हाम्रो शिक्षा प्रणाली रोजगारमुखी हुन सकेन । कामदारमुखी भयो । अधिकांश युवाहरु आफ्नो गाउँ ठाउँ परिवेशका लागि भन्दा वैदेशिक रोजगारीका लागि अध्ययनमा व्यस्त छन् । सक्नेहरुले ठूला देश ताक्ने गरेका छन् भने नसक्नेहरु दुबई, कतार र मलेसिया । देश बनाउन युवा शक्ति नै चाहिन्छ । काम गर्न सक्ने युवाहरु विदेश पलायन हुने क्रम बन्द नहुँदासम्म देशले फड्को मार्न नसक्ने कुरा प्रष्ट छ । शिक्षा नीति राम्रो नहुँदासम्म राजनीति राम्रो हुन सक्दैन । राजनेता राम्रा जन्मन सक्दैनन् । रोजगारमुखी शिक्षा प्रणाली लागु गर्नका लागि समेत राजनेता हुनु जरुरी हुन्छ । युवा शक्तिलाई स्वदेशमै क्रियाशील बनाउने नीतिमा अबको राजनीति केन्द्रित हुनु पर्ने देखिन्छ ।

हामीकहाँ दुई प्रकारका शिक्षण संस्थाहरु क्रियाशील छन् संस्थागत र सामुदायिक । सामन्य रुपले भन्ने हो भने धनीहरुले पढ्ने संस्थागत वा निजी विद्यालय र गरिबहरुले पढ्ने सामुदायिक वा सरकारी विद्यालय । देशको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धीलाई हेर्ने हो भने सरकारले लगानी गरेका विद्यालयहरुको अवस्था कमजोर मात्रै होइन नाजुक नै देखिन्छ । हर प्रयास गर्दा पनि सिकाइ उपलब्धीमा उल्लेख्य वृद्धि नहुनु सामुदायिक विद्यालयको सबैभन्दा ठूलो चुनौति बनेको छ । शैक्षिक गुणस्तरको मापन सिकाइ उपलब्धिमा आएर अडिएको छ । सिकाइ उपलब्धि वृद्धि नहुनु भनेको प्रभावकारी शिक्षण हुन नसक्नु हो । यो हिसावले हेर्ने हो भने सामुदायिक विद्यालयहरुमा राम्रो शिक्षण हुन सकेको छैन भन्न सकिन्छ ।

सामुदायिक विद्यालयहरुमा राम्रो शिक्षण हुन नसक्नुका कारणहरु खोज्नु आजको आवश्यकता बनेको छ । अधिकांश सामुदायिक विद्यालयहरु भौतिक पूर्वाधार सम्पन्न छन् । तालिम प्राप्त शिक्षकहरु छन् । सरकारी लगानी पनि पर्याप्त छ तर पनि बालबालिकाको सिकाइ उपलब्धि बढेको देखिँदैन । यो सामुदायिक विद्यालयको ठूलो चुनौतिको रुपमा देखा परेको छ । जसले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु, प्रशासकहरु रणनीति निर्माताहरु माथि नै औँला ठड्याएको छ । हाम्रो मुलुक ग्रामीण मुलुक हो । शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार लगायतका तमामकुराहरुसँग हाम्रा ग्रामिण क्षेत्रहरु अझै पनि सङ्घर्ष गरिरहेका छन् । ग्रामिण क्षेत्रले अझै पनि गरिवीलाई पन्छाउन सकेको छैन । धेरै विद्यार्थीहरु ग्रामीण क्षेत्रका नै छन् ।

सामुदायिक विद्यालयप्रति सबै समुदायको हेर्ने नजर सकारात्मक हुन सकेको छैन । सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरु कमजोर आर्थिक क्षमताका भेटिन्छन् । खानपानका लागि नै संघर्ष गरिरहने हुनाले उनीहरुले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन सकेका हुँदैनन् । अभिभावकले चासो दिन नसक्ने र स्कुलको मात्र भर पर्नुपर्ने हुनाले उनीहरुको सिकाइ उपलब्धी कमजोर हुने गरेको पाइन्छ । केही समयसम्म निजी विद्यालयमा अध्ययन गरी आएका विद्यार्थीहरुको अवस्था पनि उस्तै देखिन्छ । ती अभिभावकले बालबालिकालाई निजी विद्यालयमा पठाउँदा विद्यालयले तोकेको शुल्क तिर्ने, पोशाक समयानुकुल बनाउने, कापी कलमको व्यवस्था गर्ने र खाजाको समेत जोहो गरी विद्यालयको गेटसम्म पुराउन जानेसम्म गरेको पाइन्छ । जबसम्म संस्थागत विद्यालयमा बाबुआमाले फि तिर्न सक्छन् तबसम्म ती बालबालिका सामुदायिक विद्यालयमा देखिँदैनन् । बालबालिका बदमास भए, तह लगाउन सकिएन वा पैसाको जोहो गर्न सकिएन भने मात्र सामुदायिक विद्यालयमा पठाउने गरिन्छ ।

