हेटौँडाः बालबालिकालाई अनलाइन तथा सामाजिक सञ्जालबाट हुने हिंसा तथा पीडाको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । सोमबार सिविन बालहेल्पलाइनको आयोजनामा भएको कार्यशालामा बालहेल्पलाइन मकवानपुरका व्यवस्थापक झविन्द्र ज्ञवालीले अनलाइनमा बालसंरक्षण गर्न चुनौतिपूर्ण बन्दै गएको बताउनु भएको हो ।
बालबालिकाहरु अनलाइनबाट हुने फाइदा तथा बेफाइदा नबुझी विभिन्न वेबसाइटमा प्रवेश गर्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले अभिभावकहरु नयाँ प्रविधिसम्बन्धमा जानकार नहुने, सानै उमेरमा बालबालिकालाई मोवाइल फोन प्रयोग गर्न दिने, अभिभावकको कुरा बालबालिका र बालबालिकाको कुरा अभिभावकले नबुझ्ने गर्दा यस्ता चुनौति देखिरहेको बताउनुभयो । अनलाइनमा प्रवेश गरेपछि बालबालिकालाई लत लाग्ने, अभिभावकसँग विभिन्न विषयमा झुटो बोल्ने, अप्रिय निर्णय गर्ने, पढाइमा ध्यान दिन नखोज्ने, अभिभावकसँग सञ्चार नगर्ने जस्ता समस्या देखिएको उहाँको भनाई छ ।
विद्यालयले अनलाइनको फाइदा तथा बेफाइदाको सम्बोधन गर्न नसकेको ज्ञवालीले बताउनुभयो । उहाँकाअनुसार स्थानीय तहले अनलाइन बाल संरक्षणमा ध्यान पु¥याउन सकेको छैन भने ध्यान दिन अत्यन्तै जरुरी रहेको छ । बालबालिकाको समयमै अनलाइन सम्बन्धी संरक्षण नगरिएमा क्षति हुन सक्ने ज्ञवालीले बताउनुभयो । जिल्लामा समय सापेक्ष कानुनको आवश्यक रहेको र जिल्ला प्रहरी कार्यालयमा साइबर अपराध तथा प्रविधिको कुशल जानकारी भएको दक्ष कार्मचारीको आवश्यकता रहेको ज्ञवालीले बताउनुभयो । गत वर्ष बालबालिकाको अलपत्र तथा बलात्कार सम्बन्धी ३१ वटा घटना बालहेल्पलाइनमा आएको थियो । बालहेल्पलाइनले यस्ता घटनामा पीडितको संरक्षण, परामर्श र पूनस्र्थापना गरेर शिक्षामा जोड्ने गरेको छ ।
कार्यक्रममा सिविन नेपालका केन्द्रीय कार्यालयका कार्यक्रम प्रबन्धक माधव लोहनीले बालबालिकाको ५० प्रतिशत मुद्दा कानुनी प्रक्रियामा नजाने गरेको बताउनुभयो । कार्यालयमा दक्ष जनशक्ति नहुँदा, प्रहरीलाई अनलाइन शोषणबारे जानकारी नहुँदा, मुद्दाको सबै प्रमाण प्रस्तुत नहुँदा कतिपय मुद्दा कानुनी प्रक्रियामा नजाने गरेको लोहनीले बताउनुभयो । उक्त कार्यक्रममा लोहनीले अनलाइन बालसंरक्षण सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो । लोहनीले बालबालिकाको अश्लिल विवरण, अनलाइनले पुर्याउन सक्ने हानी, नोक्सानी, यौनजन्य तस्वीर सहितको सन्देश, यौन फिरौती सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रत्यक्ष अनलाइन बाल यौन दुव्र्यवहार, साइबर हेपाई, आर्टिफिसियल इन्टेलिजेन्स र अनलाइन बालयौन दुव्र्यवहार, अश्लील तथा अन्य हानीकारक सामग्रीहरुको अवलोकन पहुँच तथा प्रभाव र अनलाइन माध्यम प्रयोग गरी बालविवाह तथा बालबालिकाको ओसारपसार सम्बन्धी छलफल भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वटा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, बालगृह र सामुदायिक प्रहरीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले बालबालिकाले आप्mनो समस्याको बारेमा बोल्न सक्ने वातावरण बनाउने, बालबालिकालाई यौन शिक्षाका विषयमा सिकाउने, अनलाइन सम्बन्धी समस्याको समाधान गर्ने, अनलाइनका नयाँप्रविधिको बारेमा जानकार बन्ने सम्बन्धी छलफल गरेका थिए ।
सिविन नेपालले विगत १ वर्षदेखि हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको समन्वयमा १९ वटा वडाका २० वटा विद्यालयमा अनलाइनमा बालसंरक्षण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । २० वटा विद्यालयमा अनलाइन सम्बन्धी कार्यक्रम गर्ने सिविनका ५ जना स्वयंसेवकहरुले यस्ता कार्यक्रम गरेपछि बालबालिकाहरु समस्याको बारेमा बोल्न तथा भन्ने सक्ने, अन्य कार्यक्रममा उत्सुकता जनाउने, केहि समस्या परेमा १०९८ मा सम्पर्क गर्नु पर्छ भन्ने जानकार भएका र सामाजिक सञ्जाल राम्रोसँग चलाउनु पर्ने ज्ञान भएको स्वयंसेवकले बताउनुभयो ।