विभिन्न कार्यक्रमसहित शनिबार (भदौ १५ गते) १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ सालको भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । नेपालमा पुस्तकालयको सुरुवात भने करिब डेढ शताब्दी पहिलेबाट भएको मानिए पनि १६ वर्ष अघिबाट पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । पुस्तकालयको विकास र यसको उपयोगलाई प्रोत्साहन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाईमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको छ । यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ रहेको छ ।

किताब अर्थात् पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि सामग्री व्यवस्थितरुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रलाई पुस्तकालय भनिन्छ । संस्कृत भाषाको ‘पुस्तक र आलय’ दुई शब्द मिलेर पुस्तकालय बनेको हो, जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ । दुई सय वर्षभन्दा अघि तत्कालीन राजा गीवार्णयुद्धले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ बनाएर पुस्तकालयको सुरुवात गरेका थिए । उक्त पुस्तकालयमा रहेका पुस्तक विसं १९१० सालमा दरबार हाइस्कूलमा, १९५७ मा वीर पुस्तकालयमा र २०२४ सालमा पुरातत्व विभागअन्तर्गतको अभिलेखालयमा राखिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बुद्धिजीवीले प्रधानमन्त्री भीम शम्शेरका पालामा सर्वसाधारणलाई जनचेतना जगाउनका लागि पुस्तकालय स्थापना गर्दा विसं १९८७ मा ‘लाइब्रेरी पर्व’ भएको थियो । उनीहरुले पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारले जनही सय–सय रुपैयाँ जरिवानासमेत गराएको थियो । अहिले प्रायः सबै विद्यालय तथा क्याम्पसले पुस्तकालय सञ्चालन गरिरहेका छन् ।

शिक्षा मन्त्रालयको २०७८÷०७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । तीमध्ये हाल करिब दुई सय वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय संघको अनुमान छ । सरकारले विगतमा ‘एक गाउँ एक पुस्तकालय’ र ‘एक विद्यालय एक पुस्तकालय’को नीति अघि सारे प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । कम्तिमा प्रत्येक स्थानीय तहमा एउटा सुविधासम्पन्न पुस्तकालय स्थापना र सञ्चालनको प्रबन्ध सरकारले गर्ने हो भने पनि पुस्तकालय विकासमा निकै टेवा पुग्न सक्छ । एउटा आकर्षक नारासहित प्रत्येक बर्ष पुस्तकालय दिवस मनाएरमात्र पुस्तकालयको विकास र विस्तार हुन सक्दैन । पुस्तकालय दिवसका अवसरमा सरकारी एवम् गैरसरकारी स्तरबाट गरिने विभिन्न औपचारिक कार्यक्रमले पुस्तकालयसम्बन्ध सचेतना वृद्धि गर्न सहयोग पुग्नसक्ने भए पनि त्यसले पुस्तकालयको विकास र विस्तारमा कुनै टेवा पुग्न सकेको पाइँदैन ।

सूचना तथा सञ्चार प्रविधिको बढ्दो पहुँच र प्रयोगका कारण पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्या घट्दो छ । निरन्तर शिक्षा र पठनपाठन संस्कृतिको विकासका लागि पुस्तकालय स्थापना र यसको प्रयोग महत्वत्वपूर्ण हुन्छ । शिक्षाले मानिसलाई ज्ञान दिन्छ । सभ्य समाज निर्माणका लागि शिक्षाको आवश्यकता पर्छ । शिक्षाका लागि पुस्तकालय आवश्यक हुन्छ । सूचना प्रविधि तथा सामाजिक सञ्चालबाट प्रारम्भिक र सतही ज्ञान पाइने भए पनि गहन र विस्तृत ज्ञानका लागि पुस्तकको अध्ययन आवश्यक छ, जसका लागि पुस्तकालय निकै उपयोगी हुन सक्छ । पुस्तकालय दिवस मनाइरहँदा पुस्तकालयको विकास, विस्तारसँगै उपयोगबाट निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नारालाई सार्थक बनाउन सक्नुपर्छ ।