हेटौँडा : नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा प्रदीप अर्याल चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला पार्टी कार्यालयमा बुधबार बसेको बैठकले अर्यालको अध्यक्षतामा सर्वसम्मत ७५ सदस्यीय नगर कमिटी चयन गरेको निवर्तमान अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिनुभयो ।
गत पुस २० गते नगर सम्मेलन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रले ४ महिनापछि बल्ल नेतृत्व चयन गरेको हो । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका कमिटीको उपाध्यक्षमा गुणराज घिमिरे (शंकर), शोनी गुरुङ र लवराज ठकुरी चयन हुनुभएको छ । सचिवमा तारादेवी मोक्तान, सहसचिवमा चमेलीमाया सिंजाली, कोषाध्यक्षमा गोकुल वैज्यु चयन हुनुभएको छ । नवनिर्वाचित कमिटीले १६ जना सदस्य मनोनित गर्नेछ । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य तथा हेटौँडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, प्रदेश कमिटी सचिवालय सदस्य ललितबहादुर घलान, सर्केश घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको उपस्थिति रहेको थियो ।










