चिठ्ठी लेखन प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिँदै ।

हेटौँडाः साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयले संयुक्त रुपमा आयोजना गरेको चिठी लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । शनिबार संगमको नियमित ३४७ औं सन्ध्याको अवसरमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

गत भदौ १५ गते १७ औं पुस्तकालय दिवसको अवसरमा संगम र पुस्तकालयले संयुक्त रुपमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि पछिल्लो समयमा आफुले पढेको पुस्तकको समिक्षासहित मिल्ने साथीलाई चिठी लेखन प्रतियोगिता आयोजनामा गरेको थियो । प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतन माविकी राशिका खनाल प्रथम, हेटौँडा–१८ हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयकी युनिशा खड्का द्वितीय, हेटौँडा–१० स्थित सोलिड्यारिटी ईन्टरनेशनल एकेडेमीका सचिनकुमार यादव र हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीकी आँचल सुवेदी तृतीय तथा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी प्रज्वलिता चापागाई सान्त्वना हुनुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेहरुलाई क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ । नियमित सन्ध्यामा स्रष्टाहरुले कविता र गजल वाचन गरेका थिए । साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको सभाध्यक्षता तथा साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकारहरु देवराज तिवारी, मुक्तिगोविन्द वैद्य र शान्ति प्रियवन्दना लगायतको आतिथ्यता रहेको थियो ।