हेटौंडाः हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा हाँडीखोला र एफसी पोताला विजयी भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा प्रतिभा युवा क्लबलाई हाँडीखोलाले १–० गोल अन्तरले पराजित गरेको हो ।
सिमलटारमा भएको खेलमा सक्षम युवा क्लबलाई एफसी पोतालाले ५–१ गोल अन्तरले पराजित गरेको छ । हाँडीखोलाको जीतमा उत्सव खड्काले निर्णायक गोल गरे । एफसी पोतालाको जीतमा अनुप राना मगरले २ गोल, दावा लामाले १, प्रितम स्याङ्बोले १ र आशीष लामाले १ गोल गरेका छन् । यता सक्षम युवाबाट हेसरन मगरले मात्र गोल गरेका हुन् ।
गौरीटार रंगशालामा भएको युनाइनेट नाइन र सहिद स्मृतिबीचको खेल भने एक–एक गोलको बराबरीमा रोकिएको छ । युनाइटेन नाइनले उपहारस्वरुप एक गोल आत्मघाति गोल प्राप्त गरेको छ । सिमलटारमाभ भएको पशुपति युवा क्लब र प्रगतिशील युवा क्लबबीचको खेल ३–२ गोल अन्तरमा स्थगित भएको छ । खेल सञ्चालनको क्रममा रात परेका कारण खेल स्थगित भएको हो ।
खेलको म्यान अफ द म्याच एफसी पोतालबाट अनुप राना मगर र हाँडीखोलबाट उत्सव खड्का घोषित भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा २८ वटा क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । लिगको विजेता टिमले प्रदेशस्तरीय लिगमा सहभागी हुन पाउनेछ ।