सामुदायिक विद्यालयमा प्रवेश गरेसँगै उनीहरुको ब्यागमा न त कापी कलम हुन्छ न त मौसम अनुसारका लत्ता कपडा । बाबु आमाको चासो पनि क्रमशः कम हुँदै गएको देखिन्छ । जसले गर्दा बालबालिकाको पढाइमा उपयुक्त ध्यान पुगेको पाइँदैन । सिकाई उपलब्धी बढाउन अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षा नीतिको महत्वपूर्ण भूमिका रहने गर्दछ । यी तत्वहरु मध्ये एक तत्वले विद्यार्थीहरुलाई बेवास्ता गरेमा राम्रो सिकाइ उपलब्धी हासिल हुन सक्दैन । यी सबै तत्वहरु आ आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी देखिन्छ । बालबालिकाको पहिलो पाठशाला घरपरिवार हो । घर परिवारको प्रभाव बालबालिकामा पछिसम्म रहिरहन्छ । बालबालिका जुन संस्कारमा हुर्किन्छन् त्यही संस्कारको प्रभाव बालबालिकामा परेको हुन्छ । अभिभावकले आफ्ना बालबालिकामा असल संस्कारको विकास गराउन सक्नुपर्छ । यसका लागि अभिभावकहरु शिक्षित र सचेत हुनु जरुरी हुन्छ । तर हाम्रा ग्रामिण क्षेत्रहरु अझैपनि पूर्ण साक्षर बन्न सकेका छैनन् ।

बालबालिकालाई विद्यालय पठाउँदैमा आफ्नो कर्तव्य पूरा भएको सम्झने अभिभावकहरुको संख्या कम छैन । बालबालिकाको सिकाइ उपलब्धी राम्रो बनाउन अभिभावकलाई सचेत बनाउनु पर्ने हुन्छ जसका लागि अभिभावक शिक्षा अनिवार्य देखिन्छ । घर परिवारले बाल मस्तिष्कलाई बुझेर असल संस्कारको विकास गराउन सकेमा मात्र बालबालिकाले विद्यालयले दिन खोजेको व्यवहारिक ज्ञान लिन सक्छन् । आफ्ना बालबालिकाको स्तर पहिचान गर्न सक्ने अभिभवक नहुदासम्म बालबालिकाको स्तरउन्नति हुन सक्दैन । बालबलिकाका आधारभूत आवश्यकताहरु पूरा गरिदिनु अभिभावकको कर्तव्यभित्र पर्दछ । नियमित रुपले आफ्ना बालबालिकाको रेखदेख गर्ने र आफ्न बालबालिकाको विषयमा जानकारी लिन नियमित विद्यालयमा पुग्ने गरेका अभिभावकका बालबालिकाको सिकाइ उपलब्धी तुलनात्मक रुपमा राम्रा देखिने गरेको छ ।

अभिभावकलाई जिम्मेवार बनाई विद्यालयमा नियमित आउने बनाउन सकिएमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धी बढ्ने देखिन्छ । त्यसैले सम्बन्धित निकायले अभिभावकहरुलाई सचेत बनाउने कार्यक्रम ल्याउनु पर्ने देखिन्छ । शिक्षक शिक्षणको केन्द्रविन्दु हो । विद्यार्थीलाई दिशानिर्देश गर्ने काम शिक्षकको नै हुने गर्दछ । शिक्षकले भनेका हरेक कुरालाई विद्यार्थीले सहर्ष स्वीकार्छन् । शिक्षकले देखाउने व्यवहारको आधारमा विद्यार्थी सिकाइप्रति केन्द्रित हुने गर्दछन् । एउटा असल शिक्षक हुन त्यति सजिलो छैन । शिक्षकले बालबालिकाको मनोविज्ञान बुझन सक्नु पर्दछ । शिक्षण क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउन सक्नुपर्छ । सामुदायिक विद्यालयका कक्षाकोठामा बस्ने अधिकांश विद्यार्थीले कक्षा सञ्चालनको क्रममा सक्रिय शिक्षणमा भाग लिएका हुँदैनन् । कहिलेकाहीँ कक्षाकोठामा अन्तरक्रिया गराउँदा उनीहरुको सिकाइ क्षमता बढे जस्तो पनि लाग्छ तर वास्तविक रुपमा उनीहरुको प्राप्तांक सोचे जसरी बढेको पाइँदैन ।

