७२ सालको भूकम्पपछि सुरक्षित आवासका लागि प्रभावकारी नीतिको विषयमा निक्कै चर्चा भएको हो । तर, जसरी भूकम्पको कम्पन घट्दै गयो सुरक्षित आवासको चर्चा सेलाउँदै गयो । असोज दोस्रो साताको बाढीको सन्दर्भमा एक साताअघिदेखि नै पूर्वानुमान गरिएका कारण पनि मकवानपुरमा १ सय २० घर पूर्णरुपमा क्षति हुँदा पनि मानवीय क्षति भने न्यून मात्रै रहेको देखिन्छ । सम्भावित जोखिमको पूर्वानुमान पछि भागेर जोगिने भन्दा पनि जोखिमको सामना नै गर्न नपर्ने गरी आवास तथा पूर्वाधार विकासमा गम्भीर भएर, जिम्मेवार भएर सबैले आगामी दिनमा काम गर्ने अठोट लिनु जरुरी छ । यो वर्षको मनसुन सकियो भनेर सुरक्षित आवासको मुद्दालाई बिर्सने अवस्था नहोस् ।