हेटौँडा : निरज श्रेष्ठ स्मृति यु–१६ जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिता बुधबारबाट हेटौँडामा सुरु भएको छ । हेटौँडा–४, हुप्रचौरमा सुरु भएको प्रतियोगिता बैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला क्रिकेट संघले यु–१६ खेलाडीलाई सूचीकृत हुन आव्हान गरेअनुसार सहभागी ६१ जना खेलाडीबाट ५ वटा टिम तयार पारेको छ ।
मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्राको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देलले आगामी आर्थिक वर्षको बजेटमा हुप्रचौरको क्रिकेट केजको मर्मत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष बासुलाल श्रेष्ठ, हेटौँडा स्कूल अफ म्यानेजमेनटका प्रिन्सीपल पुरनबहादुर जोशीको पनि आतिथ्य रहेको थियो ।

बुधबार उद्घाटन खेलमा पहेँलो समूहले रातो समूहलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको रातो समूहले १९ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्रै बनाउन सफल भयो । जवाफी व्याटिङमा उत्रिएको पहेँलो समूहले ११ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । बुधबारको दोस्रो खेलमा निलो समूह र सुन्तला रंग समूहबीच खेल भइरहेको छ । जिल्ला स्तरीय छनोट प्रतियोगितालाई राउण्ड रोविन प्रणालीमा खेलाइएको मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
सचिव बानियाँका अनुसार छनोट प्रतियोगिता भएकाले खेलाडीले बढीभन्दा बढी खेल्ने अवसरका लागि राउण्ड रोविन प्रणालीमा खेलाइएको हो । ५ वटा समूहले एकआपसमा खेल्नेछन् । पाँच वटा समूहमा रातो समूहको कप्तान रोहित ठाकुर, हरियो समूहको कप्तान आदित्य पटेल, निलो समूहको कप्तान आशिक अधिकारी, सुन्तला रंग समूहको कप्तान मोहम्मद ओशिन र पहेँलो समूहको कप्तान शिवशक्ति महतो रहेका छन् ।

छनोट प्रतियोगितापछि यु–१६ जिल्ला टिम तयार हुनेछ । यु–१६ जिल्ला टिमले जेठ २ गतेदेखि काठमाडौंमा हुने प्रादेशिक छनोट प्रतियोगिता खेल्नेछ । छनोट प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको सचिव बानियाँले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि सहभागी खेलाडीबाट नाम दर्ता वापत प्रतिखेलाडी एक हजार रुपैयाँका दरले ६१ हजार रुपैयाँ संकलन भएको छ । नेपाल क्रिकेट संघले ३० हजार रुपैयाँ, देशविदेशमा रहेका मकवानपुरका पूर्वक्रिकेट खेलाडीबाट एक लाख रुपैयाँ, जनकपुर बोल्ट्सले १५ हजार रुपैयाँ सहयोग गरेको सचिव बानियाँले बताउनुभयो । सचिव बानियाँकै संयोजकत्वमा जिल्लास्तरीय छनोट प्रतियोगिता भएको हो ।