अपेक्षा गरेको अंक प्राप्त हुन नसक्दा शिक्षकहरु पनि दुखी भएको पाइन्छ । सिकाइ उपलब्धी वृद्धि गर्नका लागि शिक्षकले कक्षाकोठामा प्रत्येक दुई बेन्चको एकमा अलि जान्ने विद्यार्थीलाई टोली नेता बनाई समूह कार्यका लागि उत्साहित बनाउनुपर्छ । शिक्षकले म नै जान्ने हुँ नभनेर कक्षाका जान्ने विद्यार्थीको सहयोग लिएर उनै मार्पmत समूहका कमजोर साथीलाई सिकाउन लगाउने, सबै विषयको गृहकार्य लेखे नलेखेको बुझ्न लगाउने गर्नुपर्छ । शिक्षकले उनीहरुका व्यक्तिगत समस्याहरु पनि बुझ्ने कोशिस गर्ने र समाधानको कोशिस गर्ने हो भने सिकाइ प्रभावकारी हुन सक्छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका आ–आफ्नै समस्याहरु हुने गर्दछन् । कलेजमा पढिएका सबै विषयवस्तुहरु विद्यालय शिक्षामा पूर्ण काम लाग्ने पनि हुँदैन । सबै शिक्षकमा विषयवस्तुको पूर्ण ज्ञान पनि हुँदैन । समय परिवेश अनुकुल आफुलाई परिवर्तन गर्न नसक्नु शिक्षकको ठूलो कमजोरी हो । म जान्ने छु भनेर मनमा घमण्ड पाल्ने शिक्षकमा नयाँ कुराको खोजी गर्ने बानीको विकास पनि हुँदैन । दम्भ पाल्ने शिक्षकले कुनै पनि हालतमा बालबालिकाको मन जित्न सक्दैन । मन नपर्ने शिक्षकले पढाएको पनि बालबालिकाले चासो दिएर पढ्दैनन् । त्यसैले समय सापेक्ष नयाँ–नयाँ प्रविधिसँग परिचित भई बालबालिकाको उत्साह र चासोको ख्याल गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्न सके कक्षाकोठा प्रभावकारी हुन्छ ।

शिक्षकको नजर सधैं मतिरै छ भन्ने भान कक्षाकोठाका सबै विद्यार्थीलाई महसुस हुने गरी चारैतिर नजर दौडाइरहनु पर्छ । अनिमात्र उनीहरु तयारी अवस्थामा रहेर सक्रिय शिक्षणमा भाग लिन्छन् । बालबालिकाको कक्षाकार्य मात्र नभएर नियमित गृहकार्य परिक्षण हुनु जरुरी हुन्छ । धेरै विद्यार्थी भएको कक्षाकोठामा छड्के कापी परीक्षण गर्नुपर्छ । बीच–बीचका रोल नम्बर भएका बालबालिकाको कापी परीक्षण गर्ने हो भने सबै विद्यार्थी चनाखो भएर गृहकार्य गर्ने गर्दछन् । सधैं–सधैं लेखिएको गृहकार्य परीक्षण नगर्ने हो भने बालबालिकाले लेख्न पनि अल्छि गर्दछन् । सधै गृहकार्य हेर्ने शिक्षकले पढाएको विषयवस्तुको गृहकार्य बालबालिकाले नियमित गर्छन् । नहेर्ने विषयको गृहकार्य विद्यार्थीले गर्दैनन् जसले गर्दा उनीहरुको सृजनशील क्षमतामा ह्रास आउँछ । विषयवस्तुप्रतिको रुचि पनि कमजोर हुँदै जान्छ । त्यसैले समय–समयमा विद्यार्थीको गृहकार्य परीक्षण गर्नुपर्छ । अनिमात्र उनीहरु विषयवस्तुमा अद्यावधिक रहन्छन् । यो विज्ञान र प्रविधिको युग हो । आजका बालबालिकालाई विज्ञान र प्रविधिसँग जोडेर अध्यापन गराउनुपर्छ । प्रविधि नजान्ने शिक्षक विषयवस्तु जानेर पनि कमजोर मानिन्छ । उनीहरुका नजरमा शिक्षक एक सिपालु, विशिष्ट र बुद्धिमान व्यक्तित्व हो । त्यसैले शिक्षकले उनीहरुलाई अध्यापन गराउँदा दृश्यात्मक शैक्षिक प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्छ ।

