अहिले मनसुन सक्रिय भएर वर्षा भइरहेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले तीन दिनका लागि ४३ जिल्लालाई उच्च जोखिम र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा बुधबार रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना भएकाले बिहीबारदेखि शनिबारसम्म नेपालमा मनसुन सक्रिय हुने महाशाखाको पूर्वानुमान छ । गत शुक्रबार राति र शनिबार दिनभर परेको वर्षाले देशका धेरै भूभागमा प्रभाव पारेकोमा अहिले भइरहेको वर्षाले पनि देशका सबै क्षेत्रमा प्रभाव पारेको छ ।
नेपालमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले यसअघि नै बताइसकेको छ । अहिले भइरहेको वर्षाले विभागको पूर्वानुमानलाई पुष्टि गर्ने सम्भावना देखिएको छ । उसै पनि नेपाल मनसुनजन्य प्रकोप जोखिम क्षेत्र हो । नेपालको भौगोलिक वनावट र धेरै खोला, नदी भएका कारण मनसुनी वर्षाबाट उत्पन्न हुने प्रकोपको उच्च जोखिममा रहेको हो । नेपालको पश्चिमी सीमा कञ्चनपुरमा गत आइतबार र सोमबार ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो । अहिले पनि देशभर पानी परिरहेकाले विभिन्न क्षेत्रमा डुबान, कटान, बाढी, पहिरोले जनजीवन प्रभावित भएको छ । वर्षाका कारण धेरै सडकमार्ग अवरुद्ध भएका छन् ।
नेपालमा मनसुन भित्रिएको पछिल्लो एक महिनाभित्र मनसुनजन्य प्रकोपका कारण ८८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार दिउँसोसम्म विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । अहिले पनि देशव्यापीरुपमा पानी पर्ने क्रम चलिरहेका कारण यसबाट जनधनको क्षति भइ नै रहेको छ । भौगोलिक अवस्थाका कारण नेपाल बाढी, पहिरोको जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले आम नागरिक पनि प्रकोपप्रति सचेत बन्नु आवश्यक छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
वर्षायाममा बाढी पहिरोको चपेटामा परी सयौंको मृत्यु हुने र हजारौं प्रभावित हुने नियति नेपालीका लागि सामान्य बन्दै गएको छ । प्राकृतिक स्रोतको जथाभावी प्रयोग, अवैज्ञानिक विकास निर्माण, अव्यवस्थित बस्ती विकासजस्ता कार्यले बाढी, पहिरो, कटान तथा डुबानका समस्या बढ्दै गएको छ । वर्षायाममा प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न सम्बद्ध सरकारी निकाय तथा आम नागरिक सजग बन्न जरुरी छ । मौसममा परिवर्तनसँगै आउने विभिन्न प्रकोप रोक्न आवश्यक भए पनि मनसुनी वर्षाका कारण हुने प्रकोप न्यूनीकरणमा विशेष प्रयत्न जरुरी छ । अन्य मौसमी प्रकोपभन्दा वर्षाको समयमा बाढी, पहिरो, डुबान र कटान निश्चितप्रायः रहेको र यसबाट हुने क्षति पनि व्यापक भएकाले यसको उचित व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक छ । सरकारले प्रकोपबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न आवश्यक संरचना, पूर्वतयारी, उद्दार तथा राहतको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।