खचाखच मान्छे भरिँदै गए पार्टी प्यालेसको ठूलो हलभित्र । एकपछि अर्को गर्दै मान्छेहरु म फलानो भन्दै खादा र टिका लगाइदिँदै बधाई दिँदै थिए, नयाँ वैवाहिक जीवनका लागि । त्यसरी आउने मध्ये ९९ प्रतिशत मान्छे चिन्दिन उ तर नयाँ बेहुलीको लज्जा सहितको मुस्कानले सबैको बधाइको जवाफ दिन्छे । “उहाँ हाम्रो नजिकको आन्टी पर्नुहुन्छ” भन्दै चिनाए श्रीमान्ले । आण्टीले खादा लगाइदिँदै भनिन् “असाध्यै भाग्यमानी रैछेउ, यस्तो आधुनिक घरमा बुहारी हुन पायौ । लाउन, खान केहि कुरामा रोकतोक छैन, मन लागेको गरेर बस्न पाउँछेउ ।”

आफु भन्दा पहिले बिहे भएका साथीहरुको अनुभव सुन्दा बिहे गर्नै डराएकी थिई उनी । केहि समय त बिहे गर्ने विचार नै त्यागिसकेकी थिई । तर, सार्है राम्रो सम्पन्न घरपरिवार, अनि असल केटाको कुरा आएको भन्दै आमाबुवाले लगभग कर नै गर्नुभयो यो प्रस्ताव स्वीकार गर्न । आखिर दुबैको उमेर उस्तै थियो, दुवै जना जागिर गर्थे । आत्मविश्वास भरिएको थियो । सपनाहरु थिए भविष्यलाई लिएर । महत्वाकांक्षा थियो केहि गर्छु जीवनमा भन्ने । प्रारम्भिक भेटघाटपछि कुरा हुँदै जाँदा दुबैले एक अर्कालाई मन पराए । अनि विवाह निश्चित भयो । उसका साथीहरुले डाहा गरेका थिए । जब उसले बिहेको लुगा, गहना सबै उसैलाई रोजाएर सँगसँगै किनमेल गर्न केटा पट्टिले बोलाएको खबर साथीहरुलाई सुनाएकी थिई । चलिआएको भन्दा अलग अनि खुला व्यवहार भएको घर परिवारसँग जोडिन पाउँदा उ स्वयम् पनि खुसी थिई ।

“ए बुहारी, के सम्झेर टोलाएकी” भन्दै सासुले झक्झक्याइन् । ऊ मिठो स्मृतिमा कतै हराइरहेकी रहिछ । “तिमीलाई पनि भोक लाग्यो होला, आउ अब हामी परिवारसँगै बसेर खाऊँ अरुले खाइसके”, भन्दै सासुले डोर्याएर एउटा टेबलमा लागिन् । ससुरा, श्रीमान्, नन्द, जेठाजु–जेठानी सबै पहिले नै टेबल वरिपरि बसिसकेका थिए । सबैको हातहातमा वाइन भरिएका ग्लास थिए । नन्दले आफु छेउको खाली कुर्सी देखाउँदै बस्न आग्रह गरिन् । अनि बस्ने बित्तिकै वाइनको एउटा ग्लास ऊतिर तेस्र्याईन् ।

अरुले खाँदा उसलाई आपत्ति थिएन तर ऊ आफु नखाने मान्छे त्यसैले विनम्रतापूर्वक पिउन इन्कार गरिदिईन् । उसको इन्कारी देखेर नन्दले कर गर्ने शैलीमा भनिन् “आजकाल त सबैले खान्छन् भाउजु, अरु बेला नाखाए पनि पार्टीमा त खानु पर्छ, नत्र त पाखे भईन्छ ।” सासु–ससुरासहित घरका सबै सदस्यले हो मा हो थपे । श्रीमान्ले पनि “हेर यसरी आफ्नै अगाडि बुहारीलाई वाइन खाऊ भन्ने सासु–ससुरा त भाग्यमानीले मात्र पाउँछ । यस्तो स्वतन्त्र परिवार पाउँदा पनि के नाई नास्ती गर्छेउ ? कमसेकम एक ग्लास त खाइदेउ” भने । मन नलागी नलागी उसले नन्दले आफ्नो अगाडि सोझ्याएको वाइनको ग्लास समाती । सबैले खुसी हुँदै उसको र उसको श्रीमान्को नाममा ग्लास उठाएर चियर्स गरे । ग्लास मुख नजिकै लगेर एक घुट्को मात्र के लिएकी थिई सासुले भनिन, “अब तिमीले छिट्टै नजिकै सरुवा मिलाउनुपर्छ, केटि मान्छेको यसै पनि के नै काम हुन्छ र अफिसमा, बिहान–बेलुका घर हेरेर दिउँसो यस्सो अफिस गए भैहाल्छ ।” श्रीमान्सहित घरका बाँकी सदस्यले स्वीकारोक्तिमा मुन्टो हल्लाउँदै आधुनिकताको अर्को पेग थपे । ऊसले अघि मुखमा हालेको घुट्को निल्न खोजी तर त्यो आधुनिक झोल गएर उसको छातीमा कतै अड्कियो अनि भत्भति पोल्न थाल्यो ।