निमार्णधिन रंगशाला

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरिरहेको छ । वडा नम्बर ४ स्थित झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पालिकाले गत आर्थिक वर्ष २०८०/०८१ को असोज १७ गते ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अगाडि बढाएको हो ।

उक्त निर्माणाधीन रंगशालामा सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितासमेत आयोजना गर्ने तयारीका साथ गाउँपालिका अघि बढेको छ । यसअघि प्यारापिटसहितको खेलमैदान नहुँदा पहिलोदेखि छैटौं संस्करणसम्म वडा नम्बर ८ स्थित जनता माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको पालिकाले यसपटक भने आफ्नै रंशगालामा प्रतियोगिता गराउने तयारी गरेको हो ।

रंगशाला निर्माण आयोजनाको प्राविधिक अनुमानित लागत ३ करोड ७८ लाख १५ हजार ४ सय ८२ रुपैयाँ रहेको छ । आयोजनाको ठेक्का मकवानपुरको हेटौंडा–५ को सञ्जय निर्माण सेवा प्रालिले पाएर अहिले काम गरिरहेको छ । आयोजनाको ठेक्का रकम ३ करोड ९ लाख ५२ हजार ७ सय ५७ रुपैयाँ रहेको छ ।

निर्माण कम्पनीले १५.९९ प्रतिशत न्यून रकम कबोल गरेर ठेक्का हात पारेको गाउँपालिकाका सवइन्जिनियर राजेन्द्र हादुर बोहराले जानकारी दिनुभयो । गाउँपालिका र निर्माण व्यवसायीबीच गत माघ ४ गते सम्झौता भएको र सम्झौताअनुसार आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको माघ ३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सवइन्जिनियर बोहराले बताउनुभयो ।

कति भयो निर्माण कार्यको प्रगति ?
रंगशाला निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । हालसम्म रंगशालाको निर्माण कार्य करिब ८७ प्रतिशत सम्पन्न भएको अर्का सवइन्जिनियर काशी रावलले बताउनुभयो । अब बाँकी कार्य एक महिनाभित्र सकाउने निर्माण कम्पनीको दाबी छ । निर्माण सम्पन्न भएपछि रंगशालामा दुबो हाल्ने र घेराबारका कार्य हुनेछ । सोही रंगशालामा पालिकाले सातौँ संस्करणको गोल्डकपसमेत आयोजना गर्ने तयारी गर्दैछ ।

कस्तो बन्दैछ रंगशाला ?
२२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रंगशालाको खेलमैदानको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाई र १२.५ मिटर चौडाईको प्यारापिट बन्दैछ । प्यारापिट करिब २ हजार ५ सय दर्शक अटाउने क्षमताको रहेको छ । अहिले रङ्गशालाको ट्रस (छाना) सहितको प्यारापिट, ड्रेन (नाला), फेन्सीङ वायरसहितको घेराबार, ड्रेस चेञ्जिङ रुम, शौचालयको निर्माण कार्य भइरहेको सवइन्जिनियर रावलले जानकारी दिनुभयो । रंगशालाको खेलमैदान, एथ्लेटिक्स ट्रयाक, मिनी ग्राउण्ड निर्माणलगायतका कार्य गाउँपालिकाबाट गरिरहेको र थप केही काम जनश्रमदानमार्फत् पनि भइरहेको उहाँले बताउनुभयो ।

सातौँ बागमती गोल्डकप यहि रंगशालामा गर्छौंः अध्यक्ष सर्केश घलान
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाले हरेक वर्ष आयोजना गर्दै आइरहेको गोल्डकप उक्त रंगशालामा आयोजना गरिने बताउनुभएको छ । सातौँ संस्करणको बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता उक्त रंगशालामा आयोजना गर्ने तयारीका साथ पालिका अघि बढेको उहाँले बताउनुभयो ।

अध्यक्ष घलानका अनुसार अहिले रंशगाला निर्माणको प्रगति ८७ प्रतिशत भएकाले अबको एक महिनाभित्रमा रंगशालाको निर्माण कार्य सम्पन्न हुनेछ । निर्माण कम्पनीले पनि एक महिनाभित्र कार्य सम्पन्न गर्ने बताएको उहाँले जानकारी दिनुभयो । युवाहरुलाई खेलकुदमा जोड्न सरकारले वातावरण पनि तयार गर्नुपर्ने उहाँको भनाइ छ । जसमा भौतिक संरचना महत्वपूर्ण हुने भन्दै उहाँले गाउँपालिकाले आफ्नै बजेटमा मिनी रंगशालामा निर्माण गर्न लागि परेको बताउनुभयो ।

पालिकाले व्यावसायिक र राष्ट्रिय खेलाडी उत्पादनका लागि जग बनाउने काम गरेको उहाँको दाबी छ । गाउँपालिकाले खेलकुदमा गरिरहेको लगानीको विस्तारै नतिजाहरु पनि देख्न थालेको अध्यक्ष घलानले बताउनुभयो । अहिले बागमती गाउँपालिकाका किशोर खेलाडीहरु विभिन्न प्रतियोगिताका लागि विभिन्न उमेर समूहमा छनौट भइरहेका छन् । विगतमा भन्दा खेलकुद क्षेत्र पनि सुधार हुँदै गइरहेको भन्दै उहाँले सरकारले अब खेलाडीहरुलाई व्यावसायिक खेलाडी बनाउन लगानी गर्नुपर्ने बताउनुभयो । राज्यले खेलाडीलाई खेलमा भविष्य देखाउन सक्नुपर्ने भन्दै उहाँले तीन वटै तहका सरकारले विशेष प्राथमिकता दिएर लगानी खेर जान नदिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष घलानले गाउँपालिकाभित्र आवश्यकताअनुसार अरु खेल मैदान निर्माण गर्ने बताउनुभयो । गाउँपालिकाको स्रोत साधनको प्रयोग गर्दै युवाहरुलाई पनि सहभागी गराई काम गर्ने उहाँले बताउनुभयो । अध्यक्ष घलान, बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुुलामी, गाउँपालिकाका कर्मचारीलगायतका टिमले शनिबार रंगशालामा श्रमदानसमेत गरेका थिए । शनिबार रंगशालामा माटो फिलिङ गर्ने र सतह मिलाउनेजस्ता अन्य कामहरु भएको थियो । शनिबारको दिन पारेर सबै जनालाई श्रमदानमा जोड्न रंगशालामा श्रमदान आयोजना गरिएको अध्यक्ष घलानले बताउनुभयो । सबैजना श्रमदानमा जोडे राज्यको कम लगानीमा पनि परिणाम दिने काम हुने उहाँ बताउनुहुन्छ । उहाँले युवाहरुलाई खेलकुदको माध्यमबाट विकासमा जोड्नुपर्ने पनि बताउनुभएको छ