सन्तोष पौडेल (पुस्तक विमर्श)
के तपाईंले संसारको भविष्य बारे सोच्नु भएको छ ? सुचना प्रविधि र जैविक प्रविधिको सम्मेलन, जलवायु परिवर्तनसँगै राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा कस्ता सम्भावना र चुनौति आउँदैछन् ? सामान्यता यस्ता विषयहरु आम जनताको चासो र प्राथमिकता भित्र पर्दैन । आम मान्छेहरु जिन्दगीको भागदौडमा यति ब्यस्त छौं कि हामीहरुको आफ्नै संसार छ । दैनिक आवश्यकताको परिपूर्ति, घर, परिवार, आफन्तको दायरा, सुखद् भविष्यको सुनिश्चिताका लागि हामीले सोच्नुपर्ने र गर्नुपर्ने कामहरु आज अहिल्यै गरिसक्नुपर्ने खालका छन् । यि कामहरु नहुँदा नगर्दा हाम्रो पारिवारिक अमनचयन खल्बलिन सक्छ । हाम्रो ‘संसार’ मा समस्या आउन सक्छ । त्यसो त हाम्रो दैनिकीका उल्झनहरु एकल वा केहि सदस्यको प्रयासबाट पुरा गर्न सकिन्छ तर माथि उल्लेखित विषयहरुका लागि धेरै जनाको सुविचारित नेतृत्व, सहभागिता र बृहत प्रतिबद्धता हुनुपर्छ । त्यसैले होला, हामीले यो विषयमा चिन्ता र चिन्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वलाई सुम्पिएका छौं । के माथि उल्लेख गरिएका चुनौति समाधानका लागि आजको नेतृत्व सक्षम छ ? यस्तै वैश्विक मुद्दा माथि ईतिहास विषयमा अक्फोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका हिब्रु विश्वविद्यालय, जेरुसलमका प्राध्यापक, इजरायली लेखक युभल नोहा हरारीले “ट्वान्टि वान् लेसन्स् फर दि ट्वान्टि फस्ट सेन्चुरी” पुस्तकमा चर्चा गरेका छन् ।
पुस्तकको परिचय खण्डमै लेखकले स्पष्ट पारेका छन्, “यो पुस्तक वर्तमान सन्दर्भ र मानव समाजको निकट भविष्यमा केन्द्रित हुनेछ । आज के भइरहेको छ ? आजका प्रमुख चुनौति छनौटहरु के–के हुन् ? हामीले के कुरामा ध्यान दिनुपर्छ ? र, हामीले हाम्रो बालबालिकालाई के कुरा सिकाउनु पर्दछ ?” पुस्तकले यिनै विषयलाई जोड दिएको छ । मुम्बईको गरिब बस्तीमा आफ्ना दुई बच्चा हुर्काउन संघर्षरत एकल महिला अर्को छाक जुटाउन केन्द्रित हुन्छिन् । भुमध्यसागरको बीचमा डुंगा खियाइरहेको शरणार्थी क्षितिजमा कुनै जमिनको संकेत खोज्छ, अति व्यस्त लण्डन हस्पिटलमा मृत्यु शैयामा रहेको मान्छे बाँकी रहेको सारा उर्जा थप एक फेरो सास लिन जुटाउँछ । विश्व तापमान वृद्धि र उदार प्रजातन्त्रका चुनौति भन्दा यि सबैसँग तत्कालको अति महत्वपूर्ण समस्या छन् । ति सबैलाई कुनै पनि पुस्तकले न्याय गर्न सक्दैन र त्यस्तो अवस्थामा उनीहरुलाई पढाउने कुनै पाठहरु मसँग छैनन् । म उनीहरुबाट सिक्ने मात्र आशा गर्न सक्छु, लेखक आफ्नो सीमितता प्रष्ट पार्छन् ।
