किशोरावस्था भनेको १० देखि १९ वर्षको उमेर समूह हो । किशोरावस्थामा शारीरिक, मानसिक तथा भावनात्मक परिपक्वता आइसकेको हुँदैन । यस्तो अवस्थामा विवाह गर्दा विभिन्न समस्या सामना गर्नुपर्ने भएकाले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भन्दै राज्यले कानुनीरुपमा दण्डनीय बनाएको छ । बालविवाह आफैंमा एउटा सामाजिक समस्या बनिरहेको अवस्थामा २० वर्षभन्दा कम उमेरमै आमा बन्दा थप जटिल समस्या सामना गर्नु परिरहेको छ ।

किशोरावस्थामा नै शिशुलाई जन्म दिएर शारीरिक, मानसिक, सामाजिक सबै खाले समस्या झेल्नुपर्दा किशोरकिशोरी थप पीडामा पर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक प्रतिवेदनअनुसार नेपालमा २० प्रतिशत किशोरीहरु गर्भवती हुन्छन् । किशोरी अवस्थामा हुने गर्भधारण गर्नुको मुख्य कारण बालविवाह हो । तर, समयमै यौन शिक्षा नपाउनु, अभिभावकको निर्देशन र हेरचाह कम हुनु, आफन्त तथा साथीको दबाब वा प्रभाव र सामाजिक सञ्जालका कारण किशोरावस्थामै आमा बन्नुपर्ने अवस्था बनिरहेको छ ।

कानुनीरुपमा दण्डनीय बालविवाह नरोकिएका कारण किशोरावस्थामै आमा बन्ने क्रम कम हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनामा हेटौंडा अस्पतालबाट प्रसुति सेवा लिएको ३ सय १२ जनामध्ये २६ जना किशोरी आमा बनेका छन् । २० वर्षभन्दा कम उमेरमै किशोरी आमा बन्नुपर्दा विभिन्न चुनौती देखिने गरेका छन् । मकवानपुर जिल्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ सय ६१ जनाभन्दा धेरै किशोरी आमा बनेका छन् । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका किशोरी आमा बनेका हुन् । एक महिनाको अवधिमा हेटौंडाका २ सय ८७ जना किशोरी आमा बनेको तथ्याङ्क छ । किशोरावस्थामा नै आमा बन्नेमा कैलाश गाउँपालिकाका ३० जना, राक्सिराङ गाउँपालिकाका १७ जना, भीमफेदी गाउँपालिकाका ११ जना र बागमती गाउँपालिकाका ९ जना छन् । यस्तै, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका एक जना किशोरी आमा बनेका छन् ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा मकवानपुरका एक हजार २ सय ७२ जना किशोरी आमा बनेका थिए । गत आर्थिक वर्ष हेटौंडा उपमहानगरपालिकाका मात्र ४ सय २१ जना २० वर्षभन्दा कम उमेरमै आमा बनेका हुन् । गत आर्थिक वर्ष कैलाश गाउँपालिकाका ३ सय ११ जना, राक्सिराङ गाउँपालिकाका एक सय १२ जना, बागमती गाउँपालिकाका एक सय ३ जना र मनहरी गाउँपालिकाका ९२ जना किशोरी आमा बनेका थिए । भीमफेदी गाउँपालिकाका ८५ जना, थाहा नगरपालिकाका ४७ जना, इन्द्रसरोवर गाउँपालिकाका २८ जना किशोरी आमा बनेका थिए । गत आर्थिक वर्ष २०८०÷०८१ मा हेटौंडा अस्पतालबाट २० वर्षभन्दा कम उमेर समूहका २ सय ४५ जना किशोरीहरु आमा बनेको हेटौंडा अस्पतालको तथ्याङ्क छ । गत आर्थिक वर्षको साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए ।
किशोरी अवस्थामै आमा बनिरहँदा किशोरीहरु पढ्नबाट वञ्चित भएका छन् । किशोरीमात्र नभई किशोरहरु पनि उमेर नपुग्दै परिवारको जिम्मेवारीका लागि पढाइ छाड्नुका साथै वैदेशिक रोजगारीमा होमिन बाध्य छन् । किशोरावस्थामा हुने गर्भको कारण रक्त अल्पता, गर्भपतन, उच्च रक्तचाप, लामो प्रसव व्यथा लाग्ने, बच्चा भैसकेपछि अधिक रक्तस्राव हुन सक्ने, शिशु स्याहारसम्बन्धी ज्ञान र सीप कम हुनेजस्ता समस्या हुन सक्छन् । किशोरावस्थामा बच्चा जन्माउँदा पाठेघरको समस्यासमेत हुने गर्दछ । किशोरी आमाले जन्माएको शिशुमा पनि विभिन्न समस्या देखिने गरेको छ । किशोरकिशोरीमा उमेर नपग्दै हुने विवाह र गर्भधारणलाई ढिलाई गर्नु आवश्यक छ । बालविवाहलाई निरुत्साहित गर्दै किशोरावस्थामा हुने गर्भधारण कम गर्न सकेमा किशोरी आमाको संख्या कम हुँदै जानेछ । यसका लागि किशोरिकशोरीलाई उपयुक्त प्रजनन शिक्षा र सचेतना दिनु आवश्यक छ ।