फाइल तस्विर ।

हेटौंडाः बागमती प्रदेशका मुख्मयन्त्रीको काँधमा ५ मन्त्रालयको जिम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिँदै ५ जना मन्त्रीले सामूहिक राजीनामा दिएसँगै मुख्यमन्त्रीको काँधमा थप जिम्मेवारी आइपरेको हो ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको सहमति बनेसँगै गत असार २४ गते एमालेका मन्त्रीहरु प्रदेश सरकारबाट बाहिरिएका हुन् । २०८० चैत १७ मा सरकारमा सहभागी भएको एमाले ४ महिनामा नै सरकारबाट बाहिरिएर संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्रीको राजीनामा गराएको हो ।

केन्द्रमा एमाले–कांग्रेस सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि सोहीअनुसार सरकार गठनका लागि एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, उर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।

उनीहरुको राजीनामापछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मौजुदा मन्त्रिपरिषदको पुनःगठन गरेका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा मन्त्रीविहीन रहेका मन्त्रालयहरु आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय; स्वास्थ्य मन्त्रालय; खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कार्यभार मुख्यमन्त्रीलाई नै तोकेका हुन् ।

प्रदेशका १३ मन्त्रालयमध्ये ८ मन्त्रालयमा मन्त्री रहेका छन् । सरकारमा ८ मन्त्रालयमध्ये माओवादी केन्द्रका ४, एकीकृत समाजवादीको ३ र हाम्रो नेपाली पार्टीको १ मन्त्री कायम रहेका छन् । सरकारमा मुख्यमन्त्री जम्कट्टेलसहित माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कनुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान छन् । एकीकृत समाजवादीबाट कृषि तथा पशुपंछी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, युवा तथा खेलकुद मन्त्री रमा आले मगर र संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य मन्त्री छन् ।