विद्यालयको नेतृत्वले पनि शिक्षकलाई अगाडि बढ्ने बाटो निर्देशन गरिरहेको हुन्छ । विद्यालयको प्रशासनले शिक्षकलाई म सधैं सुरक्षित छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ । कक्षाकोठामा संचालन गरिने हरेक गतिविधि विद्यालय प्रशासनसँग जोडिएको हुन्छ । प्रशासक क्षमतावान भएमा हरेक कुराको योजना ल्याउनुका साथसाथै विभिन्न नीति, नियम बनाएर विद्यालयलाई अगाडि बढाउनका लागि तल्लिन रहन्छ । शिक्षकका समस्याहरु बुझ्ने र उनीहरुलाई साथीको व्यवहार गर्ने प्रशासक भयो भने शिक्षकले आफ्ना समस्याहरु सजिलै भन्न र सुल्झाउन सक्छन् । नजानेका विषयवस्तुको बारेमा साथी समूहमा छलफल गरी निश्कर्ष निकाल्न सक्छन् । विद्यालयको प्रशासन प्रधानाध्यापकको हातमा हुन्छ । पदीय हिसाबले प्रधानाध्यापकको जिम्मेवारी पाएको भएपनि प्रधानाध्यापक पनि एक शिक्षक नै हुन् । एक्लो प्रधानाध्यापकले विद्यालय बनाउन सक्दैनन् । धेरै समय विद्यार्थीसँग भन्दा शिक्षकसँग रहनु पर्ने भएकोले हरेक शिक्षकलाई मित्रवत् व्यवहार गर्नु प्रधानाध्यापकको कर्तव्य हो । कतिपय सामुदायिक विद्यालयको सिकाइ उपलब्धी खस्कनुमा प्रधानाध्यापकको दोष रहने गर्दछ । आफुलाई मालिक र शिक्षकलाई कामदार सम्झने प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सक्दैनन् ।

विद्यालयको संरचनामा आधारभूत तह र माध्यमिक तह भनेर तोकिएको भए पनि व्यवहारमा बालविकास, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहमा छुट्याइने प्रचलन यथावतै छ । पछिल्लो समय प्राथमिक वा निम्न माध्यमिक तहमा समेत स्नातकोत्तर तह पूरा गरेका शिक्षकहरुको संख्या बढेको देखिन्छ । शैक्षिक योग्यतामा समान भएर पनि तहगत रुपमा तल्लो तहमा अध्यापन गराउने शिक्षकलाई कमजोर शिक्षकको रुपमा आंकलन गरी त्यसै अनुसारको व्यवहार गर्ने प्रधानाध्यापकको संख्या पनि धेरै रहेको सुनिँदै आएको छ । यस्ता प्रधानाध्यापक रहेका विद्यालयका शिक्षकहरु प्रधानाध्यापकप्रति सकारात्मक र उत्तरदायी हुन सक्दैनन् । प्रधानाध्यापकसँगको व्यवहारका कारण कक्षामा जुन किसिमले सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने हो सो हुन सक्दैन । विद्यालयमा रहेका सबै शिक्षकलाई पद र शक्तिको आधारमा नभई समान व्यवहार गर्न सकेमा मात्र उनीहरु प्रशन्न हुन्छन् । प्रशन्नताले सधै सकारात्मक उर्जा प्राप्त गराउँछ र शिक्षकहरु जिम्मेवार बन्न सफल हुन्छन् जसले गर्दा बालबालिकाको सिकाइउपलब्धि बढ्न सहयोग पुग्छ ।

