आफूले आफैंलाई मार्नु आत्महत्या हो । मानिस आफैंले कुनै प्रयत्न गरेर आफैंलाई समाप्त गर्नु वा जानीजानी आफैं मर्नु आत्महत्या हो । आत्महत्या शब्द आत्म+हत्या मिलेर बनेको हो । आत्मको अर्थ स्वयम् अर्थात् आफैं र हत्याको अर्थ खत्तम अर्थात् समाप्त हो । यसरी आफैं समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । जब मानिसले आफू कुनै जटिल समस्यामा परेको अनुभूति गर्दछ र सो समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्नसक्छ । आत्महत्याका अनेकौं कारणहरु हुन्छन् । धेरै दिक्दारी लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले आत्महत्यालाई बढावा दिने गर्दछ । यस्तै, बढी मद्यपान तथा लागूऔषध सेवन गर्नु, दीर्घ रोगबाट ग्रस्त हुनु, जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्या आउनु, वैवाहिक जीवन सफल नहुनु, लामो सयम बेरोजगार हुनु, विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु पनि आत्महत्याका कारण हुन् ।
नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ अनुसार नेपालमा आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ७९२ जना र आर्थिक वर्ष २०७९÷०८० मा ६ हजार ९७४ जनाले आत्महत्या गरेका छन् । प्रहरीको अध्ययन प्रतिवेदनअनुसार प्रदेशगत आधारमा सबैभन्दा बढी आत्महत्या गर्ने कोशी प्रदेशका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका छन् । बागमती प्रदेशमा आत्महत्या गर्ने संख्याको आधारमा कोशीभन्दा केही कममात्र छ । आत्महत्या गर्नेमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् । आत्महत्या गर्नेमा १० देखि २५ वर्षसम्मका बालिका वा महिला बढी छन् भने २५ वर्षभन्दा बढी उमेरका पुरुष बढी छन् । आत्महत्या गर्नेमध्ये १५ प्रतिशत १०–१८ वर्ष र २१ प्रतिशत १८–२५ वर्ष उमेर समूहका छन् । आत्महत्या गर्ने जातिगत समूहमा सबैभन्दा बढी ३९ प्रतिशत आदिवासी जनजाति छन् । आत्महत्या गर्नेहरुमा ६३ प्रतिशतभन्दा बढी निरक्षर वा साधारण लेखपढ गरेका छन् । ८३.५ प्रतिशतले झुण्डिएर एवम् १५ प्रतिशतले विष सेवन गरेर आत्महत्या गरेका छन् । ७१ प्रतिशतले आफ्नै घरभित्र आत्महत्या गर्ने गरेको प्रहरीको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार विगत तीन वर्षमा मकवानपुर जिल्लामा ४२३ जनाले आत्महत्या गरेका छन् । जसमा २५६ जना पुरुष, १३२ जना महिला, ३५ जना बालबालिका छन् । मकवानपुरमा गत आर्थिक वर्ष २०८०÷०८१ मा १४४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा १५४ र आर्थिक वर्ष २०७८÷०७९ मा १२५ जनाले आत्महत्या गरेका छन् । विश्वमा वार्षिक करिब ८ लाख ५० हजार मानिसको मृत्युको कारण आत्महत्या हुने गर्दछ भने नेपालमा आत्महत्याबाट वार्षिक करिब ७ हजारले ज्यान गुमाउने गरेका छन् । विश्वमा सरदर ३७ सेकेण्डमा एक जनाले आत्महत्या गर्ने र नेपालमा प्रत्येक घण्टा एक जनाले आत्महत्या गर्ने गरेको पाइन्छ ।
विश्वभर र नेपालमा मात्र होइन, मकवानपुर जिल्लामा पनि आत्महत्या चुनौतीपूर्ण बन्दै गएको छ । कुनै पनि व्यक्तिले आत्महत्या गर्ने अवस्था आउनुलाई स्वभाविक मान्न सकिँदैन । चुनौतीपूर्ण बनेको आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि समयमै उपयुक्त कदम चाल्न आवश्यक छ । प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सबैभन्दा बढी आत्महत्या गर्ने कारणमा मानसिक रोग (३९ प्रतिशत) र मानसिक तनाव (२८ प्रतिशत) देखाएको छ । यस्तै, प्रेमसम्बन्धी कारण र आर्थिक समस्याबाट ८–८ प्रतिशतले आत्महत्या गरेका छन् भने दीर्घरोगका कारण ७ प्रतिशत, लागूपदार्थ सेवनका कारण ५ प्रतिशत र मादक पदार्थ सेवनका कारण ३ प्रतिशतले आत्महत्या गरेका छन् । करिब दुई तिहाइले आत्महत्या गर्नुको कारण मानसिक रोग र तनाव रहेको हुँदा आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यको पहुँचमा सुधार गरी सचेतना र परामर्श सेवा वृद्धि गर्नु अपरिहार्य बनेको छ ।