हेटौँडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिबार बिहान प्रदेश राजधानी हेटौंडामा उपलब्ध मन्त्रीहरुको छलफलले विपद् प्रभावित नागरिकहरुका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त छलफलले विपद् प्रभावित नागरिकको उद्दार राहत तथा पुनःस्थापनाका लागि सो रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार रुपैयाँ जम्मा हुनेछ । जस अनुसार विपद् कोषमा मन्त्रीहरुले प्राप्त गदै आएको ६० हजार रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार रुपैयाँको आधा रकम ३५ हजार रुपैयाँ जम्मा हुनेछ ।
उक्त छलफलले प्रदेशको क्षतिको एकिन विवरण तयार गरी उपलब्ध गराउन प्रदेश नीति तथा योजना आयोगलाई निर्देशन दिएको छ । आयोगले विषयगत मन्त्रालय र क्षेत्रका आधारमा क्षति विवरण संकलन गरी प्रतिवेदन बुझाउन छलफलले निर्देशन दिएको छ । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
गत असोज १२ मा नख्खुखोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली अनुसार ३ वटा समितिहरु गठन गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मालिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वम प्रशासन तथा विधेयक समिति र कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । उक्त समितिहरुमा विभागीय मन्त्रीहरुलाई सदस्य राखिएको छ । बैठकले जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ । बैठकले नुवाकोटमा कार्यालय स्थापना गर्ने र सो कार्यालयले नुवाकोट र रसुवा हेर्ने गरी कर्मचारी व्यवस्थापन गरिएको छ ।