लागूऔषध दुव्र्यसन विश्वव्यापी समस्या हो । लागूऔषध दुव्र्यसनका कारण विश्वभरका युवा पुस्ता प्रभावित बनेका छन् । किशोरकिशोरीदेखि युवायुवती लागूऔषधको नसामा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् । लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार, समाज, देश र सिङ्गो विश्वमै विभिन्न नकारात्मक प्रभाव परिरहेको छ । यो क्रम नियन्त्रण गर्न नसके सामाजिक परिवेश, शान्ति र अमनचयन नै भङ्ग हुनेसम्मको खतरा बढ्दै जाने निश्चित छ । नेपालमा पनि लागूऔषध दुव्र्यसनको समस्या जटिल बन्दै गएको छ । लागूऔषध दुव्र्यसनको समस्या किन र के कारणले बढिरहेको छ ? यो गम्भीर खोजीको विषय हो ।

नेपाल प्रहरीको लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुुसार सातवटा प्रदेशमध्ये बागमती प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्या सबैभन्दा बढी पाइएको छ । सातै प्रदेशमा कुल एक लाख ३० हजार ४२५ लागूऔषध प्रयोगकर्तामध्ये बागमती प्रदेशमा मात्र ४६ हजार ४८० पाइएको छ । देशभर रहेका लागूऔषध दुव्र्यसनीमध्ये एक तिहाइभन्दा बढी बागमतीमा रहेका हुन् । बागमतीपछि कोशी र लुम्बिनी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संंख्या बढी देखिएको छ । कोशीमा २७ हजार ६०५ र लुम्बिनीमा २५ हजार ९३० लागूऔषध प्रयोगकर्ता छन् । मधेश प्रदेशमा १५ हजार ८४३, गण्डकीमा ८ हजार ९५६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८०८ जना लागूऔषध प्रयोगकर्ता छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ८११ लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको तथ्यांक छ । लागूऔषध प्रयोगकर्तामध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन् । २०६९ देखि २०७६ सम्मको तथ्यांक हेर्दा प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी ८०.४ प्रतिशत प्रयोगकर्ताले गाँजाजन्य पदार्थ सेवन गर्ने गरेको छ । लागूऔषध सेवनकर्तामध्ये सबैभन्दा बढी २० देखि २९ वर्षका युवा छन् । प्रयोगकर्तामध्ये यो उमेरसमूहका मात्रै ७० प्रतिशत रहेका छन् । १५ वर्षभन्दा कम र ५० वर्षमाथिका प्रयोगकर्ता एक प्रतिशतभन्दा कम छन् । साथी–संगतका कारण लागूऔषध दुव्र्यसनी बनेकाको संख्या सबैभन्दा बढी छ । यसपछि कौतुहलता र उत्सुकता एवम् पारिवारिक समस्याले दुव्र्यसनमा फसेकाहरु बढी पाइएका छन् । साथी संगतबाट दुई तिहाइभन्दा बढी प्रयोगकर्ताले लागूऔषध प्राप्त गर्ने गरेको तथ्यांक छ । नेपालमा लागूऔषध प्रयोगकर्तामध्ये ३५ प्रतिशतले धुवाँबाट, ३४ प्रतिशतले मुखबाट र २९ प्रतिशतले सुईबाट लागूऔषध सेवन गर्ने गरेको पाइएको छ ।

लागूऔषध दुव्र्यसनले सामाजिक तथा आर्थिकरुपमा प्रभाव पर्ने गरेको छ । दुव्र्यसनका कारण परिवारमा तनाव, झै–झगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्धविच्छेद, व्यभिचार बढ्ने समस्या हुन्छ । यसले विभिन्न प्रकारका हिंसा र आपराधिक क्रियाकलापमा पनि वृद्धि गराइरहेको छ । सरकारले लागूऔषध दुव्र्यसनको समस्या कम गर्न राष्ट्रिय लागूऔषध नीति, २०६३ कार्यान्वयनमा ल्याएको छ । लागूऔषध नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्था गरिएको भए पनि प्रभावकारी बन्न सकिरहेको छैन । प्रहरीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई पनि व्यापक र तिव्र पारेको छ । लागूऔषध ओसारपसार, बिक्रीवितरण तथा उत्पादनमा नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाइरहेको भए पनि लागूऔषध दुव्र्यसनको समस्या बढ्दै जानु चुनौतीपूर्ण बनेको छ । लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि तीनै तहका सरकारबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ । लागूऔषध दुव्र्यसनको चुनौती कम गर्न सरकार, सुरक्षा निकाय, नागरिक समाजमात्र होइन, हरेक व्यक्तिको थप सक्रियता हुनुपर्ने देखिएको छ । लागूऔषध दुव्र्यसनको समस्या समाधानका लागि हरेक व्यक्ति, परिवार, विद्यालय, समुदाय र नागरिक समाज, राज्यका सबै निकायले विशेष सतर्कतासहित प्रभावकारी निगरानी बढाउनु उचित हुनेछ ।