मानिसले तथ्य र अंकमा भन्दा कथामा सोच्छ । कथा जति सजिलो भयो, त्यति राम्रो, हरारी भन्छन्, त्यसैले प्रत्येक देशको कथा र मिथकहरु छन् । बीसौं शताब्दीसँगै विश्वका कुलिनहरुले न्युयोर्क, लण्डन, बर्लिन र मस्कोमा तीन भव्य कथा बनाएर दावी गरे, यसैबाट पूरै ईतिहासको व्याख्या र समग्र विश्वको भविष्यको अुनमान गर्न सकिन्छ । ति कथाहरु हुन्, फाँसीवाद, साम्यवाद र उदारवादको कथा । दोश्रो विश्वयुद्धले फाँसीवादको कथालाई समाप्त गर्यो भने सन् १९४० देखि १९८० सम्म विश्व साम्यवाद र उदारवादको रणमैदान बन्यो । बीसौं शताब्दीको अन्त्यसँगै फाँसीवाद, कम्युनिज्म माथि उदारवादले विजय प्राप्त ग¥यो । त्यसपछि साम्यवादी कथा समाप्त भयो र उदारवाद मानवको ईतिहास र भविष्यको मार्गदर्शन गर्ने स्थानमा आईपुग्यो । तर, फाँसीवाद र साम्यवादको अन्त्यसँगै ईतिहासले अनपेक्षित मोड लिएको छ, हरारी भन्छन्, “उदारवाद यतिबेला यथास्थितिमा छ ।” त्यसो भए हामी कता जाँदैछौं त ? यो प्रश्न महत्वपूर्ण छ किनकी सुचना प्रविधि र जैविक प्रविधिले मानव जातिले कहिल्यै सामना नगरेको चुनौति ल्याएको छ । ईन्फोटेक र बायोटेकको सम्मिलनले मानिसहरुलाई श्रम बजारबाट विस्थापित गर्नुका साथै स्वतन्त्रता र समानताको मुद्दालाई समेत ओझेलमा पार्न सक्छ । डेटा अल्गोरिद्मले डिजिटल तानाशाह सिर्जना गर्न सक्छ । जस्ले गर्दा सीमित कुलिनहरुको हातमा शक्ति केन्द्रिकृत हुन्छ । मान्छेहरु शोषणबाट पीडित हुने होईन कि त्यसभन्दा पनि दूरावस्था अर्थात् मान्छेहरु श्रमबजारका लागि असान्दर्भिक बन्न सक्छन् ।
सन् २०५० मा श्रमबजार कस्तो होला, हामीलाई थाहा छैन । मानवसँग शारीरिक र संज्ञात्मक गरी दुईवटा क्षमता छ । विगतमा मेसिनले मान्छेसँग शारीरिक सक्षमतमा मात्र प्रतिस्पर्धा गरेको थियो । जब कृषि र उद्योगमा स्वचालित प्रणाली आयोे, नयाँ सेवा क्षेत्रको पनि उदय भयो जहाँ संज्ञानात्मक क्षमता चाहिन्थ्यो । सिकाई, विश्लेषण, संचार, संवेदना बुझ्ने लगायतका क्षमता मानवमा मात्र निहित छ तर कृत्रिम वौद्धिकता (एआई) को विकासले यसमा पनि चुनौति थपिएको छ । पछिल्लो दशकमा न्यूरो साईन्स र व्यवहारिक अर्थशास्त्रको अध्ययनबाट मानिसको मस्तिष्क ह्याक गर्न र विशेषगरी मानिसले कसरी निर्णय गर्छ भन्ने बुझ्न सहयोग मिलेको छ । यसबाट मानिसले आफ्नो खानादेखि साथीसम्मको छनौट कुनै अदृश्य ईच्छाको परिणाम होईन की खर्बौ न्युरोनहरुले सेकेन्ड भन्दा कम समयमा गर्ने संभावनाको जोड घटाउबाट निर्धारित हुन्छ भन्ने थाहा भएको छ ।
मानव संवेदना, आकांक्षा र छनौटमा बायोकेमिकल प्रणाली जति राम्रोसँग बुझ्न सक्छौं, त्यति नै कम्प्युटरले मानव व्यवहार र निर्णयको अनुमान गर्न सक्छ । लेखक थप्छन्, “उदार राजनीतिक प्रणालीले औद्योगिककालमा आकार ग्रहण गरेको थियो तर जैविक प्रविधि र सुचना प्रविधिमा आउँदै गरेको यस क्रान्तिलाई व्यवस्थापन गर्न समस्या छ किनकी राजनीतिकर्मी र मतदाता दुबैलाई यो कुरा बुझ्न गाह्रो छ ।” अहिल्यै नै कम्प्युटरले वित्तीय प्रणालीलाई जटिल बनाएको छ । जब आर्टिफिसियल ईन्टिलिजेन्स (कृत्रिम वौद्धिकता) विकसित हुन्छ, हामी त्यस्तो बिन्दुमा पुग्न सक्छौं, जहाँ कुनै व्यक्तिले वित्तीय प्रणाली बोध गर्न सक्दैनन् । पैसालाई काम नलाग्ने बनाउनु भन्दा पहिले नै के राजनीतिक प्रणालीले यो समस्याको व्यवस्थापन गर्न सक्छ ? उनी प्रश्न गर्छन् ।
हामी यतिबेला दुईवटा क्रान्तिको संगममा छौं । एकातिर जीवशास्त्रीहरुले मान्छेको शरीर, विशेषगरी संवेदना र मस्तिष्कको रहस्यहरु पत्ता लगाइरहेका छन् भने अर्कोतिर कम्प्युटर वैज्ञानिकहरुले हामीलाई अभूतपूर्व तथ्याङ्क प्रशोधनको शक्ति दिइरहेका छन् । जब जैविक प्रविधि, सुचना प्रविधिसँग सम्मिलित हुन्छ, यसले ठुला डेटा अल्गिोरिद्म उत्पादन गर्छ जसले व्यक्तिको अनुभुति स्वयम्ले भन्दा पनि राम्रोसँग हेर्न र बुझ्न सक्नेछ । यसबाट शक्ति सम्भवतः मान्छेबाट कम्प्युटरमा सिफ्ट हुनेछ, हरारी थप लेख्छन्, “पछिल्ला दशकमा विश्वव्यापीकरण र प्रविधिका कारण मानव समाज समानताको मार्गमा पुग्छ भनिएको छ तर २१ औं शताब्दीले धेरै असमान समाज निर्माण गर्न सक्छ । विश्वव्यापीकरणबाट सीमित वर्ग मात्र लाभान्वित भए जस्तै एआईको विकास र त्यसबाट प्राप्त हुन सक्ने लाभ पनि आर्थिक हैसियत अनुसार हुनेछ ।” जीवनको विस्तार, शारीरिक वा संज्ञानात्मक क्षमता विकास गर्न महंगो मुल्य चुकाउनुपर्ने छ, जसले गर्दा जैविकरुपमा नै मानिस दुई वर्गमा विभाजित हुनसक्छ । किनकी यि दुईको क्रान्तिले अर्थतन्त्र र समाजको मात्र पुनर्संरचना गर्ने होईन, यसले हाम्रो शरीर र दिमागलाई नै पुनर्संरचना गर्न सक्छ ।
आजसम्म मानिसले आफु भन्दा बाहिरको दुनियाँलाई नियन्त्रण गर्न सिकेको छ । हामीले कसरी ड्याम बनाएर बगिरहेको नदीलाई रोक्ने भन्ने जानेका छौं । तर हाम्रो शरीरलाई बुढ्यौलीबाट कसरी रोक्ने थाहा छैन । हामीलाई सिंचाई प्रणाली कसरी डिजाईन गर्ने थाहा भयो तर मस्तिष्कलाई कसरी डिजाईन गर्ने थाहा छैन । हरारी लामखुटट्टेको सन्दर्भ निकाल्छन्, “यदि लामखुटट्टे हाम्रो कानमा भुन्भुनायो र निन्द्रामा समस्या भयो भने त्यसलाई कसरी मार्ने थाहा छ तर खराब विचारहरु हाम्रो दिमागमा भुन्भुनायो र निदाउन सकिएन भने यस्ता विचारलाई कसरी मार्ने वा हटाउने थाहा छैन ।” जैविक प्रविधि र सुचना प्रविधिको क्रान्तिले हामीलाई आफु भित्रको दुनियाँ नियन्त्रण गर्न सक्ने बनाउनेछ । हामीले मस्तिष्कको डिजाईन गर्न, जीवनलाई लम्ब्याउन र आफ्नो इच्छाअनुसार विचारहरुलाई राख्न वा हटाउन हटाउन सक्नेछौं ।
त्यसैले अब ज्ञान र शक्तिको मानक फेरिनेछ । यि दुई क्रान्तिसँग तादात्म्यता मिलाउन राजनीतिले फरक संघर्षको बाटो रोज्नुपर्दछ । प्राचिन समयमा जमिन महत्वपूर्ण सम्पत्ति मानिन्थ्यो । त्यसैले राजनीति जमिनलाई नियन्त्रण लिन केन्द्रित थियो । जब केहि ब्यक्तिमा धेरै जमिन केन्द्रित भयो, समाज सम्भ्रान्त र सर्वसाधारण वर्गमा विभाजित भयो आधुनिक युगमा मेसिन र उद्योग जमिन भन्दा महत्वपूर्ण भए । त्यसैले राजनीति उत्पादनका महत्वपूर्ण साधन नियन्त्रणमा केन्द्रित भयो । धेरै मेसिनहरु केहि ब्यक्तिको नियन्त्रणमा हुँदा समाज पुँजीवादी र सर्वहारा वर्गमा विभाजित भयो । एक्काईसौं शताब्दिमा डेटाले जमिन र मेसिन दुबैको महत्वलाई छाँयामा पार्नेछ । त्यसैले राजनीति डेटाको प्रवाहलाई नियन्त्रणमा लिन संघर्षरत हुनेछ । यदि डेटा केहि ब्यक्तिको हातमा केन्द्रित भयो भने मानवजाति फेरी पनि नयाँ आधारमा विभाजित हुनेछ । गुगल, फेसबुक लगायतबाट डेटालाई नियन्त्रणमा लिने काम सुरु भैसकेको छ । “अहिले उनीहरु निशुल्क सुचना, सेवा र मनोरञ्जन दिएर हाम्रो ध्यान खिचिरहेछन् । पछि हाम्रो रुचि पत्ता लगाएर उनीहरु विज्ञापनदातालाई यो डेटाहरु विक्रि गर्छन् । हामी उनीहरुको ग्राहक होइन, उत्पादन हुनेछौंं”, हरारी लेख्छन् ।
पुराना कथाहरु धुजा परेको तर त्यसलाई विस्थापित गर्न नयाँ कथाहरु तयार नभएको यस्तो अनपेक्षित र अभूतपूर्व विश्वमा हामी बालबालिकालाई भोलिका लागि कसरी तयार गर्न सक्छौं ? यस सम्बन्धमा पनि हरारीले आफ्नो दृष्टिकोण अघि सारेका छन् । विज्ञहरुले अबको विद्यालयहरुले ४ ‘सी’ अर्थात क्रिटिकल थिंकिङ (आलोचनात्मक सोच), कम्युनिकेशन (सञ्चार), कोल्याबरेशन (सहकार्य) र क्रियटिभिटी (सिर्जनात्मकता) मा जोड दिनुपर्नेमा सहमति जनाएको भन्दै हरारीले अब प्राविधिक सीपमा भन्दा बालबालिकालाई जीवनका सामान्य उद्देश्य पूरा गर्न आवश्यक सीपहरु दिनुपर्ने उल्लेख गरेका छन् । सन् २०५० सँगै तादात्म्यता मिलाउन हामीले मात्र नयाँ विचार र उत्पादनहरु ल्याएर मात्र हुँदैन । आगामी दिनमा परिवर्तनलाई आत्मसात गर्दै नयाँ कुरा सिक्न र अस्वभाविक अवस्थाहरुमा मानसिक सन्तुलन कायम राख्ने कुरा सबैभन्दा बढि महत्वपूर्ण हुनेछ । त्यसैले पटक–पटक आफुलाई नयाँ र परिस्कृतरुपमा तयार गर्न सक्ने शिक्षा दिनुपर्नेमा हरारीले जोड दिएका छन् ।
समग्रमा पुस्तक मार्फत हरारीले वर्तमान अवस्थामा विश्वको जल्दाबल्दा विषयहरु माथि आफ्नो वैश्विक दृष्टिकोण प्रस्तुत गरेका छन् । पुस्तकमा मानवको मूल प्रवृत्ति के हो ? त्यसमा आजको सुचना प्रविधि र जैविक प्रविधिको क्षेत्रमा भएको क्रान्तिले कस्तो प्रभाव पार्छ ? उदारवादको सीमितता के हो ? वैश्विक चुनौतिहरु के हुन् ? र त्यसलाई कसरी सामना गर्न सकिन्छ, वर्तमान राजनीतिक नेतृत्वको सीमिता के हुन् ? भोलिका पुस्तालाई आउँदै गरेका चुनौति सामना गर्न कसरी तयार गर्न सकिन्छ ? एआई र बिग डेटा अल्गोरिद्मले मानव र समाजको भविष्य के हुन सक्छ भन्ने विषयहरु समेटेको छ । पाँच भागमा बाँडिएको ३ सय ३३ पृष्ठको यस पुस्तकले वर्तमानको आलोकमा भविष्यको सम्भावना र चुनौति बुझ्न सहयोग पु¥याउँछ ।