एउटा योग्य प्रधानाध्यापकले शिक्षकको तह र उसको राजनैतिक खेमा नहेरी उसको योग्यता र क्षमताअनुसार व्यवहार गर्न सकेमा शिक्षण प्रभावकारी हुन सक्दछ । सबैको कुरा सुन्ने र शिक्षकहरुको सल्लाह, सुझावका आधारमा अगाडि बढेका विद्यालयहरुले नै प्रगति गरेको देखिएको छ । विद्यालय सुधार्नका लागि विद्यालय व्यवस्थापन समितिको पनि ठूलो हात रहन्छ । विद्यालयको भौतिक व्यवस्थापनदेखि समग्र वातावरण मिलाउने जिम्मा समितिको हातमा हुन्छ । विद्यालय समुदायको हो । तिनै समुदायका बालबालिका नै विद्यालयका विद्यार्थी भएकोले पनि विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहन्छ । सरकार, स्थानीय तह र संघ संस्थासँग समन्वय गर्ने, शिक्षकलाई उपयुक्त वातावरण तयार गरिदिनेदेखि विद्यालयका महत्वपूर्ण निर्णय लिने समिति भएकोले विद्यालयलाई राजनीति गर्ने थलो नबनाएर समाजसेवाको भावनाको विकास गर्नु पर्ने हुन्छ ।

कतिपय विद्यालयहरु निजीस्तरका शिक्षकहरुबाट सञ्चालित छन् । शिक्षक स्थायी होस् वा अस्थायी, राहत होस् वा सट्टा, जुनसुकै तह र वर्गको भएपनि शिक्षक नै हो । यो वा त्यो शिक्षकको नाममा विद्यालय व्यवस्थापन समितिले पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन । सौतेनी व्यवहार गर्नु हुँदैन । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा प्रदान गरिने छात्रवृत्ति अति विपन्न, गरिबका लागि पनि छुट्याउनु पर्ने हुन्छ । खानपानका लागि जोहो गर्न नसक्ने बालबालिकाका लागि विद्यालयमा एउटा समिति बनाई कोष खडा गर्न सकिन्छ । यस कोषमा जम्मा गरिएको रकमबाट आपत्कालिन स्थितिमा गरिबीका कारण विद्यालय छोड्नु पर्ने बालबालिकालाई टिकाई राख्न सकिन्छ । अभिभावकमा विद्यालयप्रति सकारात्मक सन्देश दिन सकेमा विद्यालयले प्रगति गर्न सक्छ । लगानीको हिसावले सरकारले शिक्षामा प्रसस्त लगानी गरेको छ । लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोप्रति धेरैको चिन्ता र चासो बढेको छ ।

नेपाली समाज, यहाँको भू–वनोट र नेपालीको चेतनास्तर नहेरी विदेशी शिक्षा नीतिको सिको गर्ने संस्कारले सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । शिक्षा नीति समय सापेक्ष र वस्तुस्थिति अनुसार परिवर्तन हुन नसक्नु अर्को ठूलो समस्या हो । शिक्षामा स्पष्ट नीति हुनु जरुरी छ । विद्यालयलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिइएको छैन । कामको आधारमा पुरस्कार र दण्डलाई व्यवस्थित गर्न सकेको देखिँदैन । शिक्षकलाई निजामति कर्मचारीभन्दा तल्लो दर्जाको कर्मचारीको रुपमा हेरिनु दुखद् छ । सरुवा र बढुवामा स्पष्टता छैन यी र यस्तै कमि–कमजोरीले शिक्षाले फड्को मार्न सकेको छैन । विद्यार्थी र अभिभावकले शिक्षकलाई दोष दिइरहेका हुन्छन् । शिक्षकले विद्यार्थी, अभिभावक र मन्त्रालयलाई दोष दिइरहेको देखिन्छ । यता मन्त्रालयले मातहतका निकाय, कर्मचारी र शिक्षकहरु इमान्दार नभएको गुनासो गरिरहेको हुन्छ । एकले अर्काको राम्रो पक्ष भन्दा कमि–कमजोरी खोज्न र त्यसैको व्याख्या विश्लेषण गर्नमै समय वर्वाद गरिरहेको देखिन्छ ।

अरुको दोष मात्रै खोज्ने हाम्रो संस्कार बन्दै गएको छ । अरुमाथि औंला उठाउनेले एक चोटी आपूmलाई हेर्ने र कमजोरी लुकाउने भन्दा स्वीकार्ने बानीमा विकास गर्ने हो भने धेरैजसो समस्याहरु आपंैm समाधान हुन्छन् । दोषहरु अरुलाई नथुपारी आफ्नो कर्तव्यलाई ख्याल गर्ने संस्कारको विकास गरेमा सामुदायिक विद्यालयको प्रगति हुन सक्छ । अतः सामुदायिक विद्यालयको सिकाइ उपलब्धि बढाई शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा नीति लगायत सम्पूर्ण सरोकारवाला सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी छ ।
(लेखक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविका प्रधानाध्यापक हुनुहुन्छ ।)