फाइल तस्वीर ।

हेटौंडाः कक्षा–१२ को पूरक (ग्रेडवृद्धि) परीक्षा भोलि मंगलबारबाट सुरु हुँदैछ । दुई दिन हुने परीक्षामा मकवानपुर जिल्लाबाट करिब २ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा १ हजार ९ सय ४९ जना परीक्षार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका सूचना अधिकारी जयप्रकाश कुशवाहाले जानकारी दिनुभएको छ । मकवानपुरमा पूरक परीक्षाका लागि ५ वटा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षाका लागि हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पस गरी ५ वटा परीक्षा केन्द्र निर्धारण गरेको उहाँले बताउनुभयो । एक विषयको परीक्षामा मात्र सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनको परीक्षामा सहभागी हुनुपर्ने उहाँले बताउनुभयो । अनिवार्य अंग्रेजी (००४१) विषयमा परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिनमात्र सञ्चालन हुने उहाँले बताउनुभयो । दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन परीक्षा दिनुपर्ने हुन्छ । अनिवार्य नेपाली (००२१) र अनिवार्य अंग्रेजी (००४१) दुबै विषयमा परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोड ००२१ भएतापनि पहिलो दिन ००४१ विषयको परीक्षा दिनुपर्ने उहाँको भनाइ छ ।

तोकिएको समयमा परीक्षामा उपस्थित नहुने विद्यार्थीले अर्को परीक्षामा सहभागी हुन नपाउने उहाँले बताउनुभयो । सूचना अधिकारी कुशवाहाका अनुसार परीक्षाको समयमा कुनै प्रकारको आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचना बिना परीक्षा स्थगित नगरिने उहाँले बताउनुभयो ।

यस वर्षको कक्षा १२ को परीक्षामा मकवानपुरबाट ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले ५३ दशमलब ५९ विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । बैशाख १४ गतेबाट सुरु भएको कक्षा–१२ को परीक्षामा मकवानपुरबाट नियमितर्फ ५ हजार ६ सय ९ जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी भएकामध्ये २ हजार ९ सय ५० जना विद्यार्थी परीक्षामा उत्तीर्ण हुन सफल भएका थिए भने अनुत्तीर्ण हुनेको संख्या २ हजार ६ सय ५९ रहेको थियो । जसअन्तर्गत ४७ दशमलब ४१ प्रतिशत विद्यार्थी अनुत्तीर्णमा परेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।