हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, कुइँकेलचोकमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार साँझ ८ बजेको समयमा मंगलपुरबाट कुइकेलचोकतर्फ जाँदै गरेको ना २७ प ७५८२ नम्बरको स्कुटर पार्किङ गरी राखेको ना ७ प ३७९१ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा परी स्कुटर चालक भरतपुर–१५ की २० वर्षीया सुस्मा पाण्डे घाइते भएकी थिइन् । पेटमा रगत जमेको र कलेजोमा गहिरो चोट लागेर गम्भीर भएकी पाण्डेलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान २ बजेर १६ मिनेटको समयमा पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।