हेटौंडाः मकवानपुरमा आइतबार ३४ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार आइतबार ३४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २६ जना बासिन्दा रहेका छन् । मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका २÷२ जना र भीमफेदी गाउँपालिकाका एक जना बासिन्दालाई डेंगु पुष्टि भएको हो ।

चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा २ सय ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि हुनेमा ७० जना पुरुष र ८४ जना महिला रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाका बासिन्दामा डेंगु पुष्टि भएको छ । हेटौंडाका एक सय ५४ जना बासिन्दामा डेंगु पुष्टि भइसकेको छ । यस्तै, साउनदेखि हालसम्म मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका एक जना, कैलाश गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका १९ जना, भीमफेदी गाउँपालिकाका ४ जना र बकैया गाउँपालिकाका ८ जनामा डेंगु पुष्टि भएको हो ।

डेंगु पुष्टि हुनेमा एक जनाको ठेगाना खुलेको छैन भने ३ जना अन्य जिल्लाका रहेका छन् । यस्तै, जिल्लामा डेंगुसँगै स्क्रब टाइफसको संक्रमण पनि बढ्दै गएको छ । आइतबारमात्र जिल्लामा स्क्रब टाइफस ९ जनामा पुष्टि भएको छ । साउनयता जिल्लामा ९९ जनामा टाइफस संक्रमण पुष्टि भइसकेको छ ।

डेंगुजस्तै स्क्रब टाइफस पनि हेटौंडामै बढि पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका ५३ जना, मकवानपुरगढी गाउँपालिकाका १३ जना, मनहरी गाउँपालिका र बकैया गाउँपालिकका १०÷१० जना, भीमफेदी गाउँपालिकाका ५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकाका एक÷एक जनामा स्क्रब टाइफल संक्रमण पुष्टि भइसकेको छ । जिल्लाको थाहा नगरपालिकामा भने स्क्रब टाइफस संक्रमण देखिएको छैन । अन्य जिल्लाका एक जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ ।