पदक विजेता खेलाडीसहित मकवानपुर जिल्लाका तेक्वान्दो खेलका प्रशिक्षक तथा पदाधिकारीहरु ।

हेटौंडाः कोरियन एम्बासडर खुल्ला तेक्वान्दो प्रतियोगितामा मकवानपुर जिल्लाका सोहन गुरुङ र कविना राईले स्वर्ण पदक जित्न सफल भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंको ललितपुरमा शुक्रबार सुरु भएर सोमबार सम्पन्न भएको प्रतियोगितामा मकवानपुरबाट सहभागी भएका १६ जना खेलाडी मध्ये पुम्से विधामा गुरुङ र राईले स्वर्ण पदक जित्दा बाँकी ८ जनाले खेलाडीहरुले कास्य पदक जित्न सफल भएका हुन् ।

प्रतियोगितामा मकवानपुरबाट सहभागी भएका आरम्भ माझी, पाउलसन दर्नाल र सुहान गुरुङले पुम्से विधामा कास्य पदक जितेका छन् । सुजिता माझी, असीम रन्जितकार, रोशनी कार्की, अमन माझी र श्रीजन कुँवरले कास्य पदक जितेको जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको छ । खेलाडीहरुको प्रतिनिधित्व गरेर टिमकोचको रुपमा बिमल विक जानुभएको थियो ।

प्रतियोगितामा ७ प्रदेशको करिब १ हजार २ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल र कोरियाबीचको सम्बन्ध स्थापित भएको ५० औं वार्षिकोत्सवको अवसरमा तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको हो ।