नेपाली समाजमा सम्बन्धविच्छेद मौलाउँदै गएको छ । नेपाली वृहत् शब्दकोषअनुसार सम्बन्धविच्छेदको अर्थ विवाह, लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम भनिएको छ । तर, सामान्य बुझाइमा सम्बन्धविच्छेद भनेको लोग्ने र स्वास्नीबीचको वैवाहिक सम्बन्धलाई कानुनबमोजिम विच्छेद गरिनु हो । यसलाई अर्को भाषामा छोडपत्र वा पारपाचुके पनि भनिन्छ । श्रीमान श्रीमतीबीचको बैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तवरले अलग हुने कानुनी आधार सम्बन्धविच्छेद हो । वैवाहिक जीवनमा आइपर्ने समस्या तथा असमझदारीलाई पति र पत्नी मिलेर समाधान गर्न नसक्दा सम्बन्धविच्छेदजस्तो अप्रिय निर्णयमा पुग्ने गरेको पाइन्छ । लोग्ने र स्वास्नीबीचको सम्बन्धमा विभिन्न परिस्थितिका कारण मनमुटाव आउन सक्छ । यस्ता मनमुटाव, अविश्वास, विवाद, असमझदारी बढ्दै जाँदा सम्बन्धविच्छेदसम्म पु¥याउने गरेको छ ।

पछिल्लो ३ वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा २ हजार ८६ वटा सम्बन्धविच्छेदको नयाँ मुद्दा दर्ता हुनुले सम्बन्धविच्छेद मौलाउँदै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म जिल्ला अदालतमा क्रमशः ६९१, ७९५ र ६०० वटा सम्बन्धविच्छेदको नयाँ मुद्दा दर्ता भएको थियो । ३ वर्षमा ५५५ वटा सम्बन्धविच्छेद मुद्दाको जिम्मेवारी सरेको थियो । अदालतले आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म क्रमशः ६७९, ७६८ र ६२७ वटा सम्बन्धविच्छेदको मुद्दा फैसला भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि सम्बन्धविच्छेदको मुद्दा व्यापकरुपमा बढेको हो । उक्त आर्थिक वर्षमा ६३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ४२८ वटा फैसला भएको थियो । वैदेशिक रोजगारी, महिलामा आएको चेतना र गरिबी सम्बन्धविच्छेदको मुख्य कारण मानिएको छ । चुनौतीको सामना गर्न नसक्दा, एकअर्काको अविश्वास, लागूऔषध, मदिरा सेवन, बेरोजगारी र शोषण सहन नसक्दा सम्बन्धविच्छेदको अवस्था आउने गर्दछ ।

२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताले सम्बन्धविच्छेदलाई सहजता प्रदान गरेको छ । उक्त संहिताअनुसार पति–पत्नी दुबैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्नेछन् । कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पति–पत्नीले एकअर्काको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा दुईमध्ये एकले अर्कोको मञ्जुरीबिना नै सम्बन्धविच्छेद गर्न सक्नेछन् । पत्नीले पति वा पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि दुईमध्ये एकले अर्कोको मञ्जुरीबिना सम्बन्धविच्छेद गर्न सक्नेछन् । पत्नीले अन्य पुरुषसँग वा पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा पनि सम्बन्धविच्छेदका लागि एक–अर्काको मञ्जुरी चाहिँदैन । यस्तै, पतिले अर्को विवाह गरेमा र पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले पतिको मञ्जुरीबिना सम्बन्धविच्छेद गर्न सक्ने कानुनी व्यवस्था छ ।

सानातिना मनमुटावकै निहुँमा सम्बन्धविच्छेद गर्न हतारिने प्रवृत्तिले सम्बन्धविच्छेद मौलाउँदै जाँदा पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिने जोखिम बढाएको छ । पश्चिमा संस्कृतिको देखासिकीले नेपाली समाजमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सहनशीलता, धैर्यता र लचकता टुटाउँदै म पनि ऊभन्दा के कम भन्ने आवेशमा सम्बन्धविच्छेद गर्न चाहनेको संख्या बढ्दा सम्बन्धविच्छेद मौलाउँदो छ । सम्बन्धविच्छेद गर्दा पत्नीले पतिको सम्पत्तिबाट आधा अंश पाउने कानुनी व्यवस्थाले पनि सम्बन्धविच्छेदलाई प्रोत्साहन दिएको हुनसक्छ । सम्बन्धविच्छेदपछि घरबार भताभुङ्ग पारेर ढल्कँदो उमेरमा एक्लो जीवन जिउनु महिला र पुरुष दुबैलाई सहज हुँदैन । सम्बन्धविच्छेदले सन्तानको बिचल्ली हुन्छ । सम्बन्धविच्छेद महिला र पुरुष दुबैका लागि प्रत्युत्पादक र समाजका लागि घातक हुने भएकाले यसप्रति व्यक्ति, समाज र सरकार गम्भीर हुन जरुरी